मुख्य समाचार

मातृ मृत्युदर घटाउन लगानी ठूलो, प्रतिफल न्यून

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– नेपालमा पछिल्लो ७ वर्षको अवधिमा मातृ मृत्युदरमा सामान्य सुधार मात्र भएको छ। मातृ स्वास्थ्य क्षेत्रमा करोडौं खर्च भए पनि मृत्युदर घटाउन भने आशातीत प्रगति हुन नसकेको एउटा सर्भेक्षणले देखाएको हो।

स्वास्थ्य मन्त्रालयका लागि 'न्यु एरा'ले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले ७ वर्षभित्रको समयमा नेपालमा प्रति १ लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको देखाएको छ। सर्भेक्षणको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो।

यसअघि नेपालमा मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा २ सय ५८ थियो। ७ वर्षमा देखिएको प्रगति निकै सुस्त भएको विज्ञहरुले बताएका छन्।

मातृ मृत्युदरले गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको ४२ दिनभित्र मृत्यु भएका महिलालाई जनाउँछ। तर, यसमा कुनै दुर्घटना वा हिंसाका कारण उक्त अवधिमा मृत्यु भएका महिलाहरु भने समावेश हुँदैनन्। यस्तो मृत्युलाई गर्भावस्थासँग सम्बन्धित मृत्युमा राख्ने गरिन्छ।

गर्भावस्थासँग सम्बन्धित मृत्यु पनि सामान्य मात्रामा घटेको छ। सर्भेक्षण अनुसार गर्भावस्थासँग सम्बन्धित मृत्यु प्रति १ लाख जीवित जन्ममा अहिले २ सय ५९ छ। सन् २००६ को सर्भेक्षणमा यस्तो मृत्यु २ सय ८१ थियो। सन् १९९६ को सर्भेक्षणमा यो संख्या ५ सय ४३ थियो। 

सर्भेक्षणले गर्भवती सेवा लिने महिलाहरुको संख्या भने बढ्दै गएको देखाएको छ। सन् २००१ मा गर्भवती भएका १० जना महिला मध्ये ३ जनाले मात्रै दक्ष प्रसूतिकर्मीबाट सेवा लिने गरेकोमा २०१६ मा धेरै महिलाले सेवा लिएका छन्। सन् १९९६ मा ८ प्रतिशत बच्चा मात्रै स्वास्थ्य संस्थामा जन्मने गरेकोमा २०१६ सम्ममा ५७ प्रतिशत बाच्चाहरु स्वास्थ्य संस्थामा जन्मिएको तत्थ्याङ्कले देखाएको छ। 

नेपालमा अझै पनि १० जना बच्चामध्ये ४ जना बच्चा घरमै जन्मने गरेको पाइएको तथ्याङ्कले देखाएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा भएको यो सर्भेक्षणमा १५ देखि ४९ वर्षका १२ हजार ८ सय ६२ जना महिला र ४ हजार ६३ पुरुषसँग अन्तर्वार्ता लिइएको थियो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live