नर्सिङ

मानसिक बिरामीलाई सम्हाल्नु चानचुने कुरा होइन

स्वास्थ्यखबर

हरेक अस्पतालमा नर्सको भूमिका महत्वपूर्ण हुन्छ । नर्सबिना अस्पताल नै चल्दैन । २४ घन्टा बिरामीको समस्या बुझ्न र उनीहरुको रेखदेखमा नर्स खटिएका हुन्छन् ।
त्यसमध्ये साइक्याट्रिक नर्सको भूमिका अन्य विभागमा काम गर्ने नर्सको भन्दा अलि फरक हुन्छ । मानसिक बिरामीलाई हेरचाह गर्नु केही चुनौतीपूर्ण काम नै हो । दिमागी बिरामीलाई काउन्सिलिङ गरेर उपचारबाट स्वस्थ जीवन फर्काउन नर्सको महत्वपूर्ण भूमिका हुन्छ।

साइक्याट्रिक नर्समा बिरामीको कुरा ध्यान दिएन सुन्ने, शान्त स्वभाव, बिरामीसँग कुरा गर्न सक्ने र धैर्यता जस्ता विशेषता हुनुपर्छ। 

ब्याचलर गरेपछि मैलाई साइक्याट्रिक नर्स पढ्नुपर्छ जस्तो लाग्यो । मानिसको मनोविज्ञान कसरी परिवर्तन हुन्छ भन्नेबारे मलाई जिज्ञाशा थियो । साइकोलोजीले मानिसलाई कसरी ‘मेन्टल इलनेस’तिर लैजान्छ भन्ने जिज्ञाशाकै कारण म यो क्षेत्रमा लागेकी हुँ। 

मानसिक बिरामीलाई सम्हाल्नु चानचुने कुरा होइन । यस्ता बिरामी एकदम हिंसा गर्ने, आक्रमक, आक्रोशित स्वभावका पनि हुन्छन् । मानसिक रोगका कारण बिरामी आक्रमक भएका बेला एक–दुईजनाले सम्हाल्न सकिँदैन । कुनै बेला बिरामी आफू, आफन्त र आफ्ना वरिपरिका मानिसलाई क्षति पुर्‍याउने तहसम्म पुग्छन् । तर, उनीहरु आफूलाई बिरामी स्वीकारिरहेका हुँदैनन् र अस्पताल बस्ने कुरा नकार्छन् । त्यस्ता बिरामीलाई ‘हेन्डलिङ’ गर्न निकै चुनौतीपूर्ण काम हो । 

हामीले बिरामी कुन हदसम्म आक्रामक छ भनेर हेर्नु, बुझ्नु र त्यहीअनुसार रेखदेर र व्यवहार गर्नुपर्छ । कुराकानी गरेर उनीहरुको आक्रोश कम गर्न सकेसम्म कोसिस गर्नुपर्छ । पहिलो चरणमा बिरामीलाई सम्झाएर, फकाएर, परामर्श दिएर शान्त पार्ने काम गरिन्छ । त्यसो गर्दा पनि सम्भव नभए फिजिकल र केमिकलको माध्यमबाट बिरामीलाई सम्हाल्ने काम हुन्छ। 

गाउँघरमा मानसिक बिरामीलार्ई एकदम नराम्रो रुपमा हेरिन्छ । यो एउटा रोग हो, उपचार गरे निको हुन्छ भन्ने मान्यता अझै ग्रामीण क्षेत्रमा स्थापित हुन सकिरहेको छैन । मानसिक समस्या भएका बिरामीलाई कि त ‘पागल’ साबित गर्न खोजिन्छ कि त धामीझाँक्री लगाएर ठिक पार्ने तर्फ लागिन्छ । जसले गर्दा बिरामी झन्झन् जटिल अवस्थामा पुग्दै जान्छ र सम्हाल्ने नसक्ने स्थितिमा पुग्ने हुन्छ । यस्ता बिरामीसँग बस्नु हुँदैन, बोल्नु हुँदैन भनेर परिवारकै सदस्यले समेत परपर तर्किने, एक्लै छोडिदिने गर्छन् । यो सबै चेतनाको अभावले गर्दा भइरहेको छ । ‘मेन्टल हेल्थ’बारे गाउँतहसम्म जागरुक नभए मानसिक रोगले सताइएका बिरामीको जीवन थप कष्टकर बन्दै जान्छ । सरकारले पनि मानसिक रोगीको पुनःस्थापनासँगै जनचेतना जनाउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ जस्तो लाग्छ। 

मेन्टल अस्पतालमा आउने कतिपय नर्स सुरुसुरुमा बिरामीसँग कुराकनी गर्न डराउने, बिरामीले कुट्छन् कि भनेर त्रसित हुने र आफू पनि यस्तै हुन्छु कि भनेर सोच्ने स्थितिमा पुग्छन् । त्यसैले, यो क्षेत्र नर्सहरुका लागि रुचीमा पर्दैन।

मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न धेरै नर्सले चासो नदेखाउने कारणले नै यसमा रुची हुने नर्सका लागि अवसर प्रसस्त छ । यहाँ दिनदिनै नयाँ कुरा सिक्ने मौका मिल्छ । म चाहिँ यही कारणले यो क्षेत्रमा रमाइरहेकी छु। 

दिमागी बिरामी भएका मान्छेलाई उपचार गरेर सामान्य अवस्थामा फर्काउन पाउँदा धेरै खुसी लाग्छ । त्यसबेला आफूले प्राप्त गर्ने आनन्द अथाह लाग्छ। 

अरु 4 बिटभन्दा भन्दा साइक्याट्रिक 4मा धेरै चुनौती छ । धैर्य गर्ने क्षमता र दृढइच्छा शक्तिबिना यो क्षेत्रमा रमाउन सकिँदैन । नेपालमा साइक्याट्रिक 4मा जनशक्तिको अभाव छ । मेडिकल फिल्डकै मान्छेले समेत यो क्षेत्रलाई त्यति वास्ता नगर्नाले पनि यस्तो समस्या आएको हो भन्ने लाग्छ।

(नर्स चन्द्रगैरे रिदम न्युरो साइक्याट्री एन्ड रिसर्च सेन्टरमा कार्यरत छिन्)

प्रस्तुति: सिर्जना खत्री

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live