समाचार

पाल्पा : स्वास्थ्य चौकीबाट सेवा नपाउँदा गर्भवतीलाई सास्ती

स्वास्थ्यखबर

रामपुर, पाल्पा - गाउँमै रहेको स्वास्थ्य चौकीबाट सेवा नपाउँदा गर्भवतीले सास्ती खेप्नुपरेको छ। 

रामपुर नगरपालिकाको डाँडाभेगमा अवस्थित दर्छा स्वास्थ्य चौकीबाट गर्भवती भएका महिलाले सेवा नपाउँदा घण्टौँ हिँडेर अन्यत्र जान बाध्य छन्। 

गर्भवती भएका बखत आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे गर्भ परीक्षण गर्न स्वास्थ्य चौकीमा पुगेका गर्भवतीलाई कर्मचारीले सिधै अन्यत्र अस्पतालमा जान सल्लाह दिने गरेको उनीहरु बताउँछन्। 

गाउँमै रहेको स्वास्थ्य चौकीबाट सेवा नपाएपछि तीन घण्टाको बाटो पैदल हिँडेर रामपुर अस्पतालमा जाने गरेको रामपुर नगरपालिका– ४ दर्छा मौलाथर बस्ने गर्भवती सिर्जना विकले बताइन्। उनी गर्भवती भएको आठ महिना भयो, अहिलेसम्म रामपुर अस्पतालमै पुगेर नियमित गर्भ परीक्षण गर्दै आएको विक बताउँछिन्।
‘घर नजिकै स्वास्थ्य चौकी छ । स्वास्थ्य चौकीको बाहिरपट्टी गर्भवती महिलाको स्वास्थ्य परीक्षण गरिन्छ भनेर लेखिएको छ तर यहाँ आउँदा स्वास्थ्यकर्मी आफैँले अन्यत्र जानुहोस् भन्नुहुन्छ’, उनले भने।

स्वास्थ्य स्वयम्सेविका मिठ्ठु मल्लले गाउँकै स्वास्थ्य चौकीबाट गर्भवती महिलाले सेवा लिन नपाउँदा निकै दुःख लागेको बताइन्। ‘गाउँगाउँमा पुगेर नियमित गर्भ परीक्षणबारे जनचेतना फैलाउँदै हिँड्छुु तर आफ्नै गाउँकै स्वास्थ्य चौकीले सेवा दिन नसक्दा निकै चिन्ता लागेको छ’, मल्लले भनिन्।

स्वास्थ्य चौकीमा गर्भ परीक्षण गर्न आउँदा कर्मचारीले नै यहाँ परीक्षण गर्ने कुनै पनि साधन छैन, रामपुर अस्पतालमा जानुहोस् त्यहाँ राम्रो छ भनेर पठाउने गरेको श्याममाया थापा बताउँछिन्। सोही ठाउँकै माया रानालाई पनि बच्चा बसेपछि परीक्षण गर्न जाँदा स्वाथ्यकर्मीले यहाँ गर्भ परीक्षण गरिँदैन, अन्यत्र जान भनेपछि उनी पनि रामपुर अस्पतालमै पुगेकी थिइन्।

दरबन्दीअनुसार कर्मचारी नहुनु, गर्भ परीक्षण गर्ने साधन स्रोत नहुँदा यहाँ आएका गर्भवतीलाई रामपुर अस्पतालमा पठाउन बाध्य रहेको दर्छा स्वास्थ्य चौकीका प्रमुख रामकिशोर राय बताउँछन्। ‘दरबन्दीको अभाव, स्रोत साधनको अभावमा तोकिएअनुसारका सेवासुविधा दिन नसक्दा गाउँका जनताले निकै सास्ती भोग्नुपरेको छ’, उनले भने।

नियमितरुपमा गर्भ परीक्षणकै लागि घण्टौँ समय खर्चिएर उकालो ओरालो गर्दै रामपुर अस्पतालसम्म पुग्न यहाँका महिलालाई निकै कठिन छ । यो विषयमा पटकपटक स्थानीयवासीले आवाज उठाए पनि सम्बन्धित निकायको सुनुवाइ नहुँदा गाउँका जनता मारमा परिरहेका छन्। रासस

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live