रसुवा- रसुवाका स्वास्थ्य संस्थामा अनलाइन रिपोर्टिङ प्रभावकारी बन्दै गएको छ। स्वास्थ्य संस्थाले सञ्चालन गर्ने विभिन्न गतिविधि कार्यालयमा नै बसेर अध्यावधिक गर्नका लागि सुरु गरिएको अनलाइन रिर्पोटिङ प्रभावकारी देखिएको हो।
'स्वास्थ्य संस्थाले सञ्चालन गर्ने गतिविधिलाई सहज तरिकाले गुणस्तरिय र प्रभावकारी बनाउन अनलाइन रिपोर्टिङ सिस्टम सुरु गरेका हौं,' जिल्ला स्वास्थ्य प्रमुख डा गुगानिधि शर्माले भने, 'इन्टरनेट जडान गरिएका जिल्ला अस्पताल, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइले कार्यालयमा नै बसेर अनलाइन रिपोर्टिङ गरिरहेका छन्।'
अनलाइन रिपोर्टिङ एकैदिन हुने, छिटो छरितो हुने र गुणस्तरीय तथा विश्वसनीय हुँदै गएको जिल्ला स्वास्थ्य प्रमुख शर्माले बताए।
मासिक प्रतिवेदन कार्यालयबाटै अनलाइनमा अध्यावधिक गर्न सकिने भएपछि सदरमुकाम जानुपर्ने बाध्यता हटेको गोल्जुङ स्वास्थ्य चौकीका प्रमुख रुपलाल ढकाल बताउँछन्। 'पहिला त मासिक प्रतिवेदन लिएर सदरमुकामसम्म जानुपर्थ्यो,' उनले भने, 'धेरै समस्या हुन्थ्यो, अहिले त कार्यालयमै बसेर प्रतिवेदन पठाइराखेका छौँ।'
जिल्लामा रहेका २२ वटा स्वास्थ्य संस्थामध्ये १६ वटामा मात्र इन्टरनेट जोडिएको छ । इन्टरनेटको पहुँच पुगेका स्थानका स्वास्थ्य संस्थाले गत साउनदेखि अनलाइन रिर्पोटिङ सुरु गरेका हुन्।
इन्टरनेट नपुगेको केही संस्था संस्थाले मोबाइल डाटाको प्रयोग गरेर अनलाइन रिर्पोटिङ गरिरहेका छन्।
नौकुण्ड गाउँपालिकामा रहेको यार्सा स्वास्थ्य चौकी र लाङ्बु सामुदायिक संस्था इकाइले मोबाइल डाटाको प्रयोग गरेर तथ्यांक अध्यावधिक गरिरहेका छन्। यार्सा स्वास्थ्य चौकीका सिनियर अहेब जाहिर आलामले भने कार्यालयमा इन्टरनेट नभए पनि मोबाइल डाटाको प्रयोग गरेर मासिक प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालयलाई पठाइराखेको बताए।
'अनलाइन सिस्टम सुरु भएसँगै हामीलाई धेरै सहज भएको छ,' उनले भने, 'अहिले फाइल बोकेर सदरमुकामसम्म जानुपरेको छैन।'
जिल्लामा जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्र, डाँडागाउँ स्वास्थ्य चौकी, थुमन स्वास्थ्य चौकी, स्याफ्रुबेसी स्वास्थ्य चौकी र गोल्जुङ स्वास्थ्य चौकीले साउनदेखि अनलाइन रिपोर्टिङ सुरु गरेका थिए। अन्य स्वास्थ्य संस्थामा भने असोजपछि सुरु भएको हो। यसअघि सदरमुकाम धुन्चेबाट टाढा रहेको गाउँबाट मासिक प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालयसम्म ल्याउन समस्या रहेको थियो।
जिल्लाको हरेक संस्थामा इन्टरनेट जडान भएसँगै स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन सिधै स्वास्थ्य सेवा विभाग, केन्द्रीय व्यवस्थापन महाशाखामा बुझाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।
इन्टरनेटको अभावमा भोर्ले, बृद्धिम र गत्लाङका स्वास्थ्य चौकीले अनलाइन रिपोर्टिङ सुरु गरेका छैनन्। अनलाइन रिपोर्टिङका लागि प्रत्येक स्वास्थ्य संस्थाका दुई जना कर्मचारीलाई तालिम प्रदान गरिएको थियो। पहिलो चरणमा २७ जना कर्मचारीले तालिम पाइसकेका छन् भने दोस्रो चरणको तालिम सञ्चालनका लागि तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।