विश्व स्वास्थ्य

भारतीय वित्तमन्त्री जेट्लीका दुवै मिर्गौला फेल, प्रत्यारोपण गर्ने तयारी


काठमाडौं-

नयाँ दिल्ली– भारतका केन्द्रीय वित्त मन्त्री अरुण जेट्लीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस थालिएको छ। अलइन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा  उनको उपचार भइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ। त्यहीँ उनको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ।

गत बिहीबार स्वास्थ्य खराब भएपछि उनी अस्पताल भर्ना भएका थिए। पछिल्लो दुई दिनदेखि डाक्टरले उनको उपचारमा निगरानी बढाएका छन्। प्रत्यारोपण गर्नुअघि केही दिन उनलाई डायलाइसिस गरेर राखिने बताइएको छ। प्रत्यारोपण चाँडै गरिने बताइए पनि समय यकिन भइनसकेको बताइएको छ। 

उनको मिर्गौलाको आइतबार नै प्रत्यारोपण हुनसक्ने बताइएको थियो। तर, जेट्ली मधुमेहबाट समेत पीडित भएकाले पछि सारिएको बताइएको छ। 

जेट्लीलाई मिर्गौला दिने दाता समेत भेटिइसकेका छन्। उनको मिर्गौला प्रत्यारोपणका लागि डा बिके वंशलको नेतृत्वमा टोली बनाइएको छ। डा वंशललाई सघाउन एपोलो अस्पतालका विशेषज्ञ डा सन्दीप गुलेरियालाई बोलाइएको छ। उनी एम्सका निर्देशक रन्दीप गुलेरियाका भाइ हुन्।

ट्विटर मार्फत जेट्लीले आफू बिरामी भएको जानकारी गराउँदै लेखेका छन्, ‘मिर्गौलासँग सम्बन्धित समस्याको उपचार गराइरहेको छु।’
एम्सले भने यस विषयमा आधिकारिक भनाइ सार्वजनिक गरेको छैन।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने