डक्टर्स आर्टिकल

जाडोमा बढी हुने रक्तनसाको रोग 'रेनोद्स': लक्षण र उपचार

डा रविनमान कर्माचार्य

आम जनमानसमा रेनोद्स रोगबारे धेरै कमैलाई थाहा होला। तर, यो रोगले धेरैलाई सताइरहेको हुन्छ। धेरैले यो रोगलाई औंला कालो हुने रोग, चिसोले खाएको आदि नामले बुझे पनि यो रोगको मेडिकल नाम भने 'रेनोद्स रोग' हो। 

यो रोगमा हात-खुट्टाका औंलामा जाने स-साना रक्तनली चिसोका कारण केही समय खुम्चिएर रगतको प्रवाह कम हुन्छ। जसबाट औंलाको टुप्पा दुख्ने, नीलो-कालो हुने गर्छ।

लक्षण

चिसोको सम्पर्कमा आउँदा वा चिसो पानी छुँदा हात-खुट्टाका औंलाहरु दुख्ने,
औंलाहरु एक्कासी नीलो-कालो वा सेतो हुने,
औंलाका टुप्पाले छोएको थाहा नपाउने,
रोगले बढी सताएमा औंलाको टुप्पा मर्ने।

कारणहरु

धेरैजसो व्यक्तिमा यो रोग चिसो बाहेक यही नै कारणले भएको हो भनेर पत्ता लाग्दैन, जसलाई 'प्राइमरी रेनोद्स' भनिन्छ। अन्य केहीमा भने रक्तनसामा बोसो जमेर, चोट लागेर, चुरोटको कारण, कुनै औषधिका कारणले पनि यो रोग हुने गर्छ, जसलाई सेकेन्डरी रेनोद्स अथवा रेनोद्स फेनोमेनन भनिन्छ।

रक्तनलीमा के भएर यो समस्या हुन्छ? 

हाम्रो शरीरका रक्तनली चिसोका कारण केही समयको लागि खुम्चिने गर्छन्। औंला मुटुदेखि सबैभन्दा टाढा हुने भएकोले रक्तनली खुम्चिएमा यसमा सबैभन्दा पहिले समस्या आउँछ। न्यानो पारेमा केही समयपछि रक्तनसा खुलेर फेरि सामान्य हुन सक्छ। तर, यही प्रक्रिया धेरै समय भयो भने औंला नीलो-कालो भएर पछि औंलाको टुप्पा नै मर्न सक्छ।

कसलाई बढी हुने गर्छ?

यो रोग महिला, बूढाबूढीका साथै वंशानुगत रुपमा बढी मात्रामा देखा पर्छ। जाडो महिनामा र चिसो पानीमा काम गरेको बेला यो रोगले बढी सताउँछ। बिहानको समयमा यसको लक्षण बढी देखिने गर्छ भने दिउँसो कम हुँदै जान्छ।  

जटिलताहरु

धेरै समय यो रोगले सताउँदा पनि उपचार नगरेमा औंलाहरु पूर्णरुपले निस्क्रिय हुने र कहिलेकाहीँ त झर्न पनि सक्छ। औंला कालो भएमा कामै नलाग्ने भएर शल्यक्रियाबाट निकाल्नुपर्ने पनि हुन सक्छ।

कसरी बच्ने ?

यो रोग भएका व्यक्तिले चिसोबाट बच्न एकदम जरुरी छ। सकेसम्म चिसो पानी नछुने, बिहान-बेलुका न्यानो लुगा तथा पञ्जा-मोजाको प्रयोग गर्न जरुरी छ। चुरोट खाने वक्तिले चुरोट खान छाड्नुपर्छ। 

यो रोगले सताइरहेमा ढिलो नगरी रक्तनली विशेषज्ञलाई देखाइहाल्नुपर्छ। आवश्यक परेको खण्डमा 'डोप्लर अल्ट्रासाउन्ड' गरेर रक्तनलीको अवस्थाबारे जानकारी लिनुपर्छ। रक्तनली विशेषज्ञको सल्लाहमा लगाउने तथा खाने औषधिको सहयताले यो रोग धेरै कम गर्न सकिन्छ। 

(रक्तनली विशेषज्ञ डा कर्माचार्य काभ्रेको धुलिखेल अस्पतालमा कार्यरत छन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live