डक्टर्स आर्टिकल

डिप्रेसनका कारण, लक्षण र समाधानका उपाय

None

मनोरोग भनेको मनको रोग हो । जब हामीमाथि तनाव हावी भई त्यसले हाम्रो दैनिकीलाई असर पार्छ भने त्यो मनोरोग हो।

सामान्य तनाव सबैलाई हुन्छ । तनाव नहुने मानिस हँुदैन । तर, त्यही तनाव बढी हुनु भनेको रोग हो । कहिले विभिन्न कारणले मनोरोग हुनेगर्छ भने कहिलेकाहीँ बिनाकारण निराशापन छाउँछ । 
अझै पनि हाम्रो समाजमा तनाव वा निराशापन देखिएमा मानसिक रोगकै संज्ञा दिने गरिन्छ । तर, त्यसो होइन।

डिप्रेसन कम कडा खालको मानसिक रोग हो । हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ । तर, कहिलेकाँही विशेष कारणले मन दुःखी भयो र त्यही दुःखको अवस्था लामो समयसम्म रहिरह्यो भने त्यसलाई डिप्रेसन भनिन्छ।

मन दुःखी, उदास भयो भने केही समयमा सामान्य अवस्थामा फर्किहाल्छ । तर मन सामान्य रुपमा फर्किएन अनि दुई हप्तासम्म उदासी कायम रह्यो र अरु लक्ष्यण पनि देखिए भने डिप्रेसन भएको हुन सक्छ।

किन हुन्छ डिप्रेसन?

शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । हामीभित्र खुसी वा दुखी बनाउने ‘न्युरो ट्रान्समिट्स’ हुन्छ । मस्तिष्कमा पाइने ‘सेरोटोनिन’, ‘इपिनैफरिन’, ‘नौरडपिनैफरिन’, ‘डोपामिन’ जस्ता विभिन्न रसायनको कमीले गर्दा डिप्रेसनको अवस्था आउन सक्छ । ती रसायनहरुले हामीभित्रको भावना सन्तुलनमा राखेको हुन्छ । यिनै तत्वको कमी भयो वा तलमाथि भयो भने धेरै दुःख लाग्ने वा अत्याधिक खुसी हुने, मनमा निराशा छाउने, निद्रा नलाग्ने, चाहिनेभन्दा बढी जाँगर लाग्ने वा हराउने जस्ता व्यवहार देखिन थाल्छ। यो अवस्थालाई डिप्रेसन भएको मानिन्छ। 

कसलाई बढी हुन्छ

डिप्रेसन हुन कुनै उमेर समूह भन्ने हुँदैन तर बढी युवा र महिलामा यो समस्या देखिन्छ । त्यसो त बालबालिका तथा प्रौढ मानिस पनि डिप्रेसनको सिकार हुने गर्छन् । अस्पतालमा अधिकांश महिला पारिवारिक समस्याले तनाव भएर आएको पाइन्छ । डिप्रेसनको समस्या लिएर मकहाँ आउनेमध्ये २५ देखि ४५ वर्ष उमेरका महिला–पुरुष अधिक छन्।

बच्चालाई पनि हुन्छ डिप्रेसन

बच्चालाई मनोरोग भएमा उनीहरु स्कुल जान नमान्ने, गृहकार्य नगर्ने, नखेल्ने, धेरै चकचक र झगडा गर्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता लक्षण देखिन्छ।

बच्चाले उमेर अनुसार सोच्ने कुरा सोच्न नसक्नु, धेरै रिसाउनु, उमेर अनुसार मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको व्यवहार देखाउनु बाल मनोरोगका लक्षण हुन्।

बाल मनोरोगका लक्षण फरक–फरक हुन्छन् । उमेर अनुसार आफ्नो क्षमताले काम गर्न नसक्ने, आवश्यकभन्दा धेरै खुसी वा दुखी हुने, धेरै रिसाउने, एउटै कुरालाई पटकपटक दोहो¥याइरहने, खेल्न मन नगर्ने, एक्लै बस्छ रुचाउने जस्ता गतिविधिलाई बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ।

यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । अभिभावकलाई डिप्रेसन छ भने र स्कुलमा पनि बालमैत्री व्यवहार गरिँदैन भने बालबालिकामा मनोरोगको समस्या देखिने गर्छ।

पारिवारिक अनबनले तनाव बढाउन सक्छ । तर, पहिलेभन्दा समय फेरिएको छ । आफूमा केही फरकपन आएमा मनोचिकित्सककहाँ परामर्श लिन आउनेहरुको संख्या बढेको छ । आफ्ना बच्चामा केही फरक व्यवहार देखेमा पनि सल्लाह लिन आउने परम्पराको विकास भइरहेको छ । तर, हामीकहाँ आउने सबै बिरामी नै भएका हुँदैनन् । आएकामध्ये केहीलाई मात्र औषधि चलाउनुपर्छ।

डिप्रेसनका प्रमुख लक्षण

उदासिनता, 
इच्छाशक्तिको अभाव 
शारीरिक कमजोरी
ध्यानको कमी
कमजोर आत्मविश्वास 
हीनताबोध 
पश्चाताप 
निन्द्रा नलाग्ने 
बोल्न मन नलाग्ने 
मन खुसी नहुने 
पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो पछि त्यो नहुने 
टाउको दुख्ने
मुटु काम्ने 
एक्लै बसेर रुन मन लाग्ने 
खानामा अरुची हुने, आदि । 
उपचार गरे निको हुन्छ 

डिप्रेसन भई तनाव देखिन थालेको छ भने पनि त्यो बिस्तारै घट्दै जानुपर्छ, बढ्दै गयो भने समस्या हो ।

डिप्रेसन भइसकेपछि समयमै उपचार गरियो भने निको हुन्छ । उपचार नगरी बस्यो भने लक्षण बढ्दै–बढ्दै जान्छ र जटिल बन्छ । आत्महत्या गर्ने सोचाइ आउन थाल्छ । दैनिक जीवनमा असर पर्छ । सामाजिक, आर्थिक, पारिवारिक र व्यावसायिक जीवनमा असर पर्छ । त्यसैले समयमै उपचार गरेर निको हुनेतर्फ लाग्नुपर्छ । 

औषधि नियमित र पूरा डोज खानुपर्छ 

कसैलाई मनोरोग भयो भने त्यो मानसिक रोग नै हो भन्ने सोच बदल्नुपर्छ । डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ भन्ने गलत सोच छ । त्यस्तो होइन । केही समय औषधि खाएपछि यो रोग कम हुँदै जान्छ र औषधि लिइरहनुपर्दैन । तर, सही ठाउँमा सही उपचार हुनुपर्छ । हामीले औषधि र  परामर्श (साइको थेरापी) पद्दतिबाट बिरामीको उपचार गर्छौं।

परिवारमा कसैलाई मनारोग भयो र औषधि खानुपर्ने छ वा खाइरहेको छ भने पूरा मात्रामा औषधि खानुपर्छ । औषधिले माथि भनेका रसायन तत्वको सन्तुलन मिलाएर नै तनाव कम गर्न सहयोग पुग्छ।
मनोरोग लागेको व्यक्तिलाई घरमा मानिसले चाहिनेभन्दा बढी ख्याल गर्छन् । ख्याल गर्नु राम्रो हो, तर त्यो पनि बढी भयो भने अर्को तनाव थपिन सक्छ।

तिमी बिरामी छाँैं, यस्तो गर उस्तो नगर, यो खाऊ, यो नखाऊ भनेर बढी ‘टर्चर’ भयो भने पनि बिरामीलाई उल्टो असर पर्न सक्छ ।

कतिपय परिवारका सदस्यले बिरामीलाई निको भयो अब किन खानुप¥यो भनेर बिचैमा औषधि छुटाइदिन्छन् । त्यो अझ गलत कुरा हो । कहिल्यै पनि औषधि बीचमै छोड्नुहुन्न । पूरा मात्रामा औषधि खानुपर्छ। बिरामीलाई सम्झाउने मात्र भन्दा उसले के भन्न खोजेको छ भनेर उसका कुरा ध्यान दिएर सुन्ने, बुझ्ने प्रयास गर्नुपर्छ ।

मनोरोग विशेषज्ञकहाँ आउनेहरुको पहिलो समस्या नै निद्रा लाग्दैन भन्ने हुन्छ । हामीले परामर्शका लागि आएका व्यक्तिलाई समय दिएर उनको र परिवारको सम्पूर्ण पृष्ठभूमि सोध्ने गर्छौं ।
मनो परार्मश (साइको थेरापी) ले मात्र पनि बिरामीको उपचार गर्न सकिन्छ । मानिसको नकारात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्ने कुरा सिकाइन्छ । यसका विभिन्न तरिका हुन्छन् ।

डिप्रेसनबारे जनचेतना जरुरी 

निद्रा नलाग्दैमा डिप्रेसन भयो भन्ने हुँदैन । त्यसैगरी, डिप्रेसनमा जानासाथ ‘पागल भायो’ भनेर बुझ्नु हुँदैन । १५ दिनभन्दा बढी समयदेखि निद्रा लागेको छैन, जाँगर लाग्दैन, खान–बस्न वा अन्य केही कुरामा मन जाँदैन, निराशा बढ्दै जान्छ, आत्महत्या गर्न मन लाग्छ भने यो मनोरोग हो कि भनेर चिकित्सकले शंका गर्छन् । त्यसैले डिप्रेसनबारे जनचेतना हुनु जरुरी छ ।
मनारोगीका लागि परिवार र आफन्तले प्रेरणदायी भूमिका खेल्नुपर्छ । जसले बिरामीमा सकारात्मक सोचसँगै आत्मविश्वास विकास होस् । 

(डा जस्मिन मा नर्भिक अस्पतालकी मनो विशेषज्ञ हुन्)

प्रस्तुतिः सिर्जना खत्री                                                                                                                

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने