डक्टर्स आर्टिकल

मधुमेह दिवस– जोखिममा महिला

डा तीर्थलाल उपाध्याय

मधुमेह रोगीको संख्या बढ्दो छ। यस्तै अवस्था रहे यसले विकराल रुप लिने तथ्य सार्वजनिक भइसकेको छ। बुढ्यौलीपन, मानसिक तनाब, खानपिनमा लापरवाही आदि मधुमेह बढ्ने मुख्य कारक तत्व हुन्। सन् २०१४ मा विश्वभरि मधुमेहका बिरामीको संख्या ३८ करोड २० लाख हाराहारीमा थियो। सन् २०३० मा यो संख्या बढेर ५९ करोड पुग्ने अनुमान गरिएको छ। 

यसरी  विकराल रुप  लिन थालेपछि विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले सन् १९९१ मा मधुमेहबारे जनचेतना जगाउन आवश्यक ठानी ‘मधुमेह दिवस’ मनाउने सोच अघि सारेका थिए।

सन् २००६ मा संयुक्त राष्ट्र संघमा प्रस्ताव पारित भएपछि हरेक वर्ष नाभेम्बर १४ मा मधुमेह दिवस मनाउन थालियो। नोभेम्बेर १४ मा इन्सुलिन आविस्कारक क्यानाडाली वैज्ञानिक फ्रेडरिक बन्टिङको जन्म दिन पर्ने भएकाले सोही दिनलाई मधुमेह दिवस मनाउने तए भयो।

यस वर्ष ‘मधुमेह र नारी–स्वास्थ्य, भविष्यका लागि हाम्रो अधिकार’ भन्ने नाराका साथ विश्वभरि मधुमेह दिवस मनाइँदै छ। नाराको उद्देश्य जोखिममा रहेका महिलासम्म सहज र सहुलियत दरमा मधुमेह उपचारको पहुँच पुर्‍याउनु  हो। आफैँ ज्ञान आर्जन गर्नु, शिक्षा लिनु र कसरी मधुमेहबाट टाढा रहन सकिन्छ भन्ने जानकारी प्राप्त गर्नु पनि मधुमेह दिवस मनाउनुको उद्देश्य हो। 

किन यस्तो नारा राख्नुपर्यो?

  • विश्वमा अहिले १९ करोड ९० लाख महिला मधुमेहबाट ग्रसित छन्। यो सन् २०४० मा बढेर ३१ करोड ३ लाख पुग्ने अनुमान गरिएको छ।
  • प्रत्येक ५ महिलामध्ये २ जना मधुमेही महिला बच्चा पाउने उमेरका छन्, जुन संसारभरि गर्दा ६ करोडको हाराहारी हुन आउँछ। 
  • मधुमेह महिलाको ज्यान लिने रोगमध्ये ९औं स्थानमा पर्छ। यसले प्रतिवर्ष २१ लाख महिलाको ज्यान लिन्छ।
  • मधुमेही महिलालाई मधुमेह नभएकालाई भन्दा १० गुणा बढी मुटु सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ।
  • पहिलो प्रकारको मधुमेहीमा बच्चा खेर जाने र अंगभंग भएका शिशु जन्मने सम्भावना बढेर जान्छ।
  • ७ वटा बच्चामा एउटा बच्चालाई गर्भावस्थाको मधुमेहले असर गरेको छ।
  • विश्व मधुमेह संगठनका अनुसार सन् २०१५ मा २१ लाख महिलामा मधुमेहको संकेत देखिएको थियो र यो ५ देखि १० वर्षमा दोस्रो प्रकारको मधुमेहमा परिणत हुने आँकलन गरिएको छ।
  • आधाभन्दा बढी गर्भावस्थामा हुने मधुमेह ३० वर्षभन्दा कम उमेरका महिलालाई हुने गरेको छ। 
  • धेरैजसो गर्भावस्थाको मधुमेह निम्न आय भएका देशका नागरिकमा पाइएको छ। 
  • महिला र युवती नै भविष्यका स्वस्थ सन्ततीका आमा हुने भएकाले। 
  • ७० प्रतिशत दोस्रो प्रकारको मधुमेह स्वस्थ जीवनशैलीले रोकथाम गर्न सकिन्छ।
  • ७० प्रतिशत जति बच्चाबच्चीको मृत्युले आमाको युवा अवस्थाको स्वास्थ्यसँग सरोकार राख्ने गर्छ।

के गर्दा उपयुक्त हुन्छ?

  • स्वास्थ्य सम्बन्धी सरोकार राख्ने संघसंस्था, सरकारी निकाय आदिले महिलाको प्राथमिकता र आवश्यकता निदान गर्न सक्नुपर्छ।
  • हरेक मधुमेही महिला उपचार र प्रविधिको पहुँचमा पुग्न सक्नु पर्छ। साथै, स्वज्ञान आर्जन गर्ने शिक्षित हुनु जरुरी छ।
  • मधुमेही महिलाले गर्भवती हुनुपूर्व के गर्ने, कसरी अगाडि बढ्ने योजना बनाउनुपर्छ। 
  • मधुमेही महिलाले शारिरीक तन्दुरुस्ती सम्बन्धी जानकारी, ज्ञान, क्षमता राख्न सक्नु पर्छ।
  • गर्भवती महिलाले आमा र बच्चा दुवै स्वस्थ रहन उपयुक्त जाँच पड्ताल, उचित शिक्षा, सबैमा माया प्रेमको भावना राख्नुपर्छ।
  • धनसम्पत्ती, आयस्रोेत र साधनमा आमाको पहुँच पु¥याउने हो भने बच्चाको स्वास्थ्य, खानपिन र शिक्षामा ठूलो प्रभाव पार्न सक्छिन्।
  • महिला र युवतीलाई दोस्रो प्रकारको मधुमेह रोकथामका लागि सक्षम र सवल बनाउनुपर्छ, जसले गर्दा भविष्यमा आफ्ना सन्ततीलाई स्वस्थ राख्न सकुन्। 
  • अल्पविकसित र कमविकसित देशका कम उमेरका युवतीलाई शारिरीक व्यायाममा ध्यान पुर्‍याउन अत्यन्त आवश्यक छ।

मधुमेहका रुप

मधुमेहलाई पहिलो, दोस्रो, गर्भावस्था र अन्य गरी चार प्रकारमा विभाजन गर्न सकिन्छ। पहिलो  प्रकारको इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या हो। दोस्रो प्रकारकोमा इन्सुलिनको कमीका साथै त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने अवस्था हुन्छ। यी दुवै कारणले मधुमेहको समस्या भइरहेको हुन्छ। अहिले धेरै देखिने गरेको मधुमेह दोस्रो प्रकारको हो। यो जीवनशैलीका कारण हुने गर्छ।

नेपालमा मधुमेहको जोखिम?

दक्षिण एसियामा नै मधुमेहलाई साझा समस्याका रुपमा हेर्न थालिएको छ। किनभने यो क्षेत्रका मानिसको शारीरिक संरचना र अन्य कारणले मधुमेहको समस्या दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ। बेलायतमा केही समयअघि गरिएको एक अध्ययनले स्थानीय नागरिकभन्दा दक्षिण एसियाली मूलका मानिसमा मधुमेह लाग्ने सम्भावना ६ गुणा बढी भएको देखाएको थियो। अचम्म त के छ भने, नेपाली मूलका व्यक्तिहरूलाई अन्यत्र बसाइँ सर्दा पनि अरुको तुलनामा छिटो मधुमेह देखापर्ने गरेको छ।

दक्षिण एसियाली खानामा कार्बोहाइड्रेटको प्रयोग बढी हुने गर्छ। मानिसको जीवनशैली पनि पहिलेको तुलनामा विलासी हुँदै गएको छ। अत्यधिक सुविधाका कारण मानिसले शारिरीक परिश्रम पनि कम गरिरहेका छन्। यसले मोटोपनको समस्या निम्त्याएको छ। फलस्वरुप अन्यत्रको तुलनामा नेपाल, भारत लगायतका दक्षिण एसियाली मुलुकमा नै मधुमेहको जोखिम बढिरहेको हो। अन्यत्र ५०–६० वर्षको उमेरपछि मात्रै मधुमेह देखिने गर्छ भने नेपालमा ४०–४५ वर्षको उमेरमा नै यसको समस्या देखापरिरहेको छ। अर्कोतर्फ मधुमेहका कारण हुने अन्य रोगहरूको समस्या पनि जटिल बन्दै गइरहेको छ। 

औसतमा हेर्दा उचाइ कम तर मोटाउने क्रम ज्यादा भएकाले नेपालीहरू मधुमेहका दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा छन्। अध्ययन सकेर मानिसले नियमित रुपमा आफ्नो जागिर सुरु गर्नासाथ पेट पुक्क हुन सुरु भइहाल्छ। त्यही चरणबाट नै मधुमेहको जोखिम सुरु हुने गर्छ। मधुमेहका विभिन्न जटिलता हुन्छन्। 

मधुमेहको समस्या देखिएमा १०–१५ वर्षसम्म पनि देखिने असरको अध्ययन गरिन्छ। मुख्य रुपमा मधुमेह भइसकेपछि आँखा, मुटु, खुट्टा, नशा र मिर्गाैलामा आघात पर्न सक्छ। मधुमेह नियन्त्रणमा आउन सकेन भने दीर्घकालीन रुपमा त्यसले यी अंगलाई निकै असर गर्नसक्ने भएकाले यसबारे सचेतता अपनाउन जरुरी छ।

मधुमेहको रोकथाम र सावधानी 

दोस्रो प्रकारको मधुमेह भएकाले उचाइ अनुसारको तौलमा ध्यान दिनुपर्छ। खानेकुरामा सलाद ज्यादा खाने, सागपात खाने, खानापछि हिँड्ने गर्नुपर्छ। मधुमेह हुनासाथ जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ। शारीरिक परिश्रम बढाउनुपर्छ आराम घटाउनुपर्छ।

नेपालमा स्वास्थ्य बीमाको नीति कमजोर भएका कारण पनि मधुमेहले आक्रमण गरेपछि मात्रै यसको पहिचान हुन्छ। अन्यथा स्वास्थ्य बीमा भएको भए नियमित स्वास्थ्य परीक्षणका क्रममा यस्ता कुरा समयमै थाहा पाउने अवस्था आउँथ्यो। 

जोखिम नै नभएको र आफू स्वस्थ छु भन्ठान्नेले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। विद्यालय तहमा पनि यसबारे सचेतनाका विषयवस्तु राखिनुपर्छ र स्वास्थ्य चौकीसम्म पनि यस्ता विषयमा सचेतना फैलाउन आवश्यक छ। नेपालमा छिटो र सस्तो हुने भएकाले जंकफुड बढिरहेको छ, यसलाई रोक्नुपर्छ। चुरोट नखानेको दाँजोमा चुरोट खानेलाई मधुमेहको जोखिम ज्यादा हुन्छ। मधुमेह भइसकेकालाई आर्थिक भार पनि निकै छ। यस्ता बिरामीलाई सरकारले पनि सहुलियतमा औषधि दिने लगायतका काम गर्नुपर्छ।

मधुमेह भइसकेपछिका समस्या अनेक छन्। मधुमेहका कारण हुने अरु शारीरिक समस्याले उपचार खर्च महँगो बनाइदिन्छ। मधुमेहको संक्रमण भइसकेपछि मानिसको कार्यक्षमतामा पनि ह्रास आउने खतरा रहन्छ। त्यसैले मधुमेह हुनुभन्दा पहिले हुनै नदिनु बुद्धिमानी हो। हामी सबै आजैदेखि मधुमेहबाट टाढा हुने बाचा गरौं।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live