समाचार

भरतपुर अस्पतालबाट सामाजिक सेवा लिने बिरामीको संख्यामा वृद्धि

स्वास्थ्य खबरपत्रिका

चितवन- भरतपुर अस्पतालको सामाजिक सेवा इकाइबाट सेवा लिने बिरामीको संख्यामा वृद्धि भएको छ। यहाँबाट हालसम्म ३ हजार १ सय २७ जनाले सेवा लिएका छन्।

भरतपुर अस्पतालमा सामाजिक सेवा सञ्चालन भएको ५ वर्ष भएको छ। सामाजिक सेवा लिने बिरामीहरुको संख्या बर्सेनि बढ्दो क्रममा रहेको इकाइ प्रमुख एवं सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। 

गत आर्थिक वर्ष ०७३/७४ मा सामाजिक इकाइबाट सेवा लिनेको संख्या ७ हजार ७७ जना रहेको थियो। चालू आर्थिक वर्षको४ महिना पनि पुरा नहुँदै ३ हजार १ सय २७ जनाले सेवा लिइसकेका छन्। 

भरतपुर अस्पतालले उनीहरुलाई करिब ३३ लाख ४२ हजार रुपैयाँ बराबरको औषधि वितरण गरेको पौडेलको भनाइ छ। अति गरिब बिरामी २ हजार ३२ जना, असहाय २५ र ज्येष्ठ नागरिक १ हजार २८ लगायत अन्य लक्षित समूहका बिरामीहरुले सेवा लिएका छन्। 

यस आर्थिक वर्षमा करिब ११ हजार बिरामीले सेवा लिने विश्वास लिइएको पौडेलले बताए। 

यहाँबाट ११ किसिमका लक्षित बिरामीहरुले सेवा लिँदै आएका छन्। 

हाल ३५ देखि ४० जना बिरामीले दैनिक रुपमा सामाजिक सेवा इकाइबाट सेवा लिने गरेको प्रमुख पौडेल बताउँछन्। 

यस्तै ज्येष्ठ नागरिकहरुलाई भरतपुर अस्पतालको टिकटमा नि:शुल्क गरेको छ भने अन्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था दिएको छ। 


 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live