फिचर

आयुर्वेदलाई घरघरमा चिनाउने कविराज


स्वास्थ्य मन्त्रालयले पुरस्कार दिन लागेको खबर आउँदा सुरुमा त कविराज रामछविला यादवलाई पत्यार नै लागेन। धनुषाको यदुकोहा आयुर्वेद औषधालयमा कार्यरत उनलाई लागेको थियो, आयुर्वेदमा काम गरिरहेको मानिस पनि के पुरस्कृत होला र!

काठमाडौं आएर मंगलबार ‘स्वास्थ्य सेवा पुरस्कार’ थापेपछि यादवको अनुहारमा उत्साहको रङ चढेको देखिन्थ्यो। ताम्रपत्र देखाउँदै उनले भने, ‘बल्ल आयुर्वेद क्षेत्र पनि स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा परेको छ। हामीले पनि स्वास्थ्यकर्मीको दर्जा पायौं।’

हामीले बधाई दिँदै उनीसँग कुराकानी थाल्यौं। बधाई पाए लगत्तै उनले खुसी र मनको उकुसमुकुस एकसाथ पोखे, ‘यो मेरा लागि मात्र नभई समग्र आयुर्वेद क्षेत्रका लागि पनि खुसीको कुरा हो। किनभने हामी आयुर्वेद क्षेत्रमा काम गर्ने निकै हेपिएका र चेपिएका थियौं। हामीलाई त स्वास्थ्यकर्मी नै होइन झैं व्यवहार गरिन्थ्यो। तर सरकारले एउटा आयुर्वेदकर्मी त्यो पनि ग्रामीण क्षेत्रमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ।’

स्वास्थ्य मन्त्रालयले उनलाई धनुषामा आयुर्वेदको विकास र विस्तारमा योगदान गरेको भन्दै पुरस्कृत गरेको हो। यो पुरस्कार पाएपछि आफूलाई थप काम गर्ने हौसला मिलेको उनले सुनाए। 
सर्लाही हरिपुरका यादव यदुकोहा आयुर्वेद औषधालयमा २०६३ सालमा पुगेका थिए। उनी पुग्दा औषधालय एकतले साँघुरो भवनमा थियो। औषधालयमा डाक्टर नै नबस्ने हुँदा बिरामी समेत आउँदैन थिए।

अहिले भने अवस्था फेरिएको छ। दुईतले भवनमा विस्तारित औषधालयबाट बिरामीले चौबीसै घन्टा सेवा पाउन सक्छन्।

सेवालाई नै प्राथमिकतामा राखेका कविराज यादवले काम सुरु गरेसँगै दिनरात नभनी औषधालयमा खटे।  

‘औषधालयमा उपचार दिने मानिस चौबीसै घन्टा हुन्छ भन्ने थाहा पाएपछि बिस्तारै बिरामी आउने क्रम बढ्न थाल्यो,’ उनले भने, ‘त्यसपछि स्थानीयकै सहभागितामा भवन लगायतका सुधारका काम अगाडि बढाइयो।’ 

उनका अनुसार, अहिले औषधालयमा त्यो गाउँका मात्र नभई वरिपरिका १० वटा गाउँका बिरामी सेवा लिन आउँछन्। 

यादवको पहलमा अहिले उक्त क्षेत्रमा योग अभ्यासका लागि छुट्टै हल समेत बनाइएको छ। यादवले नै गाउँका मानिसलाई हरेक दिन योग सिकाउँदै आएका छन्। 

‘गृहिणी जडिबुटी बगैंचा’ अभियान

यादवले बिरामीको सेवा मात्र नभई उक्त क्षेत्रमा आयुर्वेद उपचारको महत्व फैलाउन जडिबुटी बगैंचा बनाउने अभियान नै सुरु गरे। सुरुमा औषधालय परिसरमा जडिबुटी बगैंचा बनाएका उनले विस्तारै गाउँटोलमा समेत फैलाए।

हरेक घरमा जडिबुटी बगैंचा बनाउने अभियान सफल बनाउन उनले महिला स्वास्थ्य स्वयंसेविकालाई अभियन्ताका रुपमा अगाडि सारे। पहिले उनीहरुलाई तालिम दिने र जडिबुटीका विरुवा उपलब्ध गराउने काम थालियो। 

कविराज यादवले औषधालय रहेको गाविसका ९ वटै वडाका स्वयंसेविकालाई जडिबुटीबारे जानकारी, रोप्ने तरिकासहित त्यसको प्रयोगबाट गर्नुपर्ने प्राथमिक उपचारबारे तालिम नै दिए।
भन्छन्, ‘सबै स्वयंसेविकालाई १० थरीका जडिबुटी रोप्न लगाएँ र तालिम दिएँ। त्यसपछि उहाँहरुलाई आफ्नो क्षेत्रमा रहेका सबै घरमा जडिबुटी लगाउन भनेँ। अहिले त उक्त क्षेत्रका ७० प्रतिशतको घरमा जडिबुटी रोपिएको छ।’

स्वयंसेविका मार्फत घरघरमा जडिबुटी रोप्ने अभियानलाई ‘गृहिणी जडिबुटी बगैंचा’ नाम दिइएको छ। अहिले उक्त क्षेत्रसहित अन्य गाउँमा पनि यो अभियान विस्तार हुँदै गएको छ। यो अभियान अन्तर्गत स्थानीयको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप प्रत्येक महिना २ सय रुपैयाँ दिने गरिएको छ। यादवकै पहलमा यो व्यवस्था सुरु भएको हो।

आयुर्वेदको विकास र विस्तारका लागि अहिले यादव स्थानीय सरकारको सहयोगमा उक्त क्षेत्रका हरेक टोलमा योग केन्द्र बनाउने र जडिबुटी बगैंचा विस्तार गर्ने अभियानमा जुटेका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने