विचार/ब्लग

एन्टिबायोटिक लिनुअघि किन चाहिन्छ विशेषज्ञको सल्लाह?

भावना खकुरेल, डक्टर अफ फार्मेसी

ब्याक्टेरिया विरुद्धको लडाइँ चिकित्सा जगतका लागि पेचिलो बन्दै गएको छ। एन्टिबायोटिक्सको खोजपछि ब्याक्टेरियाविरुद्ध मानवले महत्वपूर्ण हतियार फेला पारेको थियो। तर, मानवीय त्रुटि वा हेलचक्र्याइँकै कारण यो हतियार (एन्टिबायोटिक्स) को धार ब्याक्टेरियाविरुद्ध भुत्ते हुँदै गएको छ। 

त्यसैले यस वर्ष विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक्स सम्बन्धी जनचेतना जगाउन नयाँ विषय प्रस्तुत गरेको छ। एन्टिबायोटिक्स लिनुअघि ‘दक्ष स्वास्थ्य पेसाकर्मीको सल्लाह जरुरी हुन्छ’ भन्ने कुरालाई स्थापित गर्न खोजिएको छ। यस वर्षको थिम छ, ‘सिक एड्भाइस फ्रम अ क्वालिफाइड हेल्थकेयर प्रोफेसनेल बिफोर टेकिङ एन्टिबायोटिक्स’।

एन्टिबायोटिक रेसिस्टेन्स विश्वलाई नै चुनौतीपूर्ण विषय बन्दै गइरहेको छ। त्यसैले यसको उचित प्रयोगका लागि जनचेतना जगाउन जरुरी छ। हरेक व्यक्ति, स्वास्थ्यकर्मी तथा कृषक र सकारले एन्टिबायोटिक्स रेसिस्टेन्सविरुद्ध कसरी लड्ने भन्ने जान्न जरुरी छ। 

त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ। विशेषगरी स्वास्थ्य पेसाकर्मीहरुले यस विषयलाई यतिबेला गम्भीर रुपमा लिन सकेनौं भने उपचारको प्रभावकारितामै ह्रास आउने पक्का छ र केही हदसम्म आइरहेको छ।

विकासोन्मुख देशमा एन्टिबायोटिक्स रेसिस्टेन्स अझ बढी चुनौतीपूर्ण रहेको विश्व स्वास्थ्य संगठनको विभिन्न अनुसन्धानले दर्शाएका छन्। खासगरी यसको जथाभावी प्रयोग र पूरा डोज नलिनुले रेसिस्टेन्स बढाइरहेको छ। यसैगरी कुनै बिरामीलाई एन्टिबायोटिक चलाउनुअघि त्यसको सेन्सेटिभिटी जाँच गर्नुपर्छ। तर अधिकांशले यस्तो जाँच नगरी एन्टिबायोटिक लिने गरेका छन्। यसले पनि एन्टिबायोटिक रेसिस्टेन्स बढ्दै गइरहेको छ।

औषधि पसलहरुले जथाभावी एन्टिबायोटिक्स बिक्री वितरण गर्ने प्रवृत्ति उच्च छ। यसैगरी बिरामीले उचित परामर्श नपाएर वा हेलचक्र्याइँ गरेर बीचमै औषधि (एन्टिबायोटिक्स) छाडिदिने गरेका छन्। धेरैले ‘निको भइगो अब थप औषधि किन खाने?’ भनेर डाक्टर वा स्वास्थ्यकर्मीले भनेको समयभन्दा अघि नै छाड्ने गरेका प्रशस्त उदाहरण भेटिन्छन्।

तर, चिकित्सकले एन्टिबायोटिक्स दिनुअघि एउटा हिसाब गरेका हुन्छन्, कति दिन औषधि खाएपछि ब्याक्टेरिया मर्छन्? भन्ने। जस्तो, एउटा एन्टिबायोटिक पाँच दिन खानु भनेर डाक्टरले लेखिदिएका छन् भने बिराम तीन दिनमा ठिक भएको महसुस हुन सक्छ। त्यसपछि दुई दिन थप औषधि खान झन्झट लाग्छ वा साइड इफेक्ट किन थप्नु भनेर अति जान्नेसुन्ने हुन मन लाग्छ र बिरामीले एन्टिबायोटिक खान छोडिदिन्छ।

पाँच दिनका लागि भनेर दिइएको औषधि तीन दिनमै छाड्दा केही ब्याक्टेरिया बाँकी रहन्छन्। जसले यसअघि आफूविरुद्ध प्रयोग भएको औषधि कति बलियो छ भन्ने थाहा पाइसकेका हुन्छन्। ब्याक्टेरिया यति चलाख हुन्छन् कि आफूलाई मार्न फेरि सोही औषधि आफूविरुद्ध प्रयोग हुँदा कसरी जोगिने भनेर तयार हुन्छन्। फेरि ब्याक्टेरियाले संक्रमण गराउँदा पहिलेकै औषधि (एन्टिबायोटिक) ले काम गरेन भने त्यसलाई एन्टिबायोटिक्स रेसिस्टेन्ट भनिन्छ। 

ब्याक्टेरियामा अर्को क्षमता पनि हुन्छ। त्यो हो, अन्य ब्याक्टेरियालाई पनि यसअघि आफूमाथि प्रयोग भएको औषधिविरुद्ध आफूले सिकेको कुरा सिकाउने र आफ्ना शाखासन्तानलाई पनि आफूजस्तै बलियो बनाएर जन्माउने। यसरी एकपटक एन्टिबायोटिक खेपेको ब्याक्टेरियाले दोस्रोपल्ट बिरामीले सोही एन्टिबायोटिक प्रयोग गर्यो भने सुरुमै रोकिदिन्छ। 

त्यसपछि बिरामीलाई लाग्छ, ‘औषधि त खाएकै छु नि, किन निको भइनँ।’ 

जथाभावी एन्टिबायोटिक्सको प्रयोगका कारण ब्याक्टेरिया बलिया हुँदै गएका छन्। यसले गर्दा औषधि प्रभावकारी नभई धेरैको जीवन जोखिममा परिरहेको छ। यसलाई सर्वसाधारणले बेलैमा बुझेनन् र स्वास्थ्य पेसाकर्मीले गम्भीर रुपमा लिएनन् भने खतरा बढ्दै जाने हुन्छ। त्यसैले एन्टिबायोटिकको प्रयोग गर्नुअघि सचेत हुन जरुरी छ। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live