डक्टर्स आर्टिकल

एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम देखियो? स्क्रब टाइफस हुन सक्छ


काठमाडौं-

एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम (एइएस) देखिने बित्तिकै धेरै स्वास्थ्यकर्मी जापानिज इन्सेफ्लाइटिस शंका गरी त्यसै अनुरुप जाँच पड्तालतिर लाग्ने गर्छन्। यो गलत पनि छैन। तर, केही वर्षयता नेपाल सरकारले जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप खासगरी उच्च जोखिमका स्थानहरुमा दिन थालिसकेको छ।

तत् पश्चातको अध्यनले नेपालमा जापानिज इन्सेफ्लाइटिसको जोखिम धेरै हदसम्म कम भएको देखाएको थियो र हाल पनि यो खोपले निरन्तरता पाइरहेको छ। तर, नेपालमा गरेका केही अनुसन्धानले एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोमका बिरामी देखिने क्रम यथावत् रहेको र त्यसमा जापानिज इन्सेफ्लाइटिसका बिरामी ५ प्रतिशतभन्दा पनि कम हुने गरेको देखाएको छ। तर, हाल चिकित्सक र अनुसन्धानकर्ताहरुले एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोमका अरु कारण भने पत्ता लगाउने गरेको देखिँदैन।

हालै छिमेकी देश भारतमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम गराउनुको प्रमुख कारणमा स्क्रब टाइफस भएको अनुसन्धान लेखमा प्रकाशित गरेको छ। स्क्रब टाइफसको जटिलतामा स्नायु प्रणालीमा समस्या आउँछ भने पनि यसको तथ्यांक खासै थिएन र ठूलो संख्यामा यसप्रकारको जटिलता देखिनु अप्रत्यासित मान्नुपर्छ। 

भारतमा देखिएकाले यसप्रकारको जटिलता नेपालमा पनि हुन सक्ने अनुमान गर्न सकिन्छ। वास्तवमा गत साल टेकु अस्पतालका बाल रोग विषेशज्ञ डा सुमित अग्रवालका अनुसार स्क्रब टाइफस संक्रमित नेपाली बालबालिकामा पनि एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। २० प्रतिशत संक्रमितमा स्नायु जटिलता देखिएको थियो। यो नै शायद नेपालमा स्क्रब टाइफस संक्रमणका कारण एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको पहिलो रिपोर्ट हुनुपर्छ। 

एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम भन्नाले अचानक उच्च ज्वरोका साथै होस गुमाउनु, बर्बराउनु, ठिक पहिचान गर्न नसक्नु र मानसिक जटिलता देखिनु भन्ने बुझिन्छ। सिन्ड्रोम लक्षणहरुको समूह भएकाले यसका कारण विभिन्न रोग वा संक्रमण हुनेगर्छ। 

सन् २०१५ यता नेपालमा हरेक वर्ष स्क्रब टाइफसका बिरामी देखिँदै र संख्यात्मक वृदि हुँदै आइरहेको छ। गत साल केही संक्रमित बिरामीको मृत्युसमेत भएको सार्वजनिक भइसकेको छ। तर, कस्तो स्वास्थ जटिलता थियो भनेर स्पष्ट चाहिँ छैन। 

सन् २००४ मा पाटन अस्पतालमा गरेको अनुसन्धानले काठमाडौंमा स्क्रब टाइफस संक्रमण प्रशस्त भएको देखाएको थियो। गत वर्ष यो पंतिकारले पहिले गाउँघरतिर मात्र देखिने  स्क्रब टाइफस सहरमा पनि देखिन थालेको सार्वजनिक गरेको थियो। शुरुमा सम्बन्धित निकायले विश्वास नगरे पनि पछि उनीहरुबाट नै हाल सहरी इलाकाबाट स्क्रब टाइफस संक्रमित देखा पर्दै गएको भनिएको छ।

लगभग सबैजसो नेपाली संक्रमितमा ज्वरोको साथै श्वासप्रश्वासको समस्या पनि देखिँदै आएको थियो। तर, पहिलोपटक नेपालमा टेकु अस्पतालमा स्क्रब टाइफसका कारण बालबालिकामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएकाले स्क्रब टाइफसको पनि पहिचान गर्न आवश्यक छ भन्ने देखाउँछ। भारतमा गरिएको विभिन्न अनुसन्धानले २० प्रतिशतदेखि ६२ दशमलब ७ प्रतिशत एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोममा स्क्रब टाइफस कारण भएको देखिएको थियो।

नेपालमा पनि स्क्रब टाइफसको कारणले एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम विकशित हुने गरेको देखिसकेकाले, खासगरी बालबालिकामा स्क्रब टाइफस देखिए निदान गरी उपचार गरे यसबाट हुनसक्ने सम्भावित मानवीय क्षतिलाई कम गर्न सकिने छ।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने