डक्टर्स आर्टिकल

आन्द्रा र पिसाबथैलीमा देखिने रोग डाईभरटीक्युलोसीस के हो? लक्षण र उपचार


पेट डुम्म हुने, बान्ता हुने, कहिलेकाहीँ पेटमा मन्द खालको दुखाइ हुने, कब्जियत हुने, पाचनमा समस्या हुने जस्ता समस्या प्रायःजसो मानिसमा देखिन्छ । अधिकांशले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । तर ‘डाईभरटीक्युलोसीस’ रोगका कारण यस्तो समस्या देखिएको हुन सक्छ।

डाईभरटीक्युलोसीस मानिसको ठूलो तथा सानो आन्द्रा र पिसाब थैलीमा देखिने रोग हो ।  नेपालमा यो समस्याबाट पीडित व्यक्ति कति छन् भन्ने यकिन तथ्यांक छैन । तर, उपचारमा आएका बिरामीका आधारमा हेर्दा करिब १० देखि १५ प्रतिशतमा यो समस्या छ भन्ने अनुमान लगाउन सकिन्छ।

ठूलो तथा सानो आन्द्रा एवं पिसाब थैलीका भित्ताहरु कमजोर भएर साना–साना पोका निस्कने वा थैली नै बन्ने समस्यालाई ‘डाईभरटीक्युलोसीस’ भनिन्छ । यो रोग धेरैजसो ठूलो आन्द्रामा हुन्छ । सामान्यतया यो समस्या विकसित मुलुकमा बढी देखिएको छ । तर, पछिल्लो समय सहरी क्षेत्रमा बदलिएको खानपानका कारण यो समस्या नेपाल लगायतका अन्य देशका सहरी क्षेत्रमा बढ्न थालेको छ।

विकसित मुलुकमा रेसा (फाइबर) युक्त खाना कम खाने हुँदाले यो समस्या बढी देखिएको हो । फाइबरयुक्त खानामा हरियो सागसब्जी, मकै, दाल, फलफूल, गहुँ, कोदो आदि पर्छन्।

गरिब तथा अफ्रिकन मुलुकमा यो रोग धेरै कम मात्रामा देखिएको छ, किनभने ती मुलुकका मानिस रेसायुक्त खानेकुरा प्रसस्त खान्छन् । नेपालको पनि ग्रामीण भेगमा यस्तो खाना खानेको संख्या बढी भएकाले यो समस्या निकै कम मात्रामा भेटिन्छ।

तर नेपालमा बढ्दो शहरीकरणले गर्दा तयारी खानेकुराकोे प्रयोग व्यापक हुँदैछ । मिलमा पिसेको मैदा, खोस्टो निस्केको चामलको प्रयोग, हरियो सागपातको कमी, पाउरोटी, चकलेट, आइसक्रिम, चाउचाउजस्ता जंकफुड र पेयपदार्थको बढी उपयोगसँगै मासु धेरै खाने चलन बढेका कारण यो समस्या पनि क्रमशः बढ्दै गएको देखिन्छ।

यो रोग किन लाग्छ भन्ने वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन । तर, रेसादार खानाको कमीलाई नै यसको मुख्य कारण मान्ने गरिएको छ । केहीले वंशाणुगत कारण यस्तो समस्या आउन सक्ने अनुमान पनि लगाएका छन् । किनभने यो समस्या जुम्ल्याहाहरुमा बढी देखिएको छ । तर, यसको पुष्टि भइसकेको छैन।

देशको आर्थिक स्थितिअनुसार पनि यो रोग लाग्ने स्थान फरक भएको पाइएको छ । विकसित देशमा पेटको देब्रेतिर रहेका आन्द्राका भित्तामा बढी देखिएको छ भने नेपाल लगायतका एसियाली मुलुकमा दाहिनेतर्फ बढी पाइएको छ । यो विषयमा पनि वैज्ञानिक अनुसन्धान गर्नुपर्ने देखिएको छ।

यो बढ्दो उमेरका मान्छेमा देखिने रोग हो । विदेशतिरको आँकडा  हेर्ने हो भने ६० वर्ष  कटिसकेका ५० प्रतिशत जनसंख्यामा यो रोग देखिएको छ । ४० वर्षभन्दा कम उमेरका मान्छेमा धेरै कम देखिएको छ । रेसादार खाना कम खाने, शारीरिक व्यायाम नगर्ने, धूमपान गर्ने तथा भिटामिन डीको कमी हुँदा पनि यो रोग लाग्न सक्छ।

लक्षण

सामान्यतया ८० प्रतिशत मानिसमा यो रोगको लक्षण देखिँदैन । तर, २० प्रतिशतमा पेट डुम्म हुने, बान्ता हुने, कहिलेकाहीँ पेटमा मन्द खालको दुखाइ हुने, धेरैजसोमा देब्रे पेटमा दुख्ने, कब्जियत हुने, पाचनमा समस्या हुने, पुरुषको दिसामा रगत बग्ने तथा महिलामा आन्द्रा सुन्निने लक्षण हुन्छ। 

यो रोगको संक्रमण बढ्दै जाँदा जटिल लक्षण पनि देखिन्छ । आन्द्रा तथा पिसाब थैलीको भित्ताको कमजोर भाग निस्केर बनेको पोका तथा छुट्टै थैलीमा दिसा अड्किँदा त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छ र जटिल समस्या निम्तिने गर्छ । यस्तो अवस्थामा उक्त क्षेत्रमा सुन्निने, पेट असाध्यै दुख्ने, ज्वरो आउने, कब्जियत र दिसामा रगत आउने हुन्छ।

डाईभरटीक्युलोसीस भएको स्थानमा किटाणुहरु बढ्दै जाँदा संक्रमणले त्यहाँ पिप जम्ने र आन्द्रा नै प्वाल पार्ने समस्या पनि आउँछ । यसले वरिपरिका नसा चुँडाउने र रक्तश्राव पनि गराउन सक्छ।

रोग कसरी पत्ता लगाउने ?

सुरुवाती अवस्थामा लक्षण नदेखिने भएकाले रोग पत्ता लगाउन विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ । सामान्य एक्सरेबाट यो रोग पत्ता लाग्दैन । सिटी स्क्यानबाट थोरै जानकारी लिन सकिन्छ । तर, कालोनोस्कोपीबाट भने यो रोग पत्ता लगाउन सकिन्छ । कोलोनोस्कोपी भनेको मलद्वारबाट विशेषप्रकारको क्यामेरासहितको पाइप छिराएर हेर्ने प्रविधि हो । रोग पहिचान भएपछि यसको उपचार सुरु हुन्छ।

उपचार विधि 

जाँच गर्दा डाईभरटीक्युलोसीस पत्ता लाग्यो भने सुरुमा रेसा भएको खाना खान सुझाव दिइन्छ । दिनमा २० देखि ३० ग्राम रेसा भएको खाना खान भनिन्छ । हाइ फाइभर डाइट जस्तैः हरियो सागसब्जी, फलफूल , मकै, दाल जस्ता खाना खानुपर्छ । बिरामीले सकेसम्म तोरीको गेडा, फर्सीका गेडा खानु हुँदैन । यस्ता चिज थैलोमा अड्कने सम्भावना हुन्छ र इन्फेक्सन हुन सक्छ । तर, यसमा कुनै वैज्ञानिक तथ्यचाहिँ छैन । यस्ता चिज नखाएकै राम्रो मानिन्छ । कब्जियत हुन नदिन झोल औषधि खान सुझाव दिइन्छ । यसले दिसा कडा भएर थैलोलाई कोतरेर इन्फेक्सन हुन नदिन दिसालाई नरम पर्छ।

साधारण इन्जेक्सन र औषधिले ८० प्रतिशत बिरामी निको हुन्छन् । यदि यो रोगले पेटमा पिप जम्यो, फिस्टुला भयो भने त्यो आन्द्राको शल्यक्रिया गर्नुपर्ने हुन्छ। २० प्रतिशत बिरामीको मात्र शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।

दिसामा रगत देखिएर आउने बिरामी धेरैजसो पुरुष हुन्छन् । कोलोनोस्कोपी गरिसकेपछि ‘लिडप्रो’ भन्ने पद्धतिबाट लेजर दिएर रोक्न सकिन्छ । ‘हिमोकिलिप’ भन्ने विधिबाट पनि रगत रोक्न सकिन्छ। यदि कुनै विधिबाट पनि रगत रोकिएन भने आन्द्राको शल्यक्रिया गर्नुपर्ने हुन्छ।

(डा रविन शर्मा बयोधा अस्पतालमा कार्यरत छन्)

प्रस्तुतिः सिर्जना खत्री
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने