जीवनशैली

यसरी ढाड दुखेमा तुरुन्तै अस्पताल जानुपर्छ


तपार्इंलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाईं एक्लै हुनुहुन्न किनकि यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एकपटक महसुस गरेकै हुन्छन् । लगभग संसारका ८५ प्रतिशत मान्छेले यो समस्या सानो वा ठूलो रूपमा भोगेकै हुन्छन् । थुप्रै मानिस सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई चिकित्सकको सल्लाह जरुरी पर्छ ।

धेरै मानिसले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुँुदैनन् । त्यसकारण यो समस्याको कारण, खतराका संकेतहरू, रोकथामका उपाय र सामान्य उपचारसम्बन्धी विषयलाई समेट्ने प्रयास गरिएको छ । लामो समय उभिएर काम गर्ने सुरक्षा निकायका जनशक्ति, शिक्षकहरू, सञ्चार माध्यममा काम गर्ने र लामो समय उभिएर अप्रेसन गर्नुपर्ने शल्यचिकित्सकहरू नै यस्तो समस्याको मारमा परेको देखिन्छ । एकैखाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदार पनि मेरुदण्डको समस्याबाट प्रताडित हुन्छन् । मेरुदण्डमा समस्या भएमा पूरै स्पाइनल कोलम नै दुख्ने हुन्छ, जसलाई चिकित्सकीय भाषामा नेक पेन र ब्याक पेन पनि भनिन्छ ।

के कारणले ढाड दुख्न सक्छ ?

ढाड दुख्ने कारणहरू त धेरै नै छन् तर ती सबै कारणले शरीरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असर नै हो भन्दा फरक नपर्ला । केही कारण यस प्रकार छन् -


-    गलत तरिकाले चीजबिजहरू उचाल्नु ।
-    एक्कासि गरिने कडा ब्यायाम ।
-    अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन ।
-    आकस्मिक दुर्घटनाहरू जस्तैः उचाइबाट खस्नु, खेलकुदमा हुने दुर्घटना, सवारी दुर्घटना आदि ।
-    उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन, मोटरसाइकल र कार चलाउँदाको पोजिसन ।
-    कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा ।
-    लामो समयसम्म कुप्री परिरहनु र एउटै पोजिसनमा काम गरेर (बैंकरहरूमा हुने कारण) ।
-    धेरै गह्रौं वस्तुहरू उचाल्नु ।
-   गर्भवती अवस्था ।
-    विभिन्न रोग जस्तै–  युमटोइड आरथ्राइटिस  (आम बाथ), ओस्टिओ आरथ्राइस (जोर्नी खिइने बाथ), युरिक एसिडको बाथ  (गाउट), एन्काइलाजिन इस्पोन्डिलाइटिस (ढाडको बाथ), युमारिक फिबर, (मुटुजन्य बाथ, ज्वरो) र लुपस  एस.एल.ई, उमेरले ल्याउने शारीरिक परिवर्तन (जोर्नी खिएर जाने) र स्पाइन (मेरुदण्ड) को क्यान्सर आदि ।

-    बुढ्यौलीमा नसा च्यापिने : नसा च्यापिने परिस्थितिमा हातखुट्टा दुख्ने र झमझमाउने, हिँड्न गाह्रो हुने, कमजोर महसुस हुने लक्षण देखा पर्छ । बुढ्यौलीको सुरुवात भएपछि मेरुदण्डमा मासु बढ्ने रोग देखा पर्छ । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुन्छ, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ ।
यी र यस्तै कारणले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।

ढाड दुखेका बेला तल उल्लेखित समस्या भएमा तुरुन्त अस्पताल जानुपर्छ :

-    ढाड दुखाईसँगै ज्वरो आएमा

-    धेरै टाउको दुखेमा

-    ६० वर्ष उमेर नाघेका र लामो समयसम्म ‘स्टेरोइड औषधि सेवन गरिरहेको भएमा

-    खुट्टाहरू कमजोर भएजस्तो महसुस भएमा

-    खुट्टा अत्यन्तै दुखेमा

-    खुट्टा झमझमाएमा

-    हिँड्न नसक्ने अवस्था आएमा

-   निद्रा नलागेमा

-    गर्भवती अवस्थामा ढाड दुखेमा

-    दिसा वा पिसाब आफै  हुन थालेमा

-    घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा

घरायसी उपचार

घरायसी उपचारको प्रथम कडी भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लीन राख्नु हितकर हुन्छ । सुरुमा ‘आइसलाई एउटा प्लास्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ । त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्छ । यसका लागि ‘हट ब्याग वा हिटरको प्रयोग गर्न सकिन्छ । ढाड बाँध्ने बेल्टको प्रयोगले ढाड तातो राख्नुका साथै दुखाइ कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्न सकिन्छ । तर दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नु अगाडि चिकित्सकको सल्लाह लिन जरुरी छ किनभने सही औषधि रोज्न सकिएन भने मृगौलामा समस्या आउन सक्छ ।

रोकथामका उपायहरू

-    सामान्य ब्यायाम – शरीर तन्काउने र हिँडडुल गर्ने गर्नुपर्छ ।

-   क्याल्सियम र भिटामिन ‘‘डी’ युक्त पोषण जस्तै– माछा, मासु, अण्डा, दूध, गेडागुडी खाने  बानी गर्नुपर्छ ।

-    पानीको प्रशस्त सेवन किनकि मेरुदण्डको हाडको बीचमा हुने ‘डिस्कमा ७० प्रतिशत पानी हुन्छ

-    धेरै कमलो बिछ्यौनामा नसुत्ने

-    ढाडलाई सधैँ सीधा राख्ने प्रयास गर्नुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जीउ तन्काउनु राम्रो हो ।

-    झुकेर काम नगर्ने, खुट्टामुनि सिरानी राखेर कडा विस्तरामा सुत्नुपर्छ ।

-   बिहान उठ्दा कोल्टे परेर उठ्नुपर्छ ।

-    नियमित फिजियोथेरापी गर्नुपर्छ ।

-    नियमित विभागीय विशेषज्ञ, चिकित्सक (अर्थोपेडिक/स्पाइन) चिकित्सकको परामर्श लिनुपर्छ ।

-    ढाड ९० डिग्रीमा राखेर काम गर्नुपर्छ । कार्यालयमा काम गर्दा कम्प्युटर र आँखाको स्तर बराबर हुनुपर्छ ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने