मुख्य समाचार

त्रिवि छानविन समितिद्वारा प्रतिवेदन पेश, प्रवेश परीक्षा पुनः हुन सक्ने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– त्रिभुवन विश्वविद्यालयद्वारा गठित एमबिबिएस प्रवेश परीक्षा सम्बन्धि छानविन समितिले पुनः प्रवेश परीक्षा लिनु पर्ने अाशयको प्रतिवेदन बुझाएको छ । छानविनका क्रममा डिभाइस मार्फत विद्यार्थीले चिट चोरेको र बाहिरबाट उत्तर टिपाइएकोले  विवरणसहितको प्रतिवेदन दिइएको छानविन समितिका संयोजक चिन्तामणि पोखरेलले बताएका छन् । 

डा पोखरेल संयोजक रहेको ६ सदस्यीय समितिले मंगलबार छानविन प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाएपछि पोखरेलले भने, ‘कानूनी रुपमा अध्ययन गरी परीक्षाका विषयमा निर्णय लिन उपयुक्त हुने सुझाव दिएका छौं ।’ यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले पनि प्रश्नपत्र बाहिरिएको र चिटिङ भएको उल्लेख गर्दै आईओएमलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

गत असोज २८ गते भएको परीक्षामा डिभाइस मार्फत चिटिङ र प्रश्न पत्र बाहिरिएको थियो । प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले तुरुन्तै ५ जना विद्यार्थीलाई पक्राउ गर्यो‍ । किस्ट कलेज, वागमती बोर्डिङ, अरुणिमा स्कुल र नामी कलेजबाट डिभाइसहित चिट चोरिरहेका विद्यार्थीहरु सप्तरीका राहुल झा, मोरङका सक्षम भण्डारी, सप्तरीकी शिखा झा, धनुषाका सञ्जय यादव र महोत्तरीका महेन्द्र ठाकुर र राजिव सिंह पक्राउ परे । यसैगरी, अर्काको परीक्षा दिने र दिन लगाउने ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई पनि नियन्त्रणमा लिइयो । त्यस्तै, सेनाको मेडिकल कलेजबाट रौतहटका चिन्ताहरण साह पनि सोही दिन पक्राउ परे । उनीहहरु धनुषा घर भएका रमेशकुमार यादवको परीक्षा दिन गएका थिए । एमएससी अध्ययन गरेका साह पैसा लिएर अर्काको परीक्षा दिन गएका थिए । 

चिट चोर्ने विद्यार्थी पक्राउ परेपछि काठमाडौंबाट भाग्दै गरेका गिरोहका नाइकेहरु खोज्न प्रहरी खटियो । गिरोहका नाइके समीरकुमार झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, भारतीय नागरिकद्वय सुविशदेव र सौभरकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।
प्रहरीले केही दिनपछि यो प्रकरणमा संलग्न डा सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गर्न सफल भयो । आइओएमबाट एमबिबिएस सकेका डा मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

उनी कुनै पनि अस्पतालमा काम नगरी प्रवेश परीक्षामा भने चलखेल गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले पक्राउ गरेका अर्का व्यक्ति पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन् । मिश्रले विद्यार्थीको प्रवेशपत्रमा फोटो परिवर्तन गराउँदै आइरहेका थिए । किर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा कारबाही अघि बढाइएको छ । गिरोहका नाइके झासहित पक्राउ परेकालाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही अघि बढाइएको छ ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live