प्रोफाइल

एएफसीबाट गोल्ड मेडलिस्ट डाक्टर 

None

अजय राणा एसियाली फुटबल महासंघ (एएफसी) बाट गोल्ड मेडल प्राप्त डाक्टर हुन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१५ मा एसियाका पाँच उत्कृष्ट डाक्टरलाई मात्र गोल्ड मेडल प्रदान गरेको थियो, जसमा उनी पनि समावेश थिए । 

एसियाको फुटबल विकासमा महत्वपूर्ण योगदान पु¥याउने केही व्यक्तिको नाम लिनु पर्दा डा राणाको नाम छुट्दैन । चिकित्सा क्षेत्रबाट उनले नेपाललाई मात्र होइन, विश्व खेल जगतलाई नै गुण लगाएका छन् ।
नेपाली खेल क्षेत्रमा पहिलो डाक्टरको उपमा पाएका अजयले थुप्रै अन्तर्राष्ट्रिय संघ–संस्थामा रहेर चिकित्सा विभागको काम सम्हालिसकेका छन् । 

खेलकुदको चिकित्सकीय दक्षताका कारण अझै पनि उनलाई अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा विशेष निम्तो आउनेगर्छ । नेपालको खेल क्षेत्र हेर्ने आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) को ३० वर्ष लामो जागिरबाट उनले केही वर्षअघि अवकास पाएका थिए । तर, पनि उनी नेपालमा रहँदा मेट्रो हस्पिटलबाट चिकित्सकीय सेवा दिइरहेका छन् । 

उनले लामो समय खेलाडीको खेल सुधारमा काम गरे । यस अवधिमा उनले खेलाडीको नसा र हाडजोर्नी सम्बन्धी समस्या समाधानको आफ्नै ‘फर्मुला’ तयार पारे । जुन अहिले प्रभावकारी मात्र होइन, प्रशंसनीय पनि छ ।
सानो छँदा स्कुलमा आयोजना हुने शारीरिक क्रियाकलापमा उनी अब्बल मानिन्थे । छरितो ज्यान भएका कारण मैदानमा उत्रिहाल्थे । स्कुले जीवन पार नगर्दै उनी हक्कीको राष्ट्रिय खेलाडी भइसकेका थिए । फुटबलमा उनी संकटा हुँदै ब्वाइज युनियन क्लबमा आवद्ध भएका थिए । 

सन् १९७२ मा जति बेला उनी हक्कीको राष्ट्रिय टिमका लागि छनोट भए, त्यही बेला सरकारी कोटामा डाक्टरी पढ्ने सूचीमा उनको नाम प्रकाशित भयो । 
उनी सम्झिन्छन्, ‘यति बेला म पहिलो पल्ट खेललाई प्राथमिकता दिने कि पढाइलाई ? भन्ने अन्यौलमा परेको थिएँ ।’ 

तर, शिक्षित परिवारमा जन्मिएका अजयले अन्ततः पढाइ नै रोजे । उनका बुवा पार्थिव शमशेर राणाले तत्कालीन श्री ५ को सरकारको सचिव पदबाट अवकाश पाएका थिए । सरकारले नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर राणालाई थप अध्ययनका लागि अमेरिका पठाउँदा उनीसँगै जाने अर्का अफिसर अजयकै बुवा थिए । उनका दाजु पेसाले इन्जिनियर हुन् भने दिदीले त्यति बेलै एमएसी गरिसकेकी थिइन् ।

अजयको पारिवारिक पृष्ठभूमि केलाउने हो भने उनको परिवारलाई अध्ययन र अनुसन्धानमा विशेष रुचि भएको देखिन्छ । उनको पाँच पुस्ताअघिका जिजुबुबा खड्ग शमशेर राणाले लुम्बिनी पत्ता लगाएका थिए । पाल्पाको रानी महल पनि खड्ग शमशेरले नै आफ्नी महारानीको नाममा बनाएका हुन् । 

खेल छोडेर त्यति बेला चिकित्सक बन्ने निर्णयको विषयमा अजय भन्छन्, ‘खेलबाट मात्रै केही हुँदैन । पढाइ पनि सँगै अघि बढाउनुपर्छ भन्ने सानैदेखि लागेको थियो ।’

सेन्ट जेभियर्सबाट स्कुले शिक्षा पूरा गरेका अजयले अस्कल क्याम्पसबाट आइएसी पास गरेका थिए । सन् १९७२ मा उनले भारतको राँचीस्थित राजेन्द्र मेडिकल कलेजबाट एमबिबिएस पूरा गरे । 

नेपाल फर्किएपछि उनले वीर अस्पतालमा डा अञ्जनीकुमार शर्मा, डा कुमार शर्मा र डा ध्रुव मुडभरीको टिममा रहेर एक वर्ष सर्जरी विभागमा ‘प्राक्टिस’ गरेका थिए ।  

वीरमा काम गरेको अनुभव उनका लागि महत्वपूर्ण बन्यो । लगत्तै उनी स्वास्थ्य मन्त्रालय अन्तर्गत जनकपुर अञ्चल अस्पतालमा अस्थायी दरबन्दीमा मेडिकल अफिसर भएर पुगे । जनकपुरमा रहँदा पूर्व राष्ट्रपति डा रामवरण यादवसँग मिलेर काम गरेको अनुभव छ, उनीसँग । जनकपुरमै छँदा शिक्षण अस्पताल महाराजगञ्जमा सहायक–प्राध्यापकका लागि विज्ञापन खुलेको थियो । 

त्यसपछि उनी १९८१ मा शिक्षण अस्पताल अन्तर्गतका क्याम्पसमा अध्यापन गराउने गरी सहायक–प्राध्यापकका रुपमा पुनः काठमाडौं फर्किएका थिए । उनले महाराजगञ्जमा रहँदा उपचारसँगै ‘हेल्थ असिस्टेन्ट’ हरूलाई एक वर्ष पढाउने काम पनि गरे । 
सन् १९८२ मा भारतको नयाँ दिल्लीमा एसियाली प्रतियोगिता आयोजना भयो । प्रतियोगितामा नेपाली खेलाडी मात्र होइन, खेल पदाधिकारीले पनि सहभागिता जनाउने मौका पाएका थिए । यसै क्रममा नेपाली खेल पदाधिकारीलाई महसुस भएछ– खेलाडीहरूको स्तर उन्नतिका लागि प्रशिक्षकको ट्रेनिङ मात्र पर्याप्त छैन्, यसका लागि चिकित्सकको भूमिका पनि अनिवार्य हुने रहेछ । 

प्रतियोगिता सकेर काठमाडौं फर्केपछि खेल पदाधिकारीहरूको पहिलो काम थियो, खेलकुदमा जसरी पनि चिकित्सक भित्र्याउने । यसका लागि उनीहरुले खेल बुझेको डाक्टरलाई प्राथमिकताको सूचीमा राखेका थिए । 

यही क्रममा राखेपका तत्कालीन संरक्षक अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहसँग अजयको भेट भयो । धीरेन्द्रलाई पहिले नै थाहा थियो, उनी हक्कीको राष्ट्रिय टिमको बन्द सत्रमा बसिसकेका खेलाडी हुन् भनेर । सोधेछन्, ‘खेलकुद परिषदमा जागिर खान्छौ ?’
अजयले तत्कालै निर्णय गर्न सकेनन् । परिवारसँग सल्लाह गरेर ओके भनिदिएँ,’ उनले भने, ‘वास्तवमा त्यही निर्णय मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो ।’ 

त्यो घटना सम्झँदा अहिले पनि रमाइलो मान्ने अजय भन्छन्, ‘डाक्टरका लागि कुनै संरचना नभएको खेलकुद परिषदमा काम थाल्नु सहज थिएन। आफू पनि खेलाडी भएकाले एक प्रकारको मोह भने थियो ।’ 
उनलाई सुरुमा आफ्नै परिवारले सहजै अनुमति दिन्छन् भन्ने लागेको थिएन । तर, सरकारी सेवामै जीवन बिताएका उनका बुवाले सहमति जनाए । 

