अन्तर्वार्ता

योगी विकाशानन्दलार्इ प्रश्न : तपाई खुब हाँस्नुहुन्छ ? त्यसको रहस्य के हो ?


तपाई खुब हाँस्नुहुन्छ ? त्यसको रहस्य के हो ?

हाँसो पनि एउटा उपचार पद्दति  हो । विस्तारै विस्तारै मानिसहरु हाँस्न बिर्सदै गएका छन् । हाम्रो समाजमा महिला बढी हाँस्छन् । पुरुषहरुलाई त हाँस्नै आउदैन भनेपनि हुन्छ । नहाँस्नाले पुरुषहरु भन्दा हाँस्ने महिला ५ वर्ष बढी बाँच्छन् भनिन्छ । हाँस्दा हाम्रो मस्तिष्कमा एण्डरफिन केमिकल सक्रिय हुन्छ । यसको राम्रो प्रभाव जीवनको हरेक पक्षमा पर्छ । दुखाइको प्राकृतिक औषधि एण्डरफिन केमिकल हो । जुन नियमित हाँस्नाले उत्पन्न हुन्छ । दुखाइ कम गर्न पेनकिलरजस्ता औषधि खाने चलन छ । यसले इम्यून सिस्टम कमजोर हुन्छ र कालान्तरमा निको नै नहुने खालको रोग लाग्न सक्छ । त्यसैले मजाले हाँस्नुस्, स्वस्थ रहनुहोस् भन्ने सन्देश दिन पनि म हाँस्ने गर्छु ।

एण्डरफिनको काम टेन्सनलाई खप्नसक्ने बनाउनु पनि हो । त्यसैले नियमित रुपमा हाँस्नेहरु टेन्सनबाट पनि सजिलै पार पाउँछन् । हाँसोले निद्रामा सुधार ल्याउने  हुनाले पनि यसले रोगीलाई स्वस्थ र निरोगीलाई मानसिक, बौद्धिक क्षमता बढाउन सघाउँछ । हाँस्दा मुटु, फोक्सो, फियो, प्याङक्रियाज, आमासय र आन्द्रादेखि मस्तिष्कसम्मको मालिस हुन्छ ।  परिणामस्वरुप ती अंग मजबूत एवम् स्वस्थ हुन्छन् ।

योग के हो ?

शारीरिक, मानसिक र आध्यात्मिक ‘डिसिपिलीन’ योग हो । योग मनलार्ई दरिलो र आत्मालाई परमात्मासंग मिलाउने प्रावधान पनि हो । शरीरलाई स्वस्थ र स्फूर्त राख्न योग चाहिन्छ । स्वस्थ रहन शारीरिक व्यायाम र योगभन्दा अर्को उपाय छैन । व्यायाम गरिएन भने शरीरभित्र खिया लागेर जान्छ र त्यो कसैले पनि निको पार्न सक्दैन । व्यायाम गर्ने मान्छे सिर्जनशिल र उत्पादनमुलक हुन्छ । व्यायामले दिमागलाइ पनि शक्तिशाली बनाउँछ । व्यायाम गर्दा शरीरमा उत्पादन हुने रसायनले अन्यौलबाट मुक्ति दिन्छ ।

मनोक्रान्ति भनेको के हो ?

मनोक्रान्ति होलेस्टिक मुभमेन्ट हो । यो शारीरिक, शैक्षिक, मानसिक र आध्यात्मिक कुराको प्याकेजिङ हो । यसले जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन ल्याउँछ । रोग र समस्याको कारण मन हो । मनलाई पूर्णतया बदल्नु मनोक्रान्ति हो ।

मनलाई कसरी बदल्न सकिन्छ ?

मन बदल्नुअघि मनबारे बुझ्नु पर्छ । मनमा चेतन र अवचेतन गरी दुई स्तर हुन्छन् । मनका यी दुवै स्तर मानिसको विचारबाट निर्माण हुन्छ । मन नै उसको विचार हो । विचार कल्पना वा चाहनाको रुपमा आउँछ । मानिसका भावना, कल्पना, सपना सबै विचार हुन् । चेतन मनमा विचार र अवचेतन मनमा कल्पना आउँछ । मान्छेको विचार उसको दृष्टिकोण हो । दृष्टिकोण परिवर्तन गर्न सके मन बदलिन्छ ।

समस्या संसारमा होइन दृष्टिकोणमा हुन्छ । मानिस मर्दा परिवारका मान्छे कोही दुःखी हुन्छ र कोही खुसी पनि हुन्छ । आफूलाई माया गर्ने, हेरचाह गर्ने मान्छे गयो भनेर दुःखी हुन्छ, कोही सम्पत्ति छाडेर गयो भनेर खुसी पनि हुन्छ । खुसी वा दुःखी उसको दृष्टिकोणले गराउने हो । अभाव, असफलता वा दुःखमा पनि सकारात्मक दृष्टिकोण राख्न सक्यो भने उ कहिल्यै दुःखी हुनुपर्दैन ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने