समाचार

बैतडीमा गर्भजाँच बारेमा एसएमएसबाटै जानकारी दिने

स्वास्थ्यखबर

बैतडी- मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ। 

बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत गर्भवतीको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिए। 

पाटन नगरपालिका, पुरचौडी नगरपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ भने अन्य स्थानीय तहमा पनि यो कार्यक्रम सञ्चालनको तयारी भएको छ। स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम इन्ट्री गर्नेबित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उनीहरुको नाम इन्ट्री हुने र गर्भवती महिलालाई चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ। सोही म्यासेजका आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले महिलालाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले बताए। 

आफूहरुले मोबाइलमार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीका महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिइन्। 
मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो कार्यक्रम सञ्चालन रहेका स्थानीय तहमा कार्यक्रम प्रभावकारीरुपमा जारी रहेको छ । मेडिक मोबाइल स्वास्थ्य सेवा कार्यक्रम नेपालमा सन् २०१३ मा बाग्लुङमा पाइलटिङकारुपमा शुरु गरिएको थियो । सन् २०१५ मा मात्र बाग्लुङ जिल्लाभित्र पूर्णरुपमा विस्तार गरी त्यसपश्चात् गोरखा, धादिङ, इलाम हुँदै यो वर्षदेखि बैतडीमा पनि शुरु गरेको हो। रासस

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live