समाचार

आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर

जुम्ला- कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ। 

स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो। 

आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा इन्द्रमान महर्जनको नेतृत्वको छजनाको टोलीले शल्यक्रियामा सहयोग पु¥याएको आँखा उपचार केन्द्र जुम्लाका केन्द्र प्रमुख कालीबहादुर रावतले जानकारी दिए। 

उनका अनुसार शिविर सञ्चालनका क्रममा ७९७ जनाले आँखाको उपचार सेवा लिएका छन् । शिविरबाट संसार देखाउने आँखाको उपचार सजिलै जुम्लामै लिन पाउँदा आफू निकै खुशी भएको तिला गाउँपालिका–७ का प्याउरी रोकायाले बताए। 

यता पातारासी गाउँपालिका–७ का अमरसिंह सुनारले हामी ज्येष्ठ नागरिकका लागि यो शिविर भगवान् नै सावित भएको जनाए। तिलागुफा नगरपालिका–१ फोइमहादेवगाउँ कालीकोटका सिंहबहादुर महताराले शिविर आफ्ना निम्ति वरदान भएको प्रतिक्रिया दिए। 

हिमालय आँखा अस्पताल पोखराका मेडिकल निर्देशक डा महर्जनले दुर्गम कर्णालीका नागरिकलाई आँखा उपचारमा सेवा पु¥याउने ध्येयले वर्षैपिच्छे एकपटक भएपनि शिविर सञ्चालन गर्दै आएको बताए। 

नेत्र ज्योति संघ, जुम्लाका सभापति धनबहादुर बस्नेतले शिविरबाट ज्येष्ठ नागरिक बढी लाभान्वित भएको जनाए। त्यसका साथै आँखाका ३३० रोगीलाई चस्मा वितरण गरेको उनले बताए। 

शिविरमा शल्यक्रिया गरेका ६० जनालाई लायन्स क्लब, पोखराले लत्ताकपडा र २१ बिरामीलाई साईराम समूह जुम्लाले कम्बल वितरण गरेको आइवर्कर सुपरभाइजर दलबहादुर महताराले जनाए। शिविरबाट मुगु, कालीकोट, डोल्पा र जाजरकोटका नागरिकले सेवा लिएको आँखा उपचार केन्द्र जुम्लाले जनाएको छ। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live