समाचार

पाल्पाको विकट गाउँ भन्टारमा आँखा शिविर, २०९ जनाको परीक्षण

None

रामपुर, पाल्पा- आँखाको समस्याले लामो समयदेखि बिरामी परेका ८१ वर्षीय चूडामणि खनाल गाउँमै आँखा परीक्षण गर्न पाउँदा निकै खुसी छन्। खनाल शारीरिक रुपमा अशक्त भएकाले आँखाको उपचार टाढाको अस्पताल जान सकेका थिएनन्।

सामुदायिक रेडियो रामपुर पाल्पाले वार्षिकोत्सवका अवसरमा दुर्गम र विकट मानिने तनहुँको घिरिङ गाउँपालिका–१ को भण्टारमा निःशुल्क आँखा शिविर चलाएपछि खनाल जस्ता आँखाका रोगीले राहत महसुस गरेका छन्।

शिविरमा सेवा लिन आएकी ७४ वर्षीया लीलाकुमारी श्रेष्ठ पनि आँखा परीक्षण गरेर निःशुल्क औषधि उपचार पाएपछि खुसी छिन्। सोही ठाउँकै ६५ वर्षीय अन्तनारायण श्रेष्ठ यस गाउँमा पहिलो पटक आँखा शिविरमार्फत आँखा परीक्षण तथा औाषधि उपचार पाउँदा ठूलो राहत मिलेको बताउँछन्।

'आँखा उपचारका लागि यहाँबाट आउनजान तीन-तीन घन्टाको पैदल हिँडेर रामपुर पुग्न समय लाग्छ, बूढेसकाल लागेपछि हिँड्न नसक्दा घरमै रोग पालेर बस्नुपर्ने बाध्यता छ,' उनले भने।

कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरको प्राविधि सहयोग, नमुना बाल क्लब र भण्टार एकता समाजको व्यवस्थापनमा चलेको शिविरमा पाल्पा, स्याङ्जा र तनहुँका स्थानीयवासीले सेवा लिएका छन्। गाउँघरमै आँखा परीक्षण, औषधि उपचार सेवा पाउँदा यस क्षेत्रका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ। 

शिविरमा २०९ जनाको आँखा परीक्षण गरिएका मध्ये ९ जनामा मोतियाविन्दु र एक जनामा मासु पलाएको बिरामी फेला परेको प्राविधिक सुन्दर रानाले बताए। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ५० प्रतिशत छुटमा कालीगण्डकी आँखा अस्पतालमा रिफर गरिएको छ।रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने