फिचर

जो काठमाडौंका अस्पतालले ‘नसकेका’ अपरेशन जिल्लामै गर्छिन् 

None

काठमाडौं-

सिन्धुली जिल्ला अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई स्वास्थ्य मन्त्रालयबाट फागुन १४ गते फोन आयो। फोन गर्नेले कारण खुलाएनन्। यत्ति भनिदिए, ‘फागुन १५ गते बिहान ९ बजेसम्म जसरी पनि स्वास्थ्य मन्त्रालय आइपुग्नुहोला। अस्पतालबाट आजै हिँड्नुहोला।’

निमित्त मेसु डा गौतमलाई लाग्यो, ‘सरकार परिवर्तन भइरहेको छ। मलाई निमित्तबाट हटाउन बोलाइएको होला।’

उनलाई पदको लोभ थिएन। तर, आफूले अपरेशन गरेर बेडमा भर्ना गरेका १७ जना महिलाको चिन्ता लाग्यो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेकी उनले फोन गर्ने मान्छेलाई सोझै भनिन्, ‘भएको जुनसुकै निर्णय स्वीकार छ। तर, अहिले म आउन सक्दिनँ। मैले ३५ देखि ८९ वर्षसम्मका महिलाको अपरेशन गरेर उपचार गरिरहेकी छु।’

उनको यसो भनेपछि निमित्त मेसुबाट हटाउन होइन, पुरस्कृत गर्न बोलाइएको जानकारी गराइयो। तर, समस्या त उही थियो। उनले अपरेशन गरेर निगरानीमा राखिएका महिलालाई छाड्न सकिनन्। सबै व्यवस्था मिलाएर उनी १५ गते राति हिँडेर बिहान काठमाडौं आइपुगिन्, पुरस्कृत हुने समयभन्दा केही अगाडि मात्रै।

बिरामीप्रतिको यही जिम्मेवारीबोध र प्रेम हो, उनलाई यस वर्ष उत्कृष्ट डाक्टरका रुपमा स्वास्थ्य सेवा पुरस्कार दिलाउने। पुरस्कार पाएपछि उनलाई लागेको छ, ‘काम गर्दै जाँदा कसै न कसैले मूल्यांकन गरिरहेको हुँदो रहेछ।’

जो शहर आउन चाहिनन् 

नेपाल सरकार अन्तर्गतको स्वास्थ्य सेवामा उनी २०६३ सालमा प्रवेश गरेकी हुन्। उनलाई विशेषज्ञता हासिल गरेपछि ग्रामीण भेगमा गएर उपचार सेवा दिने चाहना थियो। साथै, खटिएको ठाउँमा आफूले जानेको कुरा गर्न पाइयोस् भन्ने हुटहुटी पनि थियो। उनलाई सरुवा गरेर सर्लाही जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र पठाइयो।

आफूले सिकेको उपचार तथा शल्यक्रिया सेवा दिन सक्ने वातावरण उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा नदेखेपछि उनको मन कुँढियो। उनले आफ्नो सीप उपयोग हुनसक्ने ठाउँमा सरुवा गरिदिन भनिन्। तर, स्थानीयले पहिलोपल्ट विशेषज्ञ डाक्टर पाएका थिए। त्यसको खुसी मनाइरहेका उनीहरुले उनलाई आफ्नो ठाउँ नछाड्न आग्रह गरे। उनले त्यहीँ बसेर सेवा दिन थालिन्। 

उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा एकैदिनमा ३ सय जनासम्म बिरामी आउन थाले। उनलाई भ्याइनभ्याई थियो। त्यहीँ सेवा दिने क्रममा उनले लोकसेवा परीक्षा दिएर नवौं तहमा नाम निकालिन्। त्यहाँ नवौं तहको दरबन्दी नभएपछि सिन्धुली जिल्ला अस्पताल सरुवा भइन्। 

न्याम्समा एमडी गर्दा काम गरेको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका सहकर्मी र प्रोफेसरले डा सुमित्रालाई भुल्न सकेका छैनन्। किनभने त्यो समयमै उनले केही ‘टफ लेभल’का अपरेशन गरेकी थिइन्। 

उनी भन्छिन्, ‘त्यहीँ फर्कन मलाई बेलाबेला आग्रह आउने गरेको छ। तर, म केही वर्ष गाउँकै महिलाको सेवा गर्छु भनेर फर्किन चाहिरहेकी छैन।’

न्याम्सकी गोल्ड मेडलिस्ट

रुपन्देही जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी उनले धेरै वटा स्कुल फेर्नुपर्‍यो। पिता सरकारी कर्मचारी भएकाले जता पोस्टिङ भयो त्यतै पुग्थिन्। कहिले भने आफन्तकोमा बसेर पढ्थिन्। ठाउँ बदलिरहे पनि उनको पढाइको धार सधैं धारिलो रहिरह्यो। उनी भन्छिन्, ‘अहिलेसम्म कुनै पनि परीक्षा दोहोर्‍याएर दिनुपरेको छैन।’ 

नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस गरेकी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट स्त्री तथा प्रसूति रोगमा एमडी गरेकी हुन्। एमडीमा उनको ब्याचकी गोल्ड मेडलिस्ट हुन्। 

जसको नाउँमा दिनमै डेढ सय टिकट कट्छ

सिन्धुली जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। यसमा डा गौतमको ठूलो योगदान छ। जिल्लाभर उनको नाम यसरी फैलिरहेको छ, दिनमै डेढ सय बिरामी उनैलाई देखाउन भनेर टिकट लिन्छन्। उनलाई देखाउन अस्पतालमा बिरामीको चाप हुने भएपछि व्यस्तता बढ्ने नै भयो। त्यसैले उनलाई निजी चिकित्सकीय अभ्यास गर्न छुट छैन। 

उनले अस्पतालको गुणस्तर पनि निकै बढाएकी छिन्। उनी त्यहाँ पुग्दा गुणस्तरको अवस्था ६२ नम्बरमा थियो, अहिले ८९ बनाएकी छन्। यसलाई उनी आफ्नो सफलता ठान्छिन्। जिल्ला अस्पतालमा २४सै घन्टा इमर्जेन्सी, ल्याब र एक्स–रे सेवा छ। 

दाउमा ज्यान र करिअर

अस्पतालका लागि डा सुमित्राले आफूलाई यसरी समर्पित गरेकी छन्, उनी सम्भव भएसम्मका प्रयास गर्ने गर्छिन्। चाहिने जति सहयोगी र उपकरण नभए पनि उनले जोखिम मोलेर अपरेसन गरिरहेकी छन्। उनी भन्छिन्, ‘बिरामीको अवस्था हेरेर मैले मेरो जीवन र करिअर दाउमा राखेकी छु।’

पछिल्लो समय समाज डाक्टरप्रति असहिष्णु हुँदै गएको हो कि भन्ने महसुस पनि उनलाई भएको छ। डाक्टरले गल्ती नगर्दा पनि हुने भवितव्यले आफू र आफ्नो परिवार नै जोखिममा रहेको महसुस उनले गरेकी छन्। त्यसैले १० वर्ष पनि नकटेको एकमात्र सन्तान दिदीको घरमा छाडेर उनले सेवा दिइरहेकी छिन्।  

भन्छिन्, ‘म केही यस्ता ठाउँ बसेकी छु। जहाँ हामीले बिरामीलाई समय दिन नसक्दा वा भवितव्य पर्दा परिवारलाई समस्यामा पारिन्छ।’

वर्षमा बढीमा १० दिन परिवारसँग बिताउन पाएको उनी बताउँछिन्। उनले भनिन्, ‘दशैंको टीका लगाउन पनि एक दिन घर आइन्छ। तर, पोष्टमार्टम आएको छ वा अरु समस्या छ भनेर प्रमुख जिल्ला अधिकारीको फोन आएर फर्किनुपरेको छ।’

काठमाडौंका अस्पतालले ‘नसकेका’ अपरेशन गर्ने हिम्मत

उनले केही त्यस्ता बिरामीको अपरेशन गरेकी छिन्। जुन काठमाडौंका ठूला अस्पतालले ‘नसकिने’ भनेर फर्काएका थिए। उनले मन्तव्यका क्रममा भनिन्, ‘अन्य कम्पिलिकेसन रहेका कारण ओम र मोडेल अस्पतालले ‘नसकिने’ भनेर फर्काएका बिरामीको अपरेशन गरेकी छु।’

पाठेघर खसेर समस्यामा परेका ती बिरामीको अवस्था उनले टुलुटुलु हेर्न सकिनन्। भन्छिन्, ‘उनीहरुको अवस्था नै यस्तो थियो, मैले हुँदैन भन्नै सकिनँ।’ 

उनले जोखिम उठाइन्। अहिले ती बिरामीले समस्याबाट मुक्ति पाएका छन्। एउटा एनेस्थेसिया भइदियो भने आफ्नो विशेषज्ञता क्षेत्रका बिरामीलाई जिल्लाबाट रिफर नै नगर्ने आँट उनमा छ। 

सेवा–सुविधामा उदासीन सरकार

डा गौतम जस्ता आफ्नै हुटहुटीले सेवा दिइरहेका डाक्टरका कारण नेपालको स्वास्थ्य सेवा धानिएको छ। तर, डाक्टरलाई पर्याप्त सेवा–सुविधा दिने कुरामा सरकार सधैं उदासीन छ। यो कुराले उनलाई पनि कहिलेकाहीँ पिरोल्छ। उनी भन्छिन्, ‘मेरो त परिवारले सहयोग गर्छ र सेवा–सुविधा नहेरी सेवा दिइरहेकी छु। सबैको त्यस्तो हुँदैन, त्यसैले सरकारले सोच्नुपर्छ।’

एमबिबिएस र एमडी गर्दा लाखौं खर्च गरेका डाक्टरलाई अहिलेको सेवा–सुविधाले बाँध्न नसक्ने उनको अनुभव छ। उनले खुलाइन्, ‘सञ्चय कोष काटेर लगभग ४० हजार रुपैयाँ महिनामा मैले पाइरहेकी छु। यति तलबले पुग्छ र?’

सीमित तलबले गाह्रो भएपछि डाक्टरहरु निजी अभ्यास गर्न बाध्य रहेको उनले बताइन्। तर, अस्पतालप्रति समर्पित हुने डाक्टरले निजी अभ्यास गर्न कहाँ पाउँछन् र? उनले पनि पाइरहेकी छैनन्। भन्छिन्, ‘बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्मै अस्पतालमै व्यस्त भइन्छ। कुन समय निजी अभ्यास गर्नु?’ 

'पैसाका लागि नचिरौं महिलाका पेट'

सिजेरियन सेक्सनबाट बच्चा जन्माउने अस्पताल र डाक्टरको संख्या वृद्धि भइरहेको छ। तर, डा गौतमले पढ्दा पाएको शिक्षा अझै दिमागमा राखेर काम गरिरहेकी छिन्। उनी भन्छिन्, ‘सकेसम्म सामान्य तरिकाले प्रसूति गराउन कोसिस गर्नुपर्छ भनेर हामीलाई गुरुहरुले भन्नुहुन्थ्यो। हामीले सरकारले तोकेको १५ प्रतिशतभन्दा कम नै सिजेरियन सेक्सनबाट प्रसूति गराइरहेका छौं।’

औसतमा मासिक सय जना जति प्रसूतिका लागि जिल्ला अस्पताल सिन्धुली आउँछन्। बढीमा १० देखि १२ जनाको मात्रै सिजेरियन सेक्सन गराउने गरेको उनले बताइन्। भनिन्, ‘सिजेरियन सेक्सनबाट प्रसूति गराउने हो भने २० मिनेट मात्रै लाग्छ। तर, सामान्य तरिकाले प्रसूति गराउन एक महिलालाई २४ देखि ४८ घन्टा हेर्नुपर्छ।’

पाठेघर खसेका सबैलाई सेवा दिने चाहना

डा गौतम सिन्धुली जिल्लाभरिकै पाठेघर खसेर समस्यामा परेका महिलाको उपचार गर्न चाहन्छिन्। तर, नेपाल सरकारको निःशुल्क सेवाभित्र पर्ने यसका लागि सीमा तोकिएको छ। वर्षमा २५ जनाको उपचार गर्ने बजेट दिइएको छ। त्यसैले डा गौतमले चाहेर पनि यसभन्दा धेरै गर्न सकिरहेकी छैनन्। 

यस वर्ष उनले नगर र गाउँपालिकासँग समन्वय गरिरहेकी छिन्। केहीले चासो समेत देखाएर बजेट छुट्याइसकेका छन्। उनी भन्छिन्, ‘आफ्नो गाउँपालिकाभित्रका पाठघेर खसेका महिलाको उपचारका लागि बजेट छुट्याउन भनेकी छु।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने