मुख्य समाचार

एमबिबिएस चिटिङ प्रकरण प्रतिवेदन :  बाहिरिएको भनिएको प्रश्नपत्रमा १४ प्रश्न मात्र मिल्यो

img

प्रवीण ढकाल

काठमाडौं- एमबिबिएस चिटिङ प्रकरण सम्बन्धी गठित छानबिन समितिले परीक्षा हलमा वितरण गरेको सक्कल प्रश्नपत्र र विद्यार्थीले डिभाइसमार्फत दिएका उत्तरहरुलाई भिडाएर हेर्दा सेट दुईका १४ प्रश्नको उत्तर मात्र मिलेको प्रतिवेदन दिएको छ।

समितिले बुझाएको प्रतिवेदनमा परीक्षाका क्रममा भेटिएका तथ्य र त्यसका प्रमाणहरु सबै समेटिएका छन्। प्रतिवेदन अनुसार प्रवेश परीक्षामा बाहिरिएको भनिएको प्रश्नपत्रमा जम्मा १४ वटा प्रश्न मिल्न गएको छ।

सेट दुईका कुल ६० प्रश्नमध्ये दुई वटा शाब्दिक र १२ वटा अन्य प्रश्न मात्र मिलेको प्रतिवेदनमा उल्लेख छ। परीक्षामा विद्यार्थीलाई बहुवैकल्पिक प्रश्नोत्तर (चार वटा उत्तरमध्ये कुनै एक सही उत्तर छान्ने) सोधिएको थियो। बहुवैकल्पिक प्रश्नपत्रमा रहेका ६० प्रश्नमध्ये १४ वटा मात्र उत्तर मिलेको अवस्थालाई प्रश्नपत्र बाहिरिएको भन्ने प्रामाणित आधार मान्न नमिल्ने भन्दै प्रतिवेदनका विषयमा आज छलफल चल्ने त्रिवि स्रोतले जनायो।

‘बहुवैकल्पिक प्रश्नपत्रमा हचुवाका भरमा त्यसको उत्तर दिँदा पनि २० देखि २५ प्रतिशत मिल्ने सम्भावना हुने हुन्छ। यो विषयमा बृहत् छलफल चल्ने देखिएको छ,’ स्रोतले भन्यो, ‘प्रतिवेदनमा पनि यो विषयमा कानुनी अध्ययन गरेर आवश्यक निर्णय गर्नु भनिएको छ।’

समितिका संयोजक चिन्तामणि पोखरेलले यसअघि प्रहरीले दिएको प्रमाण र विज्ञका रुपमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा ढुण्डीराज पौडेलले दिएको सुझाव र प्रतिवेदनलाई पनि आधार मानेर प्रतिवेदन तयार पारिएको बताए। ‘हामीले सबै प्रमाण हेरेर प्रतिवेदन दिएका छौं,’ उनले भने, ‘अब यो विषयमा त्रिविले आवश्यक अध्ययन गरेर निर्णय गर्नेछ।’

प्रश्नपत्र बाहिरीएपछि यो विषयमा अध्ययन गर्न प्रहरीले अध्ययन गरेको थियो भने विज्ञका रुपमा अध्ययन गर्न मेडिकल काउन्सिललाई पत्र पठाएको थियो। प्रहरीको निवेदनपछि काउन्सिलले डा पौडेललाई विज्ञका रुपमा यो विषयमा अध्ययन गर्न खटाएको थियो। डा पौडेलले कात्तिक १३ गते बुझाएको प्रतिवेदनमा पनि जम्मा १४ वटा मात्र प्रश्नको उत्तर मिलेको प्रतिवेदन बुझाएका थिए।
 
पोखरेलको संयोजकत्वमा रहेको त्रिवि छानबिन समितिले आफ्नो प्रतिवेदनमा डा पौडेलेले दिएको प्रतिवेदनका कुरा हुबहु सबै समावेश गरेको छ। डा पोखरेल संयोजक रहेको ६ सदस्यीय समितिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई मंगलबार प्रतिवेदन बुझाएको हो।

गत असोज २८ गते भएको परीक्षामा विद्यार्थीले डिभाइसमार्फत चिट चोरी गरेको फेला परेको थियो। प्रहरीको अपराध महाशाखाबाट खटिएको टोलीले तुरुन्तै पाँच जना विद्यार्थीलाई पक्राउ गर्यो‍। किस्ट कलेज, बागमती बोर्डिङ, अरुणिमा स्कुल र नामी कलेजबाट डिभाइसहित चिट चोरिरहेका विद्यार्थीहरु सप्तरीका राहुल झा, मोरङका सक्षम भण्डारी, सप्तरीकी शिखा झा, धनुषाका सञ्जय यादव र महोत्तरीका महेन्द्र ठाकुर र राजिव सिंह पक्राउ परे। यसैगरी, अर्काको परीक्षा दिने र दिन लगाउने ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई पनि नियन्त्रणमा लिइयो। त्यस्तै, सेनाको मेडिकल कलेजबाट रौतहटका चिन्ताहरण साह पनि सोही दिन पक्राउ परे। उनीहहरु धनुषा घर भएका रमेशकुमार यादवको परीक्षा दिन गएका थिए। एमएससी अध्ययन गरेका साह पैसा लिएर अर्काको परीक्षा दिन गएका थिए। 

चिट चोर्ने विद्यार्थी पक्राउ परेपछि काठमाडौंबाट भाग्दै गरेका गिरोहका नाइकेहरु खोज्न प्रहरी खटियो। गिरोहका नाइके समीरकुमार झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, भारतीय नागरिकद्वय सुविशदेव र सौभरकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो।

प्रहरीले केही दिनपछि यो प्रकरणमा संलग्न डा सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गर्न सफल भयो। आइओएमबाट एमबिबिएस सकेका डा मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

उनी कुनै पनि अस्पतालमा काम नगरी प्रवेश परीक्षामा भने चलखेल गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरीले पक्राउ गरेका अर्का व्यक्ति पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन्। मिश्रले विद्यार्थीको प्रवेशपत्रमा फोटो परिवर्तन गराउँदै आइरहेका थिए। कीर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा कारबाही अघि बढाइएको छ। गिरोहका नाइके झासहित पक्राउ परेकालाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही अघि बढाइएको छ।

एसपीका छोरा फरार 

डिभाइस मार्फत चिट चोरी गर्नेमध्येका एक सक्षमराज भण्डारी प्रहरीकै एसपी सुदीपराज भण्डारीका छोरा हुन् । तारेखमा छुटेका उनी भने फरार छन् । अन्य विद्यार्थीलाई प्रहरीले तारेखमा बोलाउने क्रममा थुनामा राखेको थियो । तर, सक्षमराजलाई प्रहरीले नै उन्मुक्ति दिएको बताइन्छ । एसपी भण्डारी र काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुक एउटै ब्याचका भएकाले सक्षमलाई भगाइएको बताइएको छ । 

प्रहरीले सुरुमा पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध मुद्दा समेत चलाउने तयारी गरेको थियो । तर, सरकारी वकिल कार्यालयले विद्यार्थीलाई पनि अभियुक्त बनाउने निर्णय गरेपछि प्रहरीले पक्राउ परेका विद्यार्थी विरुद्ध ठगी र संगठित अपराध मुद्दा मात्र चलाउने भएको छ । 

वैशाखमै खुलेको थियो रहस्य 

यस्तै प्रविधि मार्फत चिट चोरी गर्नेहरु गत ९ वैशाखमा पनि पक्राउ परेका थिए । एमडी÷एमएस तहको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरिरहेका चिकित्सकद्वय अभिषेक आचार्य र मनसा भोहरालाई प्रहरीले पक्राउ गरेको  थियो । भोहरा महाराजगञ्जस्थित त्रिवि नर्सिङ कलेजबाट र आचार्य कमलपोखरीस्थित किस्ट कलेलबाट पक्राउ परेका थिए । त्यतिबेला दुवै जना सोर्सफोर्सका आधारमा छुटेका थिए । सिआइबीले उनीहरुलाई पक्राउ गरेसँगै अरु पनि तानिने भएपछि दबाबकै भरमा विस्तृत अनुसन्धान अघि नबढाई छाडेको स्रोतले बतायो। उक्त घटनामा पनि शनिबार पक्राउ परेका गिरोहका नाइके समीरकुमार झाकै संलग्नता रहेको आशंका प्रहरीको छ । 

पुरानै गिरोह

चिट चोर्ने तरिका नयाँ भए पनि पक्राउ परेकाहरु मेडिकल शिक्षामा लामो समयदेखि चलखेल गर्दै आएका व्यक्तिहरु हुन् । गिरोहका नाइके समीरकुमार झा दुई वर्षअघि एमबिएिसकै प्रश्नपत्र बिक्री गर्दैगर्दा पक्राउ परेका डा. प्रभातकुमार कुशवाहको गिरोहमा आबद्ध थिए । कुशवाहका सहयोगी उनले अहिले नयाँ प्रविधिमार्फत प्रवेश परीक्षामा चिट चोराएको प्रहरीले जनाएको छ । 

विराटनगरमा मेडिकल ल्याबका सामानको कारोबार गर्ने झा लामो समयदेखि एमबिबिएस भर्नामा चलखेल गर्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनको सबैजसो मेडिकल कलेजका सञ्चालकहरुसँग राम्रो सम्बन्ध छ । १९ असोज २०७१ मा डा कुशवाहको गिरोहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । सोही समूहका केही व्यक्तिले भारतबाट ‘म्याग्नेटिक साउन्ड स्पिकर’ खरिद गरी ल्याएका थिए । सिमकार्ड हाल्न मिल्ने र पहिलो रिङमै आफैं फोन उठ्ने प्रविधिमार्फत चिट चोराएका थिए । 

पक्राउ परेका शैलेन्द्रकुमार झा बुद्धनगरमा रहेको रेसनल एजुकेसन कन्सलटेन्सीका सञ्चालक हुन् । उनले नै डिभाइस मार्फत चिट चोर्ने केही विद्यार्थी खोजेका थिए । उनी समीरकुमार झाका आफन्त समेत हुन् ।  पक्राउ परेका गिरोहका अन्य व्यक्ति पनि कोही समीरका आफन्त, कोही सहयोगी र केही विद्यार्थी र उनीबीचका मध्यस्कर्ता हुन् । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live