अन्तर्वार्ता

क्यान्सर रोग: जीवनशैली व्यवस्थापनबारे बुझाउनु जरुरी छ


विश्वभर जनस्वास्थ्य समस्याको रुपमा रहेको क्यान्सरबाट प्रभावित हुनेहरुको संख्या नेपालमा पनि बढिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रतिवर्ष करिब १ करोड २० लाख क्यान्सरका नयाँ बिरामी देखिन्छन् र बर्सेनि करिब ७५ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि ६० प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । यो रोग सबै उमेरका मानिस र सबै खालका अंगमा लाग्न सक्छ । क्यान्सर कस्तो खालको रोग हो, यसका लक्षण कसरी थाहा पाउने र बच्ने उपाय के–के हुन् ? यसै विषयमा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

 क्यान्सर कस्तो खालको रोग हो ? 

यो नसर्ने रोग हो । मानिसको शरीर कयौँ प्रकारका कोशिका मिलेर बनेको हुन्छ । शरीरमा आउने परिवर्तनका कारण यी कोशिकाको वृद्धि हुन्छ । जब तिनीहरु अनियन्त्रित रुपमा बढ्छन् र पूरै शरीरमा फैलन्छन्, यसले शरीरका बाँकी भागलाई पनि बाधा उत्पन्न गर्छन् । जसले गर्दा ती भागमा कोशिका गाँठो वा ट्यूमर बन्ने गर्दछ । यस अवस्थालाई क्यान्सर भनिन्छ । यस्ता अनियन्त्रित रुपमा बढेका कोशिकालाई समयमैं उपचार गर्न सकिएन भने मृत्युको कारण बन्न सक्छ ।

क्यान्सर हुनुको कारण के हो ?

४० प्रतिशत क्यान्सर हाम्रो जीवनशैली र असन्तुलित खानपानकै कारण हुन्छ । १० प्रतिशत कारण वंशाणुगत हुन्छ । एक्स–रेबाट निस्कने विकिरण, घामबाट निस्कने परावैजनी किरण, संक्रमण (ह्युमन पापिलोमा भाइरस, एच पाइलोरी) आदिका कारण क्यान्सर हुने जोखिम रहन्छ । 

शरीरको कुनै भागमा भएको क्यान्सर अन्यत्र कसरी फैलन्छ ? 

क्यान्सर रगतको माध्यमबाट शरीरका बाँकी भागमा फैलिने गर्दछ । यस प्रक्रियालाई ‘मेटास्ट्रेसिस’ भनिन्छ । यसमा क्यान्सर कोष बढेर नयाँ ट्यूमर बन्ने गर्दछ ।  रगत वा नशाका माध्यमबाट हड्डी, कलेजो र दिमागमा फैलिने गर्दछ ।

नेपालमा कुन–कुन क्यान्सर बढी देखिएका छन् ?

करिब ४ वर्षअघिको एक तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी पुरुषमा फोक्सोको क्यान्सर (१७.२ प्रतिशत) देखिएको छ । त्यसपछि महिलामा पाठेघरको मुखको क्यान्सर १७ प्रतिशत, स्तन क्यान्सर १६.४ प्रतिशत, पेटको क्यान्सर ७.६ प्रतिशत र ठूलो आन्द्राको क्यान्सर ६.३ प्रतिशत देखिएको छ । ५० वर्ष नाघेका पुरुषमा बढी क्यान्सर भएको पाइन्छ । नेपालमा बर्सेनि करिब १० हजार क्यान्सरका नयाँ रोगी थपिने गरेका छन् । 

क्यान्सरसम्बन्धी सचेतना कत्तिको पाइन्छ नेपालमा ? 

हामीकहाँ अझै पनि धेरै बिरामी अन्तिम अवस्थामा आइपुग्छन् । पहिलो चरणमा आउने कम छन् । तर समयमै उपचारका लागि आउनेको संख्या पहिलेभन्दा भने बढेको छ । यसबाट के बुझ्न सकिन्छ भने हामीले क्यान्सरबारेको जनचेतना अझै प्रभावकारी रुपमा बढाउनुपर्छ जस्तो लाग्छ । हामीले जीवनशैली कसरी व्यवस्थित गर्ने भन्नेबारे जनतालाई बुझाउन आवश्यक छ ।

क्यान्सरबाट बच्न के गर्न सकिन्छ त ?

सबैभन्दा मुख्य कुरा हामीले जीवनशैली सन्तुलित, व्यवस्थित र सक्रिय बनाउनुपर्छ । धूमपान नगर्ने, खानपानमा हरियो सागपात, फलफूल खाने गर्नुपर्छ । बेलायतमा भएको क्यान्सरसम्बन्धि पछिल्लो अध्ययनले मोटोपना पनि क्यान्सरको गम्भीर कारक देखिएको छ । त्यसैले शरीरको तौललाई पनि व्यवस्थित गर्नुपर्छ । सकारात्मक सोचका साथ नियमित रुपमा स्वास्थ्य जाँच पनि जरुरी छ । महिलाले पाठेघर तथा स्तनको जाँच गर्नुपर्छ । 

सरकारले ८ प्रकारका कडा रोगमा दिने आर्थिक सहायतामा क्यान्सर पनि पर्छ । तर प्रक्रिया झन्झटिलो भएन र ?

पक्कै पनि सरकारले दिने एकलाख बराबरको सहयोगले बिरामीलाई केही भएपनि राहत पुग्छ । तर यसको प्राप्तिका लागि बिरामीले पूरा गर्नुपर्ने प्रक्रिया निकै संघर्षपूर्ण छ । उदाहरणका लागि हुम्ला,जुम्ला वा अझै विकट ठाउँबाट काठमाडौँ आएर जाँच गर्दा क्यान्सर रोग पत्ता लाग्यो भने सहायताका लागि पुनः गाउँ नै फर्कनुपर्छ । किनकि त्यहाँबाट कागजपत्र नल्याई सहायता पाइन्न । त्यसैले अस्पताल आएर रोग पत्ता लागेपछि सहायता दिने वातावरण अलि सहज बनाइनुपर्छ । क्यान्सरबारे जनचेतनाको कमी त छ नै, पहिचानगर्ने केन्द्र पनि कम छन् । अरुदेशमा जस्तो बीमा पनि नेपालमा छैन । अनि, नियमित रुपमा स्वास्थ्य जाँच गर्ने चलन नहुँदा पनि समस्या छ । 

क्यान्सरको उपचार भइसकेपछि मान्छेको आयु कतिसम्म हुन्छ ? निको भएको क्यान्सर पुन हुने खतरा हुन्छ कि हुँदैंन ? 

क्यान्सरको उपचारपछि लामो समय बाँचेका मानिस पनि छन् । रोगको सुरुमै  थाहा पाउने हो पूर्ण रुपमा निको हुन्छ । कहिलेकाहीँ उपचार गरेर निको पारे पनि फेरि फर्कने सम्भावना हुन्छ । त्यसैले हामीले बिरामीलाई नियमित फलोअपमा बोलाइरहन्छौँ ।

तपाईं पालियटिभ केयर अवार्ड प्राप्त गर्ने पहिलो दक्षिण एशियाली हुनुहुन्छ । क्यान्सर रोगमा यो केयरको कस्तो महत्व छ ? 

हामीले क्यान्सरमा शल्यक्रिया, केमोथेरापी, रेडियोलोजीलगायतका उपचार गर्छौ । तर क्यान्सरका बिरामीलाई त्यससँगैँ शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रुपमा सहयोग आवश्यक पर्छ । जसले बिरामीको मनोबल कायम राख्न सहयोग पुग्छ । मेडिकलसँगै यी सबै कुराहरु बिरामीले प्राप्त गर्न सके रोगसँग लड्ने क्षमता बढ्छ । त्यसैले पालियटिभ केयरको महत्व छ । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने