प्रोफाइल

मातृशिशु स्वास्थ्यका अध्येता


काठमाडौं-

बालरोग विशेषज्ञ डा धर्मशरण मानन्धर मातृशिशु स्वास्थ्यका अनुसन्धानकर्ताका रुपमा चिनिन्छन् । ‘मदर एन्ड इन्फ्यान्ट रिसर्च एक्टिभिटिज’ (मिरा) नामक गैरसरकारी संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशक डा मानन्धरले पछिल्ला साढे दुई दशक अनुसन्धानमै बिताएका छन् । त्यसअघि उनले साढे १५ वर्ष स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर र १० वर्ष कुवेतमा स्वास्थ्य सेवा दिएका थिए।

मातृशिशु स्वास्थ्यमा उनी समेत संलग्न भएर नेपालमा गरिएका अनुसन्धान विश्वका धेरै देशका लागि लाभदायी छन् । विशेषगरी विकासोन्मुख देशले त्यसलाई अपनाइरहेका छन् । यति मात्रै होइन, नवजात शिशु जोगाउनका लागि प्रयोगमा आउने विभिन्न उपकरण उनी आफैंले बनाएका छन् । अत्याधुनिक उपकरण आयात गर्दा महँगो पर्ने भएपछि केही वर्षअघि नवजात शिशुका लागि आफैंले रिसस्किटेयर, वार्म कोट, फोटोथेरापी युनिट र अक्सिजन हुड बनाएका थिए। 

आफ्नो नाम धर्मशरण मानन्धरको छोटो रुप डिएसएम नाम दिइएको रिसस्किटर प्रसूति कोठामा बच्चाका लागि रुटिन केयर गर्न, यसैगरी बच्चालाई न्यानो राख्न वार्म कोट, नवाजात शिशुलाई जन्डिसबाट मुक्ति दिलाउन फोटोथेरापी युनिट र बच्चालाई अक्सिजन उपलब्ध गराउन अक्सिजन हुड प्रयोगमा आउँछ। 

नेपालमै बसेर योगदान दिन पाएकोमा गर्व गरिरहेका छन् डा मानन्धर । तर, यहाँसम्म आइपुग्न उनले अनेक हन्डर र ठक्कर खाएका छन् । त्यसमध्ये उनको एउटा ‘टर्निङ प्वाइन्ट’ इराकले कुवेतमाथि सन् १९९० मा गरेको हस्तक्षेप थियो । ‘कुवेतमाथि इराकले हस्तक्षेप गरेपछि कुवेतमा बस्नसक्ने अवस्था भएन,’ डा मानन्धरले सम्झिए, ‘इराकी सेना कुवेतमा छिरेपछि कुवेतमा एकप्रकारको त्रासदि  थियो।’

सपरिवार कुवेतमा बसेका उनी संयोगले मात्रै त्यहाँबाट फुत्किन पाएको बताउँछन् । त्यो घटना मेरालागि नेपालमै काम गर्न पाउने अवसरका रुपमा आइदियो। 

सद्दाम शासनको त्रासदि
सन् १९८० ताका कुवेतको अर्थव्यवस्था विश्वकै बलियो मध्येमा पथ्र्यो । कुवेतमा अत्याधुनिक अस्पताल निर्माण भइरहेका थिए । त्यो समय विदेशी कामदारका लागि कुवेत आकर्षणको केन्द्र बनिरहेको थियो । डाक्टर र इन्जिनियरजस्ता प्राविधिकका लागि कमाउने राम्रो अवसर थियो । १५ वर्षभन्दा लामो समय सरकारी जागिर गरेका डा मानन्धर सन् १९८० मै आफ्ना साथी मार्फत कुवेतको एक सरकारी अस्पतालमा काम गर्न पुगेका थिए । उनलाई त्यहाँको स्वास्थ्य प्रणाली प्रभावित बनायो । उपचारदेखि औषधिसम्म निःशुल्क थियो । बेलायतमा एमआरसिपीसम्म गरेका उनले कुवेत र बेलायतमा खासै फरक पाएनन् । उनी सम्झिन्छन्, ‘कमाइ पनि राम्रो थियो । मेरो हाकिम श्रीलंकन थियो र उसले काम गर्ने राम्रो वातावरण बनाइदिएको थियो ।’ कमाइमा सरकारले कर नलगाउने भएकाले आर्जन पनि राम्रो हुने गरेको उनले बताए। 

कुवेतमा एक दशक उनको जीवन हाँसीखुसी बित्यो । बालरोग विशेषज्ञ उनले आफ्नो उपचार कौशलले कुवेतीहरुको मन जिते । त्यसैले उनलाई त्यहाँको सरकारले सेवा सुविधा थप्दै त्यहीँ बसिरहने वातावरण बनाइरहेको थियो । छिमेकी देश इराकमा सद्दाम हुसेनले शासन हत्याएका थिए । विस्तारै सद्दामले कुवेतमाथि पनि प्रभाव जमाउन थाले।


विदेशी कामदारका लागि ‘स्वर्ग’ रहेको कुवेत सन् १९९१ मा आइपुग्दा एकाएक ‘नर्क’मा परिणत भइसकेको थियो । सन् १९९० को अगस्टमा इराकले कुवेतमाथि हस्तक्षेप गरी आफ्ना सेना तैनाथ गरिसकेको थियो । इराक र कुवेत युद्ध ७ महिना चल्यो । इराकले कुवेतमाथि हस्तक्षेप गरेर आफ्ने प्रान्त जस्तो बनाएको थियो । त्यसपछि नयाँ नियमहरु लागू हुन थाले । सद्दामको विदेशी नागरिकमाथिको रवैया कठोर बन्दै गइरहेको थियो । कुवेतमाथि इराकको हस्तक्षेपको अमेरिका लगायत पश्चिमा मुलुकले खुलेर विरोध गरिरहेकाले विदेशीहरुले सुराकी गर्न सक्ने आशंका शासकहरुमा थियो । डा मानन्धर सम्झिन्छन्, ‘एक दिन सबै विदेशी डाक्टरलाई एउटा होटेलमा बोलाइयो । म डराउँदै जान तयार भएको थिएँ । तर, साथीले रोक्यो । उसले भन्यो– उनीहरुका नजरमा तँ विदेशी होइनस् । विदेशी भनेका गोरा हुन्।’

कुवेतबाट उनका साथीहरु एक–एक गरी हराउन थाले । साथीहरु थाहै नदिई भाग्न थालेपछि उनले पनि त्यहाँबाट उम्किनुको विकल्प देखेनन् । उनले भने, ‘साथी आपतमा चिनिन्छ भन्थे, सत्य रहेछ । हिजोसम्म चिन्ता नगर, निस्किनु परे सँगै निस्कौंला भन्ने साथी भोलिपल्ट हुँदैनथिए ।’ फेरि अस्पताल जस्तो जरुरी सेवामा रहेकालाई सरकारले सकेसम्म रोक्ने नीति लिएको थियो । उनी भन्छन्, ‘डाक्टर, इन्जिनियरहरु बाहिरिन थालेपछि सम्पूर्ण प्रणाली नै ध्वस्त हुने बुझाइ कुवेत सरकारको थियो ।’ त्यसपछि झन् समस्यामा परे उनी । त्यस्तो परिस्थिति आइलाग्ला भन्ने कल्पना समेत नगरेका उनले आफूसँग धेरै नगद राखेका थिएनन् । ‘सबैले आफ्नो रकम निकाल्न थालेपछि बैंकले निश्चित रकमभन्दा बढी निकाल्न नपाउने नीति ल्यायो । त्यसपछि सुटुक्कै भाग्न पनि समस्या पर्‍यो,’ उनले भने। 

कुवेतमा त्रासको अवस्था आउनु केही समयअघि उनकी छोरी हंगेरीमा चिकित्सा अध्ययन गर्ने टुंगो लागेको थियो । छोरी भर्ना गर्न जानका लागि उनले केही दिनअघि मात्रै टर्कीको भिसा लगाएका थिए । यही एउटा संयोगले उनलाई आपतबाट सहज अवतरण गर्न सघायो।

‘सोही समय क्रेडिट कार्डका लागि दिएको निवेदन पनि पास भएको रहेछ,’ उनले सम्झिए, ‘संयोगले हामी कुवेतबाट उम्कियौं । त्यसपछि छोरीलाई हंगेरीमा भर्ना गरेर नेपाल फर्किएको थिएँ।’

‘खें सगुँ’सँगै नेपालमा नयाँ करियर
डा मानन्धर कुवेतबाट उम्किएको केही समयमै इराक र कुवेतबीच युद्ध भएको थियो । पहिलो ‘गल्फ वार’ भनिने उक्त युद्धमा धेरैले ज्यान गुमाए । उनी भन्छन्, ‘हामी बाँचेर फर्कियौं ।’ उनी धन्नले बाँचेर नेपाल फर्किएपछि आफन्तले परम्परा अनुसार भोज आयोजना गरे । तिनैमध्ये डा सानुमैया दलीले उनलाई ‘खें सगुँ’का लागि बोलाइन् । नेवारी परम्परामा बाँचेर आएको मान्छेलाई ‘खें सगुँ’ दिने गरिन्छ । नेवारी भाषामा ‘खें’ भनेको अन्डा र ‘सगुँ’ भनेको माछा हो। 

‘खें सगुँ’ डा मानन्धर परिवार ज्यान जोगाएर फर्केको उल्लासमा थियो तर उनका लागि नेपालमा करियर सुरु गर्ने महत्वपूर्ण अवसर समेत बन्यो । लामो समय विदेश बसेका कारणले नेपालका अस्पताल सञ्चालक र डाक्टरसँग उनको चिनजान थिएन । ‘कसरी काम सुरु गर्ने ? भन्ने तनावमा रहेका बेला उक्त समारोहमा डा दलीले डा रामप्रसाद पोखरेललाई पनि बोलाउनुभएको रहेछ,’ उनी भन्छन्, ‘उहाँले नै कहाँ काम गर्ने भनेर सोध्नुभयो । मैले मेसो नपाएको बताएपछि एभरेस्ट नर्सिङ होममा काम गर्न प्रस्ताव गर्नुभयो ।’ बालरोग विशेषज्ञकै रुपमा उनले एभरेस्ट र प्रसूति गृहमा काम थाले। 

सन् १९९७ मा प्रसूति गृहमा काम गरिरहेका बेला युनिभर्सिटी कलेज अफ लन्डनका डाक्टर आन्द्रे कोस्टालोसँग उनको भेट भयो । निर्देशकलाई भेट्न आएका कोस्टालोलाई डा मानन्धरले आफ्नो उपचार कक्षमा लगेर गरिरहेका कामबारे जानकारी गराए। 

मातृशिशु स्वास्थ्यमा अनुसन्धान गरिरहेका कोस्टालोले मिलेर काम गर्न प्रस्ताव गरे । प्रसूति गृहमा उनीहरुले मिलेर ‘के कारण नवजात शिशु निसासिन्छन् ?, चिसोले नवजात शिशुलाई गर्ने असर र जोगाउनका लागि अपनाउनुपर्ने उपाय’ लगायतमा अनुसन्धान गरे । त्यसताका नवाजात शिशु मृत्युदर उच्च थियो । उनी सम्झिन्छन्, ‘दुर्गम गाउँहरुमा त ५० प्रतिशतभन्दा बढी नवाजात शिशुको मृत्यु हुन्थ्यो।’

तिनै बेलायती अनुसन्धानकर्तासँग सहकार्य गरेपछि उनी हाल कार्यरत अनुसन्धानमूलक संस्था मिरा खुलेको हो । अनुसन्धानका लागि आवश्यक बजेट डा कोस्टालोले जुटाउने र नेपालमा व्यवस्थापकीय जिम्मेवारी मिराले लिने सहमतिका अनुसार उनीहरु अघि बढे । त्यसपछि समुदायमा आधारित भएर बाल–मातृ मृत्युदरको कारण र घटाउने तरिका, कुपोषण लगायतका विषयमा अनुसन्धानहरु भए । ‘समुदायमा आधारित स्वास्थ्य शिक्षाले बाल–मातृ मृत्युदर नियन्त्रणमा ल्याउन सकिने हाम्रो अनुसन्धान सन् २००४ मा प्रसिद्ध अन्तर्राष्ट्रि जर्नल ल्यान्सेटमा छापियो,’ उनले भने। 

तिनै अनुसन्धानका आधारमा अहिले विश्वका विभिन्न देशले कार्यक्रम अघि बढाएको उनी बताउँछन् । उनले भने, ‘उक्त मोडलमा काम गर्दा नेपालमा ३० प्रतिशत बाल–मातृ मृत्युदर घटेको थियो । तर, बंगलादेशमा सोही तरिक अपाउँदा ४५ प्रतिशतसम्म घटेको बताइएको छ । भारत, मालवी जस्ता देशले पनि यो अनुसन्धानलाई आधार बनाएर कार्यक्रम लागू गरेका छन् ।’ यसैगरी न्यून तौलको बच्चा जन्मिने विषयमा पनि उनको अगुवाइमा अनुसन्धान भएको छ। 

काठमाडौं, वसन्तपुर क्षेत्रमा १९९९ सालमा जन्मेका हुन् डा मानन्धर । उनका पिता घ्यु व्यापारी थिए । शान्ति निकुञ्ज विद्यालय पढ्दा उनी पनि व्यापारमा सघाउँथे । ‘बुवालाई पढ्नुपर्छ भन्ने चेतना थियो । उहाँ साक्षर हुनुहुन्थ्यो र टोलभरिका केटाकेटीलाई मकै खान दिएर पढाउनुहुन्थ्यो,’ आफूले औपचारिक शिक्षा पाउनुको प्रसंग उप्काए । 
उनका बुवाले सानै उमेरमा आमाबुवा गुमाएको हुनाले अरुको घरमा काम गरेर हुर्केका थिए । जीवनमा संघर्षका सबै रुप भोगेका उनी छोराहरुले दुःख नपाउन् भनेर पढाउन पठाइरहेका थिए । डा मानन्धर सानै हुँदा बुवा गुमाए पनि उनकी आमाले पारिवारिक अवस्था धरमराउन दिइनन् । उनका दाजुहरुले व्यवहार सम्हाल्दै गए । जेठा दाजुले व्यापार सम्हाले भने माइला दाजुले इन्जिनियरिङ पढे।

उनलाई बिचैमा पढाइ नरोक्न दाइहरुले सम्झाइरहन्थे । शान्ति निकुञ्जबाट एसएलसी पास गरेपछि उनले त्रिचन्द्र कलेजमा आइएससी पढे । सन् १९६५ मा उनले कोलेम्बो प्लान अन्तर्गत नाम निकालेर एमबिबिएस पढ्ने मौका पाए । उनी भन्छन्, ‘त्यो वर्ष कोलोम्बो प्लान बढाएर १५ सिट पुगेको थियो । आफ्नो भनसुन गर्ने मान्छे नभए पनि मैले अवसर पाएँ ।’ भारतको केरालामा रहेको सरकारी मेडिकल कलेजबाट सन् १९६५ मा उनले एमबिबिएस पूरा गरेका हुन्। 