‘मैले काम सुरु गर्दा खेलकुदमा मेडिकल अफिसर बस्ने कोठा पनि थिएन । एक जना सुरक्षा अधिकारीको कोठामा एउटा टेबल राखेर बस्थें,’ उनले पुराना दिन सम्झिए । 

आफूले जानेको सीप यत्तिकै मर्ने महसुस भएपछि उनी बिहान स्वयंसेवकका रुपमा फेरि वीर अस्पतालमा काम गर्न गएका थिए । त्यति बेला उनले डा ज्वालाराज पाण्डे र डा बिहारीलाल श्रेष्ठको मातहतमा रहेर झन्डै तीन वर्ष अर्थोपेडिक विभागमा काम गरे । 
खेलकुदमा उनी नियुक्त भएको तीन वर्षपछि मात्र छुट्टै स्वास्थ्य शाखा गठन भएको थियो । त्यसपछि मात्रै उनले बस्नलाई छुट्टै कोठा पाए । 

उनी भन्छन्, ‘शरदचन्द्र शाह सदस्य–सचिव भएका बेला हरेक खेलमा एउटा डाक्टर हुनुपर्छ भन्ने मान्यता थियो । त्यही तर्कका आधारमा डा बुलन्द थापा, डा सरोज श्रेष्ठ, डा केदार थापा लगायतका डाक्टर पनि स्थायी/अस्थायी रुपमा खेलकुद परिषदमा जोडिए ।’ 
उनको बुझाइमा खेल चिकित्सक भनेको खेलाडीलाई चोट लाग्यो भने उपचार गर्ने व्यक्ति मात्र होइन, खेलाडीको क्षमतामा निखार ल्याउन पनि चिकित्सकहरूको ठूलो भूमिका हुन्छ । विश्वले अपनाएको यही धारणालाई साँचो अर्थमा नेपाली खेलकुदमा सुरु गर्ने श्रेय पनि यिनै डाक्टरलाई जान्छ । 

खेल क्षेत्रमा संलग्न हरेक चिकित्सकले ‘स्पोर्ट्स मेडिसिन’ जान्नु अनिवार्य मानिन्छ । यही कुरालाई महसुस गर्दै उनी सन् १९८४ मा जापान लागे । थप अध्ययनका लागि १९८५ मा जर्मनीको फ्य्रांकफर्टस्थित ‘स्पोर्ट्स मेडिसिन इन्सिच्युट’ पनि पुगे । 
यही क्रममा १९८६ मा उनले ब्रिटिस सरकारको ‘कोलोम्बो प्लान’ अन्तर्गत अर्थाेपेडिक्समा ‘पोस्ट ग्र्राजुएसन’ गर्ने मौका पाए । 

लन्डनस्थित चर्चित ‘प्रिन्सेस मार्गरेट ट्रमा हस्पिटल’मा अर्थोपेडिक्समा विशेषज्ञता हासिल गरेपछि आफ्नो प्रोफेसरले खेलप्रतिको रुचि बुझेर थप ‘स्पोर्ट्स मेडिसिन’ कोर्स गर्न सुझाव दिएको उनी सम्झन्छन् । 

यो कोर्सपछि थप आत्मविश्वास जागेको बताउँदै उनी भन्छन्, ‘यसलाई ब्रिटिस सरकारले स्पेसल कोर्स बनाएको थियो । छानिने विश्वास नभएर म परीक्षा दिन आनाकानी गर्दै थिएँ, मेरो प्रोफेसरले नै मलाई त्यहाँ जाने खर्च देखि हौसलासम्म दिनुभयो ।’ 
एक बर्से ‘स्पोर्ट्स मेडिसिन’को अध्ययन पूरा गरेपछि उनले केही समय ब्रिटेनको ओलम्पिक टिमसँग बसेर काम गर्ने मौका पाएका थिए । 

डा अजयले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमसँग डाक्टरको भूमिकामा जान सुरु गरेको १९८३ देखि हो । 

उनी मलेसियाको चर्चित ‘मर्डेका कप’ खेल्न गएको नेपाली टिमसँग पहिलो पटक विदेश भ्रमणमा गएका थिए । यो टिमलाई नेपाली फुटबलको अहिलेसम्मकै ‘ड्रिम टिम’ मानिन्छ । 

चिकित्सकको भूमिकामा मलेसिया उडेपछि उनले खेलाडीको प्रदर्शनमा के–के कुराले असर पार्ने रहेछ भन्नेबारे अनुभव बटुलेका थिए । 

उनलाई अझै याद छ, ‘नेपालबाट जेट चढेर राति मलेसियाको क्वालालमपुर पुगेका थियौं। भोलि बिहानै फेरि खेल हुने स्थान कोटाबारु पुग्नु थियो । प्लेनको लामो यात्राले गर्दा खेल हुनुपूर्व चेन्जिङ रुममा गणेश थापा बेहोस भए । हामीले मलेसिया विरुद्ध पहिलो खेलमा ७ गोल खायौं । ‘जेट–लक’ भएका कारण गोलकिपर लोकबहादुर शाहीले बल नै ६–७ वटा देख्न थालेको बताएका थिए ।’

पहिलो खेलपछि नेपालले सुधारिएको प्रदर्शन ग¥यो । प्रतियोगिताको बलियो र दाबेदार मानिएको दक्षिण कोरियासँग १–०, अर्जेन्टिनासँग ३–० र अल्जेरियासँग २–० ले मात्र पराजित भयो । यसपछि नेपाली राष्ट्रिय फुटबल टोलीलाई सबैले ‘हिमालयन टाइगर’ को उपमा दिए । ‘वास्तवमा त्यो प्रतियोगिताले चिकित्सकका रुपमा मलाई धेरै कुरा सिकायो,’ उनी भन्छन् ।  

२०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली खेलकुदमा सदस्य–सचिव भएर आए, इन्दुबहादुर शाही । उनले एक दिन डा अजयलाई आफ्नो कोठामा डाकेर सोधेछन्, ‘डाक्टर, तिमी त स्पोर्ट्स हेल्थ एन्ड साइन्स पढेर आएको मान्छे । आफ्नो क्षमता कसरी प्रदर्शन गर्छौं ?’ 

यस अघिसम्म खेलकुदको सामान्य काममा व्यस्त रहने गरेका अजय पहिलो पटक झस्किए । उनलाई लाग्यो, आफूले पढेको ज्ञान किन प्रयोग नगर्ने ! त्यसबेला काठमाडौंमा पौडीको राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै थियो । उनी भन्छन्, ‘मैले सदस्य–सचिव शाहीसँग वैज्ञानिक तालिमको सुविधा दिनुभयो भने तीन महिनाभित्र तीन वटा राष्ट्रिय कीर्तिमान भंग गरेर आफूलाई प्रमाणित गर्छु भनेको थिएँ । तर, पाँच वटा कीर्तिमान भंग भयो ।’ 

त्यही बेला डा अजयको सुझाव अनुसार राखेपमा खेलाडीको प्रदर्शनमा सुधार ल्याउन ‘जिम्न्याजियम’ को स्थापना भयो । 

डा अजयले हासिल गरेको सीप हाल नेपाली खेल क्षेत्रले मात्र उपभोग गरिरहेको छैन्, अन्तर्राष्ट्रिय खेल जगतले पनि उपयोग गरिरहेको छ । यसैको कदर गर्दै उनलाई सन् १९९३ मा एएफसीले आफ्नो मेडिकल कमिटीको सदस्य नियुक्त ग¥यो ।  

उनी १९९८ मा फिफाको मेडिकल इन्स्ट्रक्टर पनि नियुक्त भए ।  फिफाबाट धेरै देश घुमेका अजयले विभिन्न देशका डाक्टरलाई ‘स्पोटर््स मेडिसिन’को तालिम पनि दिइसकेका छन् । 

सन् २००३ मा उनलाई एएफसीले एसियाको ‘क्षेत्रीय मेडिकल एन्ड डोपिङ कन्ट्रोल अफिसर’ नियुक्त गरेको थियो । उनले दुई वर्ष एएफसीको मलेसियास्थित हेडक्वार्टरको मेडिकल विभागमा रहेर महत्वपूर्ण समय बिताएका थिए । 
उनले अमेरिकाको भर्जिनिया राज्यमा रहेको ‘इन्टरनेसनल स्पोर्ट्स मेडिसिन कमिसन फर एजुकेसन एन्ड रिसर्च’ (आइएसएचपिइआर) को निर्देशक भएर पनि केही समय काम गरिसकेका छन् । 

एसिया स्पोर्ट्स मेडिसिनका संस्थापक सदस्य डा अजय नेपाल ओलम्पिक कमिटी अन्तर्गतको स्पोर्ट्स मेडिसिनका अध्यक्ष पनि हुन् । खेलकै सिलसिलामा उनले ६५ वटा देश र ६२ वटा जिल्लाको भ्रमण गरिसकेका छन् । 

डा अजय नेपाली खेलाडीको भरोसायोग्य डाक्टर त हुँदैहुन् । राजपरिवारको पनि उत्तिकै विश्वासपात्र चिकित्सक थिए । तत्कालीन युवराज दीपेन्द्र कुनै भ्रमणमा निस्किँदा चिकित्सक टोलीमा उनी सहभागी हुन्थे । अर्थाेपेडिक्स भएकाले चोटपटक, घाइते, फ्याक्चर हुँदा पनि राजपरिवारले उनलाई नै सम्झिने रहेछन् । उनले भने, ‘चितवनको दियालो बंगलाको भ¥याङबाट लडेर तत्कालीन रानी ऐश्वर्यको खुट्टा फ्याक्चर भएको थियो । त्यति बेला मसहितको टिमले नै ऐश्वर्यको शल्यक्रिया गरेको थियो ।’ 

यो घटनाबारे उनी भन्छन्, ‘फ्याक्चर हुने बित्तिकै फोन आयो र म तुरुन्त चितवन पुगें । उहाँको खुट्टामा मल्टिपल फ्याक्चर भएको थाहा पाएपछि काठमाडौं ल्याएर उपचार ग¥यौं ।’ 

राखेपबाट २०६८ सालमा सेवानिवृत्त भएका डा अजय अहिले पनि अन्तर्राष्ट्रिय खेलमा उत्तिकै सक्रिय छन् । उनलाई फिफा र एएफसीले ठूला प्रतियोगितामा चिकित्सकीय सेवाका लागि निम्तो दिने गरेको छ । यस्तै खेलकुद मन्त्रालयले पनि ‘डोपिङ’ लगायत अन्य स्पोटर््स मेडिसिनको नीति निमार्णका लागि उनीसँग परामर्श लिन छोडेको छैन । 

खेल क्षेत्रमा यतिका वर्ष बिताए पनि उनको एउटा सपना भने अधुरै छ । नेपालमा खेलकुद अस्पताल बनाउने उनको सपनाले आकार ग्रहण गर्न सकेको छैन । ‘सामान्य व्यक्तिभन्दा खेलाडीको शारीरिक बनोट भिन्न हुने कारण उपचार विधि पनि विशिष्ट हुनेगर्छ,’ उनले भने, ‘त्यसैले मैले खेलकुद अस्पतालको परिकल्पना गरेको हो ।’ 

उनले थपे, ‘खेलाडीको प्रदर्शन सुधार गर्ने खालका चिकित्सकीय सेवा दिनुका साथै खेलाडीको स्वास्थ्यमाथि रिसर्च गर्ने सेन्टर बनाउने योजना थियो मेरो ।’

खेलकुदबाट अवकाश पाए पनि विज्ञका रुपमा उनी आफ्नो परिकल्पनाको उपयोग होस् भन्ने चाहन्छन् । तर, राजनीतिक चलखेलको चपेटामा परेको नेपाली खेल क्षेत्रका पदाधिकारीसँग उनको क्षमता देशका निम्ति उपयोग गर्नेबारे सोच्ने फुर्सद कहाँ छ र !
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने