डक्टर्स आर्टिकल

हेड इन्जुरीका ६ प्रमुख कारण र घटाउने उपाय


काठमाडौं-

सडक दुर्घटना र अन्य दुर्घटनामा परी ‘हेड इन्जुरी’ भएर मृत्यु हुनेहरु धेरै हुन्छन्। दुर्घटना वा लडेर टाउकोमा चोट लागेपछि दिमागमा समस्या हुने प्रक्रियालाई हेड इन्जुरी भनिन्छ। 

विकसित देशमा भन्दा एसियाली देशमा टाउकोमा चोट लागेर मृत्यु हुने सम्भावना ज्यादा छ। 

कतिपय अवस्थामा बचाउन सकिने घाइते बिरामीको पनि समयमै विशेषज्ञ उपचार नपाएर ज्यान जाने गरेका घटना प्रसस्त छन्। बाँचेका पनि विकलाङ्ग भएका धेरै छन्। 

चाडबाड, विवाह, भोजभतेर आदिको समयमा मदिरा सेवन गरी सवारीसाधन चलाउने कारणले धेरै दुर्घटना हुनेगर्छन्। जसले गर्दा हेड इन्जुरीका बिरामी त्यसबेला धेरै हुन्छन्। काठमाडौं उपत्यकामा मापसे चेकिङका कारण दुर्घटना घटेसँगै हेड इन्जुरीको बिरामी पनि घटेका छन्। तर, उपत्यका बाहिर कडा रुपमा मापसे चेकिङ नहुँदा दुर्घटना हुने र हेड इन्जुरीको समस्या बढ्ने गरेको छ। तर, उपत्यका बाहिर विशेषज्ञ चिकित्सक कम हुने भएकाले बिरामी जोखिममा पर्ने गर्छन्।

विदेशमा सवारी साधनको गति तीव्र भएर दुर्घटना हुन्छ तर नेपालमा गति कम भए पनि दुर्घटना हुने र ज्यान गुमाउने धेरै छन्। निधन भएका मध्ये पनि धेरै युवा छन्। बढी जोखिम मोल्ने, मापासे गरी सवारी तीव्र गतिमा चलाउने, बढी दौडधुप गर्ने कारणले युवाले ज्यान गुमाइरहेका छन्। 

रोक्न र बचाउन सकिने हेड इन्जुरीबारे चर्चा र नियन्त्रणका गतिविधि अघि बढाउन ढिलाइ भइसकेको छ। 

हेड इन्जुरीका घटना गराउने दुर्घटना बढ्नुका कारण यस्ता छन्ः

– सडकको अवस्था कमजोर छ,
– सवारीसाधनको अवस्था पनि कमजोर,  
– मदिरा सेवन गरी सवारी चलाउनु,
– लामो यात्रामा एउटै चालकले गाडी चलाउनु, 
– क्षमताभन्दा बढी यात्रु बोक्नु,
– तीव्र गतिमा सवारी चलाउनु, आदि।

सवारी दुर्घटनाबाहेक ग्रामीण क्षेत्रमा भीरबाट लडेर, रुखबाट लडेर पनि हेड इन्जुरी, स्पाइनल इन्जुरी भएका बिरामी धेरै आउँछन्। यस्ता दुर्घटनामा निधन हुने महिलाको संख्या धेरै छ। 

एक त हाम्रो सडकको अवस्था खस्किएको छ, त्यसमाथि पुराना बिग्रिएका सवारी साधन धराप थापेजस्ता सडकमा नियमित स्वास्थ्य जाँच नगरिएका चालकहरुले बढी यात्रु बोकेर चलाउँछन्। यसले दुुर्घटनाको जोखिम निकै बढाएको छ।

त्यसैले चालकको स्वास्थ्यवस्था नियमित जाँच गर्नु आवश्यक छ। सके ६ महिनामा नसके वर्षमा एकपटक चालकको नियमित स्वास्थ्य जाँच हुनैपर्छ।

मकहाँ घाइते भएर आएका कतिपय चालक वा नियमित जाँचमा आएका चालकमध्ये केहीलाई छारेरोग भएको पाएको छु। अब अनुमान गर्नुस् ड्राइभिङ गर्दागर्दै चालकलाई छारेरोग बल्झियो भने के होला? 

