अन्तर्वार्ता

कर्णालीवासीको स्वास्थ्यमा पहुँच बढ्दै छ : मेयर सेजुवाल

None

काठमाडौं-

कर्णाली भन्ने बित्तिकै रोग, भोकको क्षेत्र भनेर परिभाषित गरिन्छ । औषधि उपचार नपुग्दा अकाल मृत्युको सिकार हुनुपरेको भन्दै दिनहुँका अखवारमा समाचार बन्छ कर्णाली । यद्यपि, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएसँगै जटिल प्रकारका शल्याक्रिया समेत गरिँदै आएको छ । अस्पताल आउने बित्तिकै बाँचिन्छ भन्ने आस पलाउन थालेको छ, कर्णालीबासीमा । साथै, प्रदेश ६ को स्वास्थ्य क्षेत्रको हबका रुपमा स्थापित गर्न चन्दननाथ नगरपालिकाले ‘लबिङ’ सुरु गरिसकेको छ । यिनै सन्दर्भमा जुम्ला चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालसँग धनबहादुर क्षेत्रीले कुराकानी गरेका छन्।

नगरको स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ?

समग्र कर्णालीको स्वस्थ्य अवस्थालाई हेर्दा अत्यासलाग्दो नै छ । राज्यले पनि स्वास्थ्य क्षेत्रमा कर्णालीलाई कहिल्यै प्राथमिकतामा पार्न सकेको अवस्था थिएन । सामान्य बिरामी पर्दा अकाल मृत्यु पर्खनु बाहेकको विकल्प थिए । तर, पछिल्लो समय नगर क्षेत्रमा सुविधा सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएपछि स्वास्थ्य समस्य हल हुँदै गएका छन् । नगर क्षेत्रबारे भन्नुपर्दा सामान्य बिरामीलाई चाहिने औषधि उपचार वडाहरुमा रहेका स्वास्थ्य संस्थामै हुँदै आएको छ । जटिल प्रकारका बिरामीको शिक्षण अस्पतालसम्म पुर्‍याएर उपचार भइहेको छ । चन्दननाथ नगरपालिका क्षेत्रको स्वास्थ्य अवस्था अहिले सन्तोषजनक नै छ । नगर क्षेत्रको स्वास्थ्य अवस्था मजबुत बनाउन बृहत् योजना निर्माण गर्न जुटेका छौं।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा के–के योजना ल्याएको छ त ? 

हरेक नगर कार्यापालिका बैठकमा स्वास्थ्यका विषयमा गहन छलफल भएका छन् । चन्दननाथ नगरपालिकालाई स्वस्थ र सफा नगरपालिका बनाउन गर्नुपर्ने कामबारे छलफल हुन्छ । नगरबासीलाई औषधिको अभाव र उपचारको झन्झट नहुने तरिकाले काम गर्ने भनेका छौं । यसमा वडाध्यक्ष, स्वास्थ्य संस्थाका कर्मचारी र नगरपालिका चिन्तत छ । जुनसुकै बेला फैलन सक्ने महामारीदेखि सावधान हुँदै सचेतनाका क्रियाकलाप अघि सार्दै आएका छौं । नगरसभाले समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधारका लागि योजना तर्जुमा गरेको छ।

सरकारी स्वास्थ्य संस्थामा औषधि हुँदैन भन्ने गुनासो आइरहन्छ नि ?

समग्र कर्णालीले व्यहोरिरहेको आरोप के हो भने, कर्णालीबासीले कहिल्यै पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउँदैनन्, सधैं औषधि अभाव हुन्छ । कर्णालीमा बस्नेहरुले उपचार नपाएर अकालमा मर्नुपर्छ । रोग, भोक र अभावका रुपमा परिभाषित हुँदै आएको छ कर्णाली । तर, कर्णालीको अवस्था राजधानी काठमाडौंको आँखाले हेरेजोस्ता मात्र छैन । व्यवस्थासँगै कर्णालीको स्वास्थ्य अवस्था पनि बदलिँदै गएको छ । चन्दननाथ नगरपालिकामा एउटा ३ सय शय्याको अस्पताल छ । यसले प्रदेश ६ को सबैभन्दा ठूलो अस्पतालको उपमा पाइसकेको छ । ठुलठूला शल्याक्रिया कर्णालीमा हुने सन्देश फैलिइरहेको छ । अहिले हामीले प्रथम चौमासिकमा नेपाल सरकारद्वारा उपलब्ध हुने ७२ प्रकारका निःशुल्क औषधिमध्ये ४० प्रकारका औषधि ल्याएका छौं । यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव छैन । कर्मचारीलाई पनि आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्देशन गरिएको छ । कहिल्यै पनि बिरामी रित्तो हात फर्कनु परेको छैन । दोस्रो र तेस्रो चौमासिकको रकम स्वास्थ्य मन्त्रालयमा माग भएको छ । रकम निकासा हुने बित्तिकै यहाँका स्वास्थ्य संस्थामा औषधि पुर्‍याइनेछ । स्वास्थ्य संस्थामा औषधि अभाव भइरहन्छ भन्ने आरोप अब झुटो बन्दै गइरहेको छ । विकट स्थानहरुमा केही समस्या नभएका होइनन्, तर हाम्रो नगरपालिकामा त्यस्तो अवस्था छैन।

वडाहरुमा स्वास्थ्यको कस्तो अवधारणा लागु गर्दै हुनुहुन्छ ?

चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् । अधिकांस वडामा स्वास्थ्यचौकी छन् । स्वास्थ्य चौकी नभएका वडा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै छन् । खासै समस्य छैन । तर, पनि वडामा स्वास्थ्य अवस्थालाई प्रभावकारी बनाउन गाउँबस्तीमा रहेका स्वास्थ्य स्वयंसेविकालाई जागरुक बनाउँदै लगिएको छ।
जुनसुकै वडामा जस्तो प्रकारको बिरामी भएको जानकारी आउने बित्तिकै स्वास्थ्यकर्मी गाउँमै गएर उपचार गराउने व्यवस्था गरेका छौं । यसका साथै वार्षिक रुपमा नगरबासीले स्वास्थ्य जाँच गर्न पाउने र रोगको निदानका लागि पहल गरिनेछ । यदि कथम्कदाचित स्वास्थ्य समस्य देखिएमा नगरपालिका जस्तोसुकै व्यवस्था गर्न तयार छ । वडा र नगरको संयुक्त स्वास्थ्य सुधार कार्ययोजना तर्जुमा गरिँदै छ । यसले पनि नगरबासीको स्वास्थ्य अवस्थालाई बलियो बनाउँदै लग्नेछ । प्रत्येक वडाबासीलाई स्वास्थ्य बीमा गर्न प्रेरित गरिएको छ।

नगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कसरी समन्वय भइरहेको छ ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना भइसकेपछि तराईतिरका बिरामी पनि उपचारका लागि कर्णाली धाउन थालेका छन् । कर्णालीको हावापानी राम्रो भएकाले र उपचार पनि गुणस्तरीय बन्दै गएकाले रोजाइमा पर्दै आएको छ । कर्णालीबासी हिउँदको चिसो छल्न तराई झर्ने गरेजस्तै गर्मी छल्न तराईबासी कर्णाली आउन थालेका छन् । तराईबाट कर्णालीमा मान्छे आउनु भनेको गर्मी छल्ने मात्र नभई उपचारको राम्रो व्यवस्था भएका कारण पनि हो। 
नगरपालिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर स्वास्थ्य शिविरदेखि स्वास्थ्य चेतना अभिवृद्धिका लागि पहल गरिरहेको छ । स्थानीयले पनि जुम्ला स्वास्थ्य क्षेत्रको हबका रुपमा स्थापित होस् भनेर निःशुल्क जग्गा दान गर्नेदेखि अस्पतालका जुनसुकै समस्यासँग जुध्दै आइरहेका छन् । स्वास्थ्य चौकीहरुमा औषधि र कर्मचारीको अभाव देखिएको खण्डमा प्रतिष्ठानसँग सहयोग माग्ने गरेका छौं । नगर क्षेत्रको स्वास्थ्य सुधारका लागि स्वास्थ्य संस्था, प्रतिष्ठान र नगरपालिकाबीच सुमधुर सम्बन्ध स्थापित भइरहेको छ।

दुर्गम क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन के–के काम गर्ने योजना छ ?

जुम्लाका सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुगेको छ, भन्न त मिल्दैन । तैपनि अधिकांस जनता स्वास्थ्य सेवा लिनबाट वञ्चित छैनन् । सबै स्थानीय तहमा स्वास्थ्य संस्थामा छन् । यो वर्ष औषधि र कर्मचारीको अभाव देखिएको छैन । कर्णालीसँग सडक जोडिएसँगै विशेषज्ञ चिकित्सक र औषधि अभावको पुरानो रोग निको भएको छ । स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा पु¥याउनका लागि प्रत्येक स्थानीय तहमा २५ शय्याको अस्पतालको अवधारणा सरकारले ल्याएको छ, यसले पनि स्वास्थ्यको पहुँच वृद्धिमा सहयोग पुग्ने विश्वास छ।

जुम्लामा अझै पनि कुपोषणको समस्या छ, यसलाई कसरी चिर्ने ?

केही वर्ष अघिसम्म जुम्लामा कुपोषणको अवस्था भयाभह थियो । यहाँका बालबालिका कुपोषणको सिकार थिए । कुपोषणकै कारण बालबालिकाको अकालमै मृत्यु हुने गरेका घटना हामीले भोगेका हौं । तर, पछिल्लो समय कुपोषणको दर घट्दै गइरहेको छ । विभिन्न तथ्यांकले पनि यही देखाउँछ । हामीले कुपोषण दर घटाउन स्थानीय उत्पादनबाट बनेका सर्वोत्तम पिठोको प्रयोगमा जोड दिएका छौं । आयतित खाद्यान्न र जंकफुडलाई निरुत्साहित गर्दै लगेका छौं । मासिक रुपमा कुपोषणको अवस्था मापन गर्न स्वास्थ्यकर्मी गाउँबस्तीमा पुग्छन् । नगरक्षेत्रमा कुपोषणको अवस्था पहिचान गरेर आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल गरेर कार्ययोजना बनाउने तयारीमा छौं । यहाँका महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने विषयलाई प्राथमिकतामा राखेका छौं । 
यहाँका महिला रातदिन काममा खटिनाले कार्यबोझ बढेको छ । सुत्केरी आमा काममा खटिनुपर्ने वाध्यताले बच्चाले आमाको दूध पर्याप्त सेवन गर्न पाउँदैनन् । आमाले राम्रोसित आराम गर्न पाउँदैनन् । त्यसैले नगरपालिकाले आमा र बच्चा सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लैजाने तयारी थालेको छ।

नगरको फोहोर व्यवस्थापन कसरी भइरहेको छ ?

चन्दननाथ नगरपालिकाको फोहोर व्यवस्थापन चुनौतिका रुपमा देखा परेको सत्य हो । जिल्ला सदरमुकाम खलंगा नगरपालिकाभित्रै पर्ने भएकाले फोहोर व्यवस्थान गर्न समस्य छ । सहरबाट निस्किएको फोहोर संकलन गरेर व्यवस्थापन गर्नका लागि उचित स्थान भेटिएको छैन । हामी ‘डम्पिङ साइड’ खोजिरहेका छौं । अहिले नगरपालिकाले टयाक्टरमा फोहोर उठाएर सदरमुकामकै क्षेत्रमा अस्थायी रुपमा व्यवस्थापन गरिरहेको छ । तर, नगरपालिकाको उद्देश्य भनेको सुन्दर, हराभरा र पर्यटकीय नगर निर्माण गर्नु नै हो । बजारको फोहोर उठाउन नसक्दा समस्या निम्तिएको छ । सकेसम्म चाँडो डम्पिङ साइडको टुंगो लगाएर सहरी क्षेत्रको फोहोर व्यवस्थापनलाई मूर्तरुप दिने जमर्कोमा सबै जुटेका छौं।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने