रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । नयाँ वर्ष भित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भइरहेको अस्पतालले जनाएको छ।
रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन (उत्पादन) गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानका लागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र अब चाँडै नै जडानका लागि कम्पनीमा जानकारी गराउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले बताए।
रोटरी क्लव अफ बुटवलको २३ लाख रुपैयाँ तथा रोटरी फाउन्डेशन र अन्तर्राष्ट्रिय क्लवहरुको सहयोगमा झण्डै ५० लाखको लागतमा उक्त मेसिन खरिद गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष राजेन्द्र लम्सालले वताए । आइसीयु, एनआइसियु, दम लगायत श्वासप्रस्वासका बिरामीलाई अक्सिजन अनिवार्य छ।
लुम्बिनी अञ्चल अस्पतालमा अहिले दैनिक सरदर २५ सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । अव उक्त अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ४० देखि ४५ सिलिन्डर अक्सिजन उत्पादन हुने लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले वताए । एउटा सिलिन्डरलाई सरदर ५ सय रुपैयाँ पर्छ । तर लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराउने बिरामीलाई अस्पतालले अक्सिजन निःशुल्क गरेको छ । अस्पतालका सूचना अधिकृत रेग्मीले अक्सिजन खरिदका लागि वार्षिक ४० लाख बढी खर्चिनु परेको छ।
अक्सिजन मेसिन जडान भएपछि बिद्युत, कर्मचारी लगायतमा ५÷७ लाख खर्च भएपनि अक्सिजन खरिदमा खर्च हुने करिव ३५ लाख रुपैयाँ वचत हुने उनले बताए । उक्त मेसिनको क्षमता अनुसार अक्सिजन उत्पादन गर्ने हो भने फिलिङ (सिलिन्डरमा भर्ने) मेसिन आवश्यक पर्छ । मेसिन अस्पतालसंग छैन । जसका कारण तत्काल क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न भने सकिने देखिदैन । अस्पतालले फिलिङ मेसिन व्यबस्थापनकालागि स्थानीय, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरेको मेसु खनालले बताए।