सुरुमै उत्तरी नाका
पढाइ सकिएपछि उनी नेपाल फर्किए । सरकारी बाहेकमा अवसर नहुने त्यो समय उनले दुई महिना जागिर पाएनन् । खाली समयमा वीर अस्पतालमा स्वयंसेवकका रुपमा काम गरे । जब सरकारले उनलाई सेवामा लियो, सुरुमै उनी उत्तरी नाका मुस्ताङ जानुपर्ने भयो । काठमाडौं छाडेर कहीँ नपुगेका उनी पुसको जाडोमा मुस्ताङरित लागे  । 
मुस्ताङका लागि उनी पहिलो डाक्टर थिए । उनीसँगै नेपाल सरकारको एउटा टोली नै मुस्ताङ पुगेको थियो । ‘खम्पा विद्रोहीले तिब्बतमा आक्रमण गर्नका लागि मुस्ताङमा सेल्टर बनाएका थिए । चिनले नेपाल भूमिबाट चिनविरोधी गतिविधि हुन नदिन अनुरोध गरेपछि तत्कालीन श्री ५ को सरकारले आर्मीका मेजरको नेतृत्वमा एउटा टोली मुस्ताङ पठाएको थियो,’ उनले सम्झिए।

भर्खरै एमबिबिएस पास गरेका युवा डा मानन्धर त्यसलाई अवसरकै रुपमा लिएर मुस्ताङ पुगे । उनी पुग्नुअघि मुस्ताङमा कुनै डाक्टर नपुगेकाले स्वास्थ्य सेवाका लागि पूर्वाधार वा उपकरण हुने कुरै भएन । उनी आफूले पाएको बजेटबाट केही औषधि र सामान्य उपकरण लिएर हिँडेका थिए । मोटरबाटो नपुगेको त्यसबेला पोखराबाट ८ दिन हिँडेर उनको टोली मुस्ताङ पुगेको थियो।

‘उपकरण बिनाको डाक्टर युद्ध मैदानमा हतियार बिनाको सिपाही जस्तो हुन्छ । सुत्केरी हुन नसकेर शल्यक्रिया गर्नुपर्ने महिलालाई न रिफर गर्न सकिन्थ्यो न बचाउने कुनै तरिका थियो । यसले मलाई निकै पोल्यो,’ उनले भने, ‘पछि मैले स्वास्थ्य सेवा विभागमा घटना विवरणसहित सुझाव दिएको थिएँ ।’

नेपालगञ्जमा १० वर्ष
एक वर्ष मुस्ताङ बसेपछि उनलाई भेरी अञ्चल अस्पताल, नेपालगञ्ज सरुवा गरियो । चिसो ठाउँबाट गर्मीमा सरुवा हुँदा उनलाई ‘एडजस्ट’ हुन हम्मेहम्मे प¥यो । ‘त्यसबेला नेपालगञ्जमा नियमित बिजुली आउँदैनथ्यो । त्यसमाथि लामखुट्टेको जोखिम उस्तै,’ उनले नेपालगञ्ज बस्दाका दिन सम्झिए, ‘बस्दै जाँदा बानी प¥यो । म त्यहाँ ५ वर्ष बसें ।’ स्थानीयको माया र भरोसाले उनलाई त्यहाँ लामो समय बस्न सहज बनाइदिएको थियो।

‘दुर्गम मुस्ताङ र उपत्यका बाहिर बसिरहेको डाक्टर भएकाले एमआरसिपी (विशेषज्ञता) गर्न पाउने हल्ला चलेको थियो । तर, भनसुन गर्ने कोही नहुँदा बेलायतमा डिसिएम (डिप्लोमा इन चाइल्ड हेल्थ) मात्रै गर्न पाएँ । त्यो जम्मा ९ महिनाको कोर्स थियो ।’ उनले भने । बेलायत पुगेपछि उनले एमआरसिपी नगरी नफर्किने निधो गरे । त्यहीँ काम गर्दै आफ्नै तरिकाले एमआरसिपी गरे । एमआरसिपी गरेको केही दिनमै नेपालबाट सरकारले उनलाई फिर्ता हुनुपर्ने आशयको पत्र पठायो । उनले सोचेका थिए, १–२ वर्ष अनुभव हासिल गरेर मात्र फर्किने । ‘साथीहरुले नेपालको वातावरण खासै सुध्रिएको छैन नफर्की भनिरहेका थिए,’ उनले भने, ‘तर सरकारले फिर्ता आउनू भनेपछि नाइनास्ती गरिनँ।’

बेलायतबाट फर्केर उनी पुनः नेपालगञ्ज नै पुगे । त्यहाँ थप ५ वर्ष काम गरेपछि उनको विराटनगर सरुवा भयो । काठमाडौंका स्थानीयबासी डा मानन्धरले १५ वर्ष काठमाडौं बाहिरै बिताउनुप¥यो । यो कुराले उनलाई एकखालको असन्तुष्टि पैदा भइरहेको थियो । त्यही समयमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले ‘चाइल्ड हेल्थ’ विभागका लागि कन्सल्ट्यान्ड रिडरको भ्याकेन्सी खोल्यो । अध्यापनतिर पनि लाग्न पाइने र काठमाडौं बस्ने पाइने भएकाले उनले आवेदन दिए र छानिए । तर, डा मानन्धरले त्यहाँ एक वर्षमात्रै काम गरे । 
‘राजनीतिक गतिविधिका कारण विद्यार्थीहरु विद्रोही स्वभावका थिए,’ उनले आइओएम छोड्नुको घटना बारे सुनाए, ‘डा हेमाङ्ग दीक्षित डिन हुनुहुन्थ्यो । एकदिन उहाँलाई भेट्न डिन कार्यालय जाँदै थिएँ । उहाँलाई अनमीहरुले घेरेर नाराबाजी गरिरहेको देखें । मलाई असहज महसुस भयो । म यसरी पढाउन सक्दिन जस्तो लाग्यो।’

आइओएममा हुँदाताका उनले बेलायतमा विश्व स्वास्थ्य संगठनको एक विशेष तालिममा जाने अवसर पाएका थिए । त्यहीँ भेटिएका उनका एक जना साथी कुवेतमा काम गर्थे । ‘उनलाई सोधें, कुवेतमा कस्तो छ हाम्रा लागि अवसर ? भनेर,’ डा मानन्धरले भने, ‘कुवेतमा चारवटा ठूला अस्पताल बनिरहेकाले अवसर छ भनेर साथीले हौस्याएपछि म साढे १५ वर्षको सरकारी सेवापछि कुवेततर्फ हिँडेको थिएँ।’ 

कुवेतबाट फर्किएपछि नै उनले नेपाल मेडिकल कलेजमा बालारोग विभागको प्रमुखका रुपमा ८ महिना काम गरे । त्यसपछि सन् २००० बाट काठमाडौं मेडिकल कलेज (केएमसी) को बालरोग विभाग प्रमुख भए । आफू र डा एमआर बराल मिलेर केएमसीमा बालरोग विभाग स्थापना गरेको उनी बताउँछन् । १४ वर्ष त्यहाँ काम गरेपछि उनले सन् २०१४ मा प्राध्यापन पेशाबाट पनि बिदा लिए। 

स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका लागि डा मानन्धरले महेन्द्र विद्याभूषण १९७४, नेपाल हेल्थ रिसर्च काउन्सिलबाट आउटस्ट्यान्डिङ रिसर्चर अवार्ड २००३, नेसनल साइन्स एन्ड टेक्नोलोजी अवार्ड र एसिया प्यासिफिक पेडियाट्रिक एसोसिएनसबाट आउटस्ट्यान्डिङ पेडियाट्रिसियन अवार्ड २०१६ प्राप्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने