प्रोफाइल

बाथरोगका विनित


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग हुनेगर्छ । यसलाई आधार मान्दा नेपालमा ३० लाखलाई बाथको समस्या छ । नेपाल बाथरोग सेन्टरले काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा गरेको सर्भेक्षणले साढे ८ प्रतिशतमा बाथरोग देखाएको थियो ।

यो आँकडा डब्लुएचओको तथ्यांकसँग नजिक छ । तर, यो समस्याको समाधानका लागि उल्लेख्य रुपमा सरकारी पहल भएको छैन । चिकित्सा वर्गमा पनि यस विषयप्रति उतिधेरै आकर्षण देखिँदैन । तर, डा विनित वैद्य भने केही वर्षदेखि बाथरोगमै केन्द्रित छन् । उनी उपचार सेवासँगै जनचेतना पनि फैल्याइरहेका छन् । उनले बाथरोग सम्बन्धी अनुसन्धान गरिरहेका छन् भने सरकारलाई समेत घच्घच्याइरहेका छन् ।

रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा डा वैद्ययलाई बिरामी हेर्न भ्याइनभ्याई हुन्छ । सेन्टरका केही ठाउँमा शाखा पनि छन् । उपचार गर्ने उनका केही सहकर्मी डाक्टर पनि छन् । अघिल्लो वर्ष डा वैद्यको बाथरोग सेन्टरबाट १५ हजारको हाराहारीमा बिरामीले सेवा लिएका थिए । उनी भन्छन्, ‘बाँकी २९ लाख ८५ हजार बिरामीमध्ये कति विदेशतिर लागेका होलान्, कति सही उपचार नपाएर भौंतारिइरहेका होलान् भने कति समस्याग्रस्त भएर बाँच्न वाध्य होलान् ।’

बाथको समस्या महसुस भएर स्वास्थ्य संस्था तथा चिकित्सकको पहुँचमा पुगे पनि उचित उपचार पाउने सम्भावना कम उनी दाबी गर्छन् । ‘एमबिबिएस र एमडी पढ्दा बाथरोगको विषयमा निकै कम पढ्नुपर्ने भएकाले पनि यसको समस्या समाधानको सम्भावन कम रहन्छ,’ उनले अनुभव सुनाए । 

यसैगरी, कमाइ र प्रभावका हिसाबले पनि डाक्टरहरु बाथरोग सम्बन्धी अध्ययनलाई खासै महत्वमा राख्दैनन् । अग्रजहरुले पनि यो विषय रोज्न सुझाउँदैनन् । डा वैद्यलाई पनि मेडिसिनमा एमडी गरेपछि मुटु वा न्युरो विषयमा विशेषज्ञता हासिल गर्ने चाहना थियो ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २००४ मा एमबिबिएस गरेपछि २००५ मा इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गर्न उनी अल इन्डिया मेडिकल साइन्स (एम्स) पुगे । त्यहाँ अध्ययन गर्दाका ३ वर्ष उनको बढीजसो पोस्टिङ बाथरोगमा भयो । प्राध्यापकबाट बाथरोगका थुप्रै केर्स अध्ययन गर्न पाए । यसले उनको बाथरोगको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि जगायो ।

एमडी सकेर नेपाल फर्किएपछि उनले नेपाल मेडिकल कलेज (एनएमसी) मा चिकित्सकीय अभ्यास थाले । डा वैद्यले त्यही क्रममा भेटे बाथका बिरामी सही उपचारको अभावमा भौंतारिनुपरेको । उनी सम्झिन्छन्, ‘कोही घुँडा दुखेर अर्थोपेडिक्सकहाँ धाउँदा–धाउँदा हैरान भएका थिए । कोही दम भयो भनेर त्यसैको उपचार खोजिरहेका थिए । तर उनीहरु बाथका बिरामी थिए ।’

त्यसपछि डा वैद्यले एनएमसीमा बाथरोगको ओपिडी सेवा सुरु गरे । हप्ताको एक दिन ओपिडी राखिएको थियो । बिस्तारै बिरामीको संख्या बढ्न थाल्यो । लक्षणका आधारमा उनी बाथरोग भएको निष्कर्षमा पुग्थे तर प्रयोगशाला जाँचबिना यकिन गरेर औषधि चलाउन उनको इथिक्सले दिँदैन थियो । उनले केही ‘स्याम्पल’ प्रयोगशाला जाँचका लागि भारत पठाएर भए पनि उपचार गरे । तर, यो एकदमै झन्झटिलो र लामो प्रक्रिया थियो ।

‘अरु त अरु भिटामिन डीको परीक्षण पनि सर्वसुलभ थिएन’, उनी भन्छन्, ‘हामीले एसआरएल ल्याबलाई अनुरोध गरेर त्यसको जाँच सुरु गरायौं ।’ बाथको अरु जाँच भारतमा पठाएर गराउँदा बिरामीलाई महँगो पर्ने उनले बुझेका थिए । तर बाथका लागि एनएमसीले छुट्टै ल्याब स्थापना गर्ने वा उपकरण किन्ने अवस्था उनले देखेनन् । त्यसपछि उनलाई लाग्यो, ‘आफैं किन सुरु नगर्ने ?’ एनएमसीमा दुई वर्षजति काम गरेपछि उनी बाथरोगको उपचार आफ्नै पहलमा सुरु गर्ने अठोट बोकेर निस्किए । उनले एम्समा पढ्दा ताका चिनेका बाथरोगका भारतीय गुरुलाई भनेर फेलोसिपमा थप अध्ययन र अनुभव हासिल गरे । त्यसपछि उनका हितैषीहरुको सहयोगमा खुल्यो, नेसनल बाथरोग रिसर्च सेन्टर । जहाँ अहिले बाथरोग सम्बन्धी सम्पूर्ण जाँच र उपचार सेवा उपलब्ध छ । 

‘केही ठाउँमा शाखा खोलेर उपचार सेवाको पहुँच बढाएका छौं । तर, यतिले मात्रै पुग्दैन भन्ने लागेको छ’, उनले भने, ‘यसबार अध्ययन, अनुसन्धानसँगै जनचेतना जगाउनेतिर पनि काम गर्न जरुरी छ ।’ उनी नेपालमा बाथका बिरामी कति छन् भन्ने तथ्यांक आगामी ३ वर्षभित्र संकलन गर्ने अभियानमा छन् । यसका लागि नेपाल हेल्थ रिसिर्च काउन्सिलसँग अनुमति लिएर अनुसन्धानको काम अघि बढिसकेको उनले जनाए । 

बाथरोग भएको तीन महिनाभित्रै पहिचान भयो भने बिरामी औषधि नखाई निको हुन सक्ने डा वैद्यको भनाइ । तर, उनले ३ महिनाभित्रै पहिचना हुने अवस्था भने देखेका छैनन् । ‘स्वास्थ्यकर्मीमा नै यस सम्बन्धी चेतना कम छ’, उनी भन्छन्, ‘बिरामी समयमै स्वास्थ्य केन्द्रमा पुगे पनि उचित उपचार हुने ठाउँसम्म पुग्दा ढिला भइकेको हुन्छ ।’

बाथरोथको प्रारम्भिक जाँच र उपचार सेवा स्वास्थ्य चौकी तहमै हुनुपर्ने उनको धारणा छ । उनले भने, ‘सरकार तत्पर भए मात्रै यो सम्भव छ । तर, बाथरोग सरकारको प्राथमिकतामा परेको छैन ।’ 
आफ्नै बलबुतामा भए पनि बाथरोगको पहिचान र प्रारम्भिक उपचारको पहुँच विस्तार गर्न उनले केही योजना बनाएका छन् । उनी भन्छन्, ‘पहिलो चरणमा स्वास्थ्यकर्मीलाई बाथरोग सम्बन्धी तालिम दिनु जरुरी छ । सम्भव हुने जिल्लामा हामी आफैं पुग्छौं । सम्भव नभए हामी भिडियो कन्फ्रेन्स गरेर भए पनि जानकारी दिन खोजिरहेका छौं ।’ 

डा वैद्यको सुरुवातमा नुवाकोट, धादिङ, म्याग्दी र अछाममा बाथरोथ सम्बन्धी तालिम दिने योजना छ । आधारभूत ज्ञान बाँडेपछि थप उपचारलाई सहज बनाउन टेलिमेडिसिनको समेत व्यवस्था गर्ने उनको योजनामा छ ।

बाथरोगमा विशेषज्ञता हासिल गर्न सहज छैन । नेपालमा यसको सुरुवात भइसकेको छैन भने छिमेकी भारतमा पनि वर्षमा १२ जना मात्रैले शिषेज्ञता हासिल गर्न पाउँछन् । त्यसमध्ये पनि विदेशी कोटा एउटा मात्रै भएकाले नेपालीले अवसर पाउने सम्भावना न्यून छ । डा वैद्य भन्छन्, ‘यसका लागि डाक्टर र स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गर्नुको विकल्प छैन ।’ सरकारले गुणस्तर तोकेर नेपालमै यस सम्बन्धी फेलोसिप सुरु गरिदिँदा सहज हुने उनको बुझाइ छ। 

डा वैद्यसहित केही डाक्टर बाथरोग उपचारमा केन्द्रित हुन थालेपछि अहिले बिरामीलाई धेरै राहत मिलेको छ । प्रयोगशाला जाँच मात्रै होइन, औषधि पनि सुलभ र सस्तो हुन थालेको छ । २ वर्ष अघिदेखि केही औषधि नेपालकै एसियन फर्मास्युटिकल्सले उत्पादन गरिरहेको उनी बताउँछन् । यसले औषधिको मूल्यमा ३ गुणासम्म घटेको उनको अनुभव छ । 

बाथको उपचारमा समय घर्किएपछि आइपुग्ने वा राजधानी नै आउनुपर्ने समस्या अन्त्य गर्ने उनको लक्ष्य छ । भन्छन्, ‘यसो गर्न सकियो भने जीवनभर औषधि सेवन गर्नुपर्ने र महँगो उपचार खर्च तिर्नुपर्ने दुवै वाध्यताको अन्त्य हुनेछ ।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने