विचार/ब्लग

छोराछोरीलाई डाक्टर पढाउने हो भने...

डा भारती शर्मा रेग्मी

आजभोलि पत्रपत्रिका पढ्न खासै रुचि लाग्दैन। ताजा खबर हेर्न बस्नेबित्तिकै मनलाई उत्साहित बनाउनेभन्दा हरेक क्षेत्रमा भाँडिएका र बिग्रिएका खबर पढ्नुपर्दा दिक्क लाग्छ। त्यसरी भित्रभित्रै अमिलिएर बस्नुभन्दा बरु कलमको सहारा लिन्छु र केही लेख्ने गर्छु। 

आज म देशको राजनीतिक उथलपुथलभन्दा पनि मैले डाक्टरी डिग्री आर्जन गरेको जन्मघरजत्तिकै प्यारो चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को एमबिबिएस प्रवेश परीक्षासँग जोडिएर पछिल्लो समय आइरहेका  खबरले विचलित छु। 

स्थापना कालदेखि नै भरोसा बोकेको पवित्र स्थान हो, आइओएम। देशको त्यही पवित्र र जिम्मेवार मेडिकल शिक्षालयमा बिचौलियाले प्रश्नपत्र नै आउट गराउने अत्याधुनिक डिभाइसको प्रयोग गराई चिट चोराउने कालो धन्दा भित्र्याएर हिलो छ्याप्दै छन्। यो घटनाले देशका स्वास्थ्य संस्थाहरु धान्नुपर्ने भविष्यका डाक्टरहरु चिट चोरेकै भरमा डाक्टर बन्ने हैसियतको खोजीमा तड्पिएको देखायो। उनीहरुको त्यही मर्म बुझेर चिट चोराउने पेशेवर गिरोहहरु मौलाउँदै गएर चोरीमा अत्याधुनिक डिभाइसकै प्रयोग हुन थाल्दा सरस्वतीको यो पवित्र ठाउँ दूषित बनेको छ। यसले वर्षौंदेखि घुँडा धसेर मिहिनेत गर्ने र आफ्नै बुताले डाक्टर बन्ने आकांक्षा भएका विधार्थी भाइबहिनीहरुलाई नराम्रो असर पारेको छ।

चिट चोरीको प्रकरण हेर्दा मैले यहाँ पहिलो जिम्मेवार पक्ष अभिभावकहरु नै देखेको छु। उहाँहरुलाई मेरो अनुरोध के छ भने, आफ्ना छोराछोरीको सानैदेखिको लगाव के कुरामा छ, पढ्ने विषय र रुचिको कुरामा तालमेल छ कि छैन, कतिसम्म मिहिनेत गर्न सक्छ, करिअरका लागि कुन क्षेत्रमा आबद्घ हुन चाहन्छ जस्ता कुरा मनन गर्नु ज्यादै महत्वपूर्ण छ। त्यसपछि मानौं छोरा वा छोरीले मेडिकल डाक्टर बन्ने तीव्र इच्छा देखाए भने त्यो फिल्डको बारेमा सम्बन्धित निकाय, व्यक्तिहरुसँग विस्तृत रुपमा बुझ्नुपर्छ। यसका साथै आफ्ना छोराछोरीले लामो समयसम्म अथक प्रयास गर्न सक्छन् कि सक्दैनन् भन्ने सोचेर मात्रै अन्तिम निर्णय लिन सल्लाह दिनुस्। 

सन्तानले यी सबै कुरा आफैं बुझेर डाक्टर बन्छु भन्ने निर्णय लिएमा उसलाई पढ्ने वातावरण सिर्जना गराइदिनुस्। हामीकहाँ सामान्यतया छिमेकी घरका वा फलानोको छोरा वा छोरीले डाक्टर पढ्ने भयो/भई रे, तिमी पनि डाक्टर नै हुनुपर्छ भनेर पैसाको आडमा आफ्नो सामाजिक प्रतिष्ठाका लागि जबर्जस्ती थोपर्ने गरिन्छ। त्यसो नगर्नुस्।

छोरा वा छोरीलाई डाक्टर पढाउन प्रवेश परीक्षामा नाम निकालिदिन्छौं भन्ने मेडिकल शिक्षाका दलाल खोज्दै भौंतारिने अभिभावक आजका दिनमा कम नहोलान्। तिनै दलालको कारोबारले गर्दा विद्यार्थीले प्रवेश परीक्षादेखि नै चिट चोरी–चोरी डाक्टर बन्ने सपना देख्न थालेका छन्। नत्र भन्नुस् त, पाँच लाख पर्ने चिट चोर्ने डिभाइस१८/१९ वर्षको विद्यार्थीले किन्न सक्छ?

ल मानौं, यस्तै केही गरेर एमबिबिएस प्रवेश परीक्षामा कोही विद्यार्थी पास होलान्। तर, त्यसपछि पढाइको वर्षौंवर्षको परिश्रम र फलामे च्यूरा फेरि बाबुआमाले चपाइदिने कि फेरि चिट चोराउने गिरोह खोज्ने? छोराछोरीलाई बिनातयारी समुद्रमा खसालेर सकुशल दक्ष डाक्टर उत्पादन होला कि यात्राकै क्रममा विचलित भएर आत्महत्यासम्मको परिणाम निम्त्याउला? कल्पना गर्दा मात्र पनि मन पोल्छ। 

मेडिकल क्षेत्रको उच्च तहसम्मको पढाइमा अथक परिश्रम र धैर्यको सीमा नै हुँदैन। लामो समय र निरन्तर कडा परिश्रम अपरिहार्य हुन्छ। म हिजोको विद्यार्थी आज दिनहुँजसो आफ्नो विद्यार्थीसँग हुँदाको अनुभवले यही बताउँछ। त्यसैले अभिभावकले छोराछोरीकै आफ्नो इच्छा र मिहिनेतले डाक्टर बन्न प्रोत्साहन गरिदिनुस्। घोडा चढ्ने मान्छे लड्छ, एकपटक नाम ननिस्किए अर्को पटक अन्य विश्वविद्यालयहरुमा कोसिस गराउनुस्। मिहिनेत गर्दा पनि पार नलागे अर्को क्षेत्रमा अघि बढ्न सल्लाह र हौसला दिनुस्। 

अभिभावकपछि विद्यार्थी आफैं पनि जिम्मेवार बन्नुपर्छ। आफ्नो उज्ज्वल भविष्य बनाउने क्रममा गलत तरिका अपनाउन अभिभावकलाई बाध्य पार्नुभन्दा उनीहरुले आफ्नो मिहिनेत र इमानदारीसाथ जुट्नुपर्छ। त्यसो भएमा साँच्चिकै जेहेन्दार विद्यार्थीको दक्ष र कर्मठा डाक्टर हुने इच्छा पूरा हुने थियो। यसका साथै प्रश्नपत्र आउट गर्ने चुम्बकीय डिभाइसको व्यापारमा लाग्ने तेस्रो पक्ष पनि आफैं किनारा लाग्ने थिए।

त्यो अवस्थामा अभिभावक र चिट चोरीको गिरोहबीच साइनो गाँसिँदैनथ्यो र आज छोरा/छोरी जेलमा अनि बाबुआमाले मुन्टो लुकाएर हिँड्नुपर्ने दिन पनि आउँदैनथ्यो। समाजले हाम्रो चिकित्सा पेशाप्रति फेरि सम्मान गर्ने दिन आउँथ्यो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live