सडक दुर्घटनामा घाइते भएर ज्यान गुमाएका मध्ये करिब ४० प्रतिशतको  मृत्यको कारण टाउकोको चोट हुने गरेको छ। 

टाउको र ढाड (मेरुदण्ड) मा चोट लागेका घाइतेको मृत्यु हुने सम्भावना धेरै हुन्छ। यदि, बाँचेमा विकलांग भएर हातखुट्टा नचल्ने, कसैको बोली नआउने, पक्षघात हुने हुन्छ। शरीरको अन्य भागमा चोट लागेको छ भने कि त बिरामीको मृत्यु हुन्छ कि निको भएर सामान्य अवस्थामा फर्कन्छ। 

हामीले सडक दुर्घटनाबारे प्रभावकारी र व्यवस्थित कदम चाल्न सरकार, सरोकारवाला, न्युरो चिकित्सक, स्वास्थ्य, गृह, यातायात मन्त्रालय, सञ्चार माध्यमले मिलेर काम गर्नुपर्छ। 
सरकारको प्रभावकारी काम मापसे जस्तै काठमाडौं बाहिर, दुर्गम ठाउँमा पनि दुर्घटना रोक्ने अन्य प्रभावकारी कदम चाल्न आवश्यक छ। 

सडक दुर्घटना रोक्ने कामसँगै दुर्घटनामा परी घाइते भएकाहरुको तत्काल उद्धार गरी सक्दो चाँडो अस्पताल पुर्याउने व्यवस्था पनि गर्नुपर्छ। यदि दुर्घटनामा परेका घाइतेलाई यथासक्य चाँडो स्वास्थ्य संस्था पुर्याउन सकियो भने हेड इन्जुरीबाट अहिले भइरहेको मृत्यु संख्यालाई धेरै हदसम्म रोक्न सकिन्छ। 

विदेशमा टाउकोमा चोटपटक लागेका १ सय जनामा ६ जनाको मृत्यु हुन्छ भने नेपालजस्ता देशमा त्यो संख्या १ सयमा ३६ छ।

एक त कडा चोट लाग्छ, उद्धार निकै ढिलो हुन्छ, अनि हामीकहाँ न्युरो चिकित्सक उपलब्ध भएका अस्पताल टाढा अझ भनौं काठमाडौंमा मात्र उपलब्ध छन्। बिरामी ल्याइपुर्याउँसम्म निकै ढिलो भइसक्छ र बचाउन सकिने अवस्था कम हुन्छ।

टाउकोको बिरामीको उपचार गर्न सोचेजस्तो धेरै गाह्रो छैन, तर विशेषज्ञ चिकित्सकको कमी, भौगोलिक, समाजिक, आर्थिक लगायत कारणले हामीले धेरैलाई बचाउन सकिरहेका छैनौं। 

त्यसैले काठमाडौं केन्द्रित न्युरो विशेषज्ञ सेवालाई विकेन्द्रितकरण गर्नुपर्छ। सरकारले सबै प्रदेशमा भौतिक पूर्वाधार भएका सुविधासम्पन्न अस्पताल बनाउनुपर्छ।  

सरकारले भौतिक पूर्वाधार र सेवा–सुविधा व्यवस्था गरी राजधानी बाहिर न्युरोको उपचार सेवा विस्तार गरे न्युरो विशेषज्ञ चिकित्सकलाई त्यहाँ जान सक्ने वातावरण बन्छ। अहिले पनि २३ जना न्युरो सर्जन राजधानी बाहिर छन्। 

तर, सरकारले त्यो वातावरण बनाउनुपर्यो। सरकारले हेड इन्जुरी भएका बिरामीलाई उपचार बापत दिने १ लाख रुपैयाँ बराबरको सहयोग न्युरो सर्जन कार्यरत अस्पतालहरुमा विस्तार गर्नु आवश्यक छ। 

(वरिष्ठ न्युरोसर्जन डा शर्मा आइओएम शिक्षण अस्पतालमा कार्यरत छन्)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने