टिप्स/जानकारी

खानपानमा लापरबाहीले बढ्दैछ मधुमेह

हरि ढकाल

सामान्य अर्थमा, रगतमा चिनीको मात्रा सामान्यभन्दा अधिक हुनुलाई चिनीरोग या मधुमेह भनिन्छ। मधुमेह भएका व्यक्तिहरुमा सामान्यतया बढी तिर्खा लाग्ने, छिनछिनमा पिसाब लागिरहने, अत्यन्त थकान महसुस हुने र क्रमश: शरीरको वजन घट्दै जाने हुन्छ। 

वयस्क उमेरमा हुने अधिकांश मधुमेह दुई खालको हुन्छ। बालबालिकामा पनि यो अत्यधिक देखिन्छ। परिवारभित्र बुबा, आमा, दाजुभाइ, दिदीबहिनीमा मधुमेह छ भने अन्य सदस्यलाई मधुमेह हुने सम्भावना ज्यादा हुन्छ। असाध्यै मोटाउनु, गर्भवती अवस्थामा सुगरको मात्रा धेरै हुने र मानसिक तनाव लिने व्यक्ति मधुमेहको जोखिममा पर्छन्।

विश्वका करिब २१ लाख महिलाको बर्सेनि मधुमेहका कारण मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ। महिलाको मृत्युको कारणमध्ये मधुमेह नवौं स्थानमा पर्छ। 

विगतका वर्षझैँ यस वर्ष पनि १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइँदैछ।

यस वर्षको मधुमेह दिवस महिलामा केन्द्रित छ। मधुमेहबाट बच्न वा यसबाट हुने जोखिम न्यूनीकरण गर्न सम्पूर्ण महिलालाई उत्तिकै अधिकार, आवश्यक औषधि तथा उपकरणको व्यवस्थापन, बच्ने उपाय र शिक्षा प्रदान गर्नु यो दिवसको उद्देश्य हो। पौष्टिक आहारको अभाव, निस्क्रिय जीवन, धूमपान तथा मध्यपानलाई महिलामा हुने मधुमेहका प्रमुख कारण मानिएको छ। यसका साथै, रिफाइन गरिएका खाद्य पदार्थ, गुलियो, जंकफुड, कोल्ड ड्रिंक्स आदिको प्रयोगले पनि मधुमेह हुने सम्भावनालाई बढाउँछ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अत्यधिक मोटोपन र निस्क्रिय जीवनशैली मधुमेहको प्रमुख कारण हो। नेपालमा मधुमेह सम्बन्धी आधिकारिक तथ्यांक नभए पनि सन् २०१६ मा जारी गरिएको डायबेटिक प्रोफाइलका अनुसार ९ दशमलब १ प्रतिशत नेपालीमा मधुमेह देखिएको छ।

मधुमेह लागिसकेपछि, यदि शरीरमा सुगरको मात्रा नियन्त्रण गर्न नसकिएको खण्डमा आँखाको ज्योति गुम्ने, हृदयाघात हुने, स्ट्रोक हुने, मिर्गौला खराब हुँदै जाने, खुट्टाहरुमा घाउ भई निको नहुने र खुट्टा नै गुम्न सक्ने अवस्था आउने, महिलाहरुमा बाँझोपन देखिने आदि गम्भीर प्रकृतिका समस्याहरु देखिने हुन्छ। यसबाट जीवनको नै क्षति हुने भएकोले रगतमा चिनी (ग्लुकोज) को मात्रा सामान्य वा सामान्य मात्राको नजिकसम्म ल्याउन सकियो भने अधिकतम क्षतिलाई न्यूनीकरण गर्न केही उपायहरु पनि छन्।

मधुमेह भएका सबै व्यक्तिको उपचारमा औषधिका साथै जीवनशैली, खाना र वजन नियन्त्रण तथा नियमित शारीरिक गतिविधिमा परिवर्तन ल्याउनु जरुरी छ। सामान्य तथा बोसो, चिनी र नुन कम भएका, रेसाहरु बढी भएका खाना, प्रशस्त फलफूल र सागसब्जी खाने गर्नुपर्छ। 

जंकफुड, बट्टाका अचार, फ्राई गरिएका खानाहरु, गुलियो मिठाई तथा आइसक्रिम, इनर्जी ड्रिंक्स, कोल्ड ड्रिंक्स, पेय पदार्थ, डाई फ्रुट्सहरुमा नियन्त्रण गर्नुपर्छ। वजन बढी छ भने घटाउनुपर्छ जसका लागि नियमित करिब ४५ मिनेट हिँड्ने, साइकल चलाउने, नृत्य गर्ने आदि शारीरिक व्यायाम गर्न सकिन्छ।

यसका साथै उच्च रक्तचाप कम गर्ने, धूमपान बन्द गर्ने, नियमित रुपमा आँखा, पिसाब, मिर्गौला र पैतालाको परीक्षण गरेमा मधुमेहको जोखिमबाट बच्न सकिन्छ। चिकित्सक वा डायटिसियनको प्रत्यक्ष निगरानीमा हाम्रो दैनिक खानपान र जीवनशैली परिवर्तन गर्नसके मधुमेह वा मधुमेहबाट शरीरका अंगहरुमा हुने क्षतिबाट बच्न सक्दछौँ।

(लेखक पोषणविज्ञ हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live