धुलिखेल – काठमाडौँ विश्वविद्यालय (केयू)को २३ औं दीक्षान्त समारोहका अवसरमा आज चिकित्सा विज्ञानअन्तर्गत विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका एक हजार १९१ विद्यार्थी दीक्षित भए।
सो अवसरमा प्रमुख अतिथि डा मोहनमान सैंजुले निजी क्षेत्रको पहलमा छुट्टै ऐनद्वारा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको उदाहरणीय विश्वविद्यालय भएको बताए।
“सरकारी लगानी पर्याप्त मात्रामा प्राप्त गर्न नसके पनि स्थापनाको अढाई दशकभित्र यस विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक जनशक्तिको निर्माण गर्न सकेको छ”– डा सैंजुले भने।
अहिले विज्ञान प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तनले गर्दा मानिस सोच, विचार र कार्यशैलीमा फेरिन थालेको उनले बताए।
कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं काठमाडौं विश्व विद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई अविचलित भई गाउँगाउँमा सेवा गर्न जान आग्रह गरे।
उनले काठमाडौं विश्वविद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा समेत गरे।
“नेपाली जनताको घरदैलो दक्ष चिकित्सक पु¥याउन सकिरहेको छैन, त्यसको पूर्ति तपाईंहरुबाट हुनसक्ने विश्वास लिएको छु” – शिक्षामन्त्री श्रेष्ठले भने।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई नेतृत्व लिएर काम गर्न र परम्परालाई चुनौती दिन आग्रह गरे।
दीक्षित हुनेमा ७३३ महिला र ४५८ पुरुष छन् । यसमा १ सय ३५ जना विदेशी नागरिक छन्। रासस