प्रोफाइल

हिप्पीको बिगबिगीमा दुर्व्यसनी विरुद्ध उभिएका डाक्टर

None

मानसिक समस्यालाई नेपाली समाजले हेर्ने दृष्टिकोण अहिले पनि रुढीबादी सोचमै आधारित छ भन्दा अतियुक्ति नहोला । तर डा देशराजबहादुर कुँवरले त्यो समय मनोरोगमा विशेषज्ञता हासिल गरे, जुन समय डाक्टरहरुले समेत यसलाई ‘बौलाहा विद्या’को संज्ञा दिन्थे । उनीअघि डा बिबी शर्माले वेल्सबाट मानसिक रोगमा डिपिएम (डिप्लोमा इन साइकोलोजिक मेडिसिन) गरेर आएका थिए । उनीमाथि चिकित्सा क्षेत्रले अनेक ‘जोक्स’ बनाएको थियो । डा शर्मा उनका गुरु थिए । डा कुवँरलाई होच्याउनु प¥यो भने अरु डाक्टर भन्थे, ‘तेरो गुरु (डा बिबी शर्मा) नाचघर जान हिँडेको रे, तर धरहरा पुगेछ हिजो ।’

चिकित्सा क्षेत्रले नै हेयभाव राख्ने भएपछि अधिकांश डाक्टरले यो विषयमा विशेषज्ञता हासिल गर्ने जोखिम उठाउन चाहेनन् । झन्डै १२ वर्ष (डा कुँवर विशेषज्ञ बनेर आउनुअघि) सम्म नेपालका एक्ला मानसिक रोग विशेषज्ञ थिए डा शर्मा । डा कुवँर पढेर फर्केको अर्को १२ वर्षसम्म पनि कसैले यो विषय रोजेनन् । उनी भन्छन्, ‘म पनि पढेर आएपछि चिकित्सा समाजमा बहुलाहा कहलिने दुई जना भयौं । अघिल्लो १२ वर्ष डा शर्मा एक्लैले मानसिक रोगको उपचार गर्नुभयो । त्यसपछिका १२ वर्ष दुईजना मात्रै भयौं ।’

मानसिक समस्याका लागि कहलिएका डाक्टर कुँवरले पनि यसप्रति रुची जागेर पढेका थिएनन् । परिस्थितिले यही विषय पढायो तर पढ्दै जाँदा उनलाई यति रुचीकर लाग्यो कि २ वर्षमा सक्नुपर्ने डिपिएम १८ महिनामै पूरा गरे । अनि ५ वर्षमा पूरा गर्नुपर्ने एमआरसिपी (मेम्बर अफ रोयल कलेज अफ साइक्याट्री) ४ वर्षमै पार लगाए ।

डाक्टरी पढ्न जुरेको संयोग

डा कुँवरको जीवनमा संयोगहरुले असहज परिस्थितिमा ठूलो योगदान गरेका छन् । तिनै संयोगहरुले उनलाई डाक्टर बनायो र फेरि मानसिक रोग विशेषज्ञ । 

डा कुँवरको जन्म पोखराको हेम्जामा १९९३ सालमा भएको थियो । कखरा गाउँमै जानेपछि ब्रिटिस लाहुरे उनका पिताले छोरालाई राम्रो शिक्षा दिन भारतको देहरादुन पु¥याए । जहाँ भारतीय गोरखा सैनिकका सन्तानका लागि गोरखा उच्च माध्यामिक विद्यालय खोलिएको थियो । त्यहाँ १० कक्षासम्म र हिन्दू नेसनल इन्टर कलेजमा आइएससीसम्म अध्ययन गरेपछि उनी काठमाडौं फर्किए । काठमाडौं फर्किनुमा उनी पढेकै स्कुलका सिनियर विद्यार्थी नारायणप्रसाद आचार्य (जो पछि राजाको मुख्य सचिव भए) को योगदान छ । आचार्य आइएससी अध्ययन गरेपछि नेपाल फर्के र नेपाल सरकारका तर्फबाट उनले दिल्लीमा अंग्रेजी पढ्न छात्रवृत्ति पाए । आचार्यले माया गर्ने जुनियर विद्यार्थी मध्येमा पर्थे कुँवर । छात्रवृत्ति पाएपछि देहरादुन फर्केका आचार्यले उनलाई भने, ‘तिमी पनि नेपाल फर्क । छात्रवृत्तिमा पढ्न पाउने सम्भावना छ ।’

उनी नेपाल त फर्किए तर न आइएससीको सर्टिफिकेट हातमा आइपुगेको थियो न राम्रो अंक थियो । उनीसँग देशराजबहादुर कुँवर, सेकेन्ड डिभिजन पास’ भन्ने प्रमाण मात्र थियो । ‘त्यसताका कोलम्बो प्लान अन्तर्गत सरकारले नेपाली विद्यार्थीलाई एमबिबिएस पढ्न पठाउँथ्यो,’ उनले भने, ‘मैले फारम भरेको थिएँ । तर, पर्ने सम्भावना न्यून थियो । किनभने २० जनाका लागि झन्डै ३ सय विद्यार्थीले फारम भरेका थिए ।’ 

यहीँनेर एउटा संयोग जुर्‍यो । उपत्यका बाहिरका विद्यार्थीको युनियनले कोलम्बो प्लानमा उपत्यकाभित्रका विद्यार्थी मात्रै छानिएको सुइँको पायो । त्यसपछि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको निवास घेर्न पुग्यो उपत्यका बाहिरका विद्यार्थीको समूह । युनियनमा रहेका विद्यार्थीले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू देश भनेको उपत्यका मात्रै हो ?’ उनीहरुले उपत्यका बाहिरका विद्यार्थी कोलम्बो प्लानमा परेनन् भने आन्दोलन गर्ने चेतावनी दिएर फर्किए । उनी सम्झिन्छन्, ‘प्रधानमन्त्री आचार्यले तुरुन्तै नतिजा रोक्न लगाएर १० जना उपत्यका बाहिरका विद्यार्थी राख्न निर्देशन दिनुभएछ । उपत्यका बाहिरका विद्यार्थी खोज्ने क्रममा कास्कीबाट त्यो ब्याचमा फारम भर्ने म मात्रै रहेछु । मेरो नाम कोलम्बो प्लानमा निस्कियो ।’

गभरमेन्ट मेडिकल कलेज पटियाला, भारतमा उनले पढ्ने मौका पाए । २०१८ सालमा एमबिबिएस पूरा गरेका कुँवर १ वर्ष इन्टर्नसिप गरेर २०१९ को अन्तिमतिर नेपाल फर्किए । नेपाल फर्किएपछि उनी श्री ५ को सरकारको सम्पर्कमा आइपुगे । तर, सरकारका मान्छेले उनलाई उपयुक्त ठाउँमा खटाउन आनाकानी गरे । यता उनका पिताको इच्छा चाहिँ आर्मीको डाक्टर बनोस् भन्ने थियो । उनले भने, ‘भाइ इन्द्र कुँवर पनि आर्मीमै थियो । त्यो समय नेपाली राष्ट्रिय टोलीको फुटबल खेलाडी पनि थियो । तर, जमदारबाट ऊ बढुवा नभएकै ६ वर्ष भएको थियो । म आर्मीको डाक्टर हुँदा भाइलाई पनि सहयोग होला भन्ने बुवाको चाहना थियो ।’

युवराज वीरेन्द्रले मनपराएको जुँगा