डक्टर्स आर्टिकल

गर्भावस्था र मुटुरोग

स्वास्थ्यखबर

नेपालमा बर्सेनि १ लाख जनामा २ सय ५८ महिलाको प्रसूतिसम्बन्धी समस्याले मृत्यु हुने गर्छ । यसमा मुटुको रोग सबैभन्दा गम्भीर कारण बनेको पाइएको छ । 

आमा तथा गर्भको शिशुको विकासको वातावरणलाई अनुकूल बनाउन गर्भवती महिलाको शरीरमा केही परिवर्तन आउँछन् । यसलाई मेडिकल भाषामा ‘फिजियोलोजिकल चेन्जेज’ भनिन्छ । यी परिवर्तनले मुटुको रोग नभएका गर्भवती महिलालाई खासै समस्या नदिए पनि मुटुका रोगी गर्भवतीमा समस्या बढाउन सक्छ । 

गर्भवती महिलामा देखा पर्ने मुटु रोगका लक्षण 
-    मुटुको रोग नभए पनि त्यस्तै खालको लक्षण देखा पर्नु (फल्स सिम्टम्स) 
-    गर्भावस्थाकै कारण हुने मुटु रोगका लक्षण 
-    पहिलेदेखि मुटुको रोग भएका महिला गर्भवती हुँदा देखिने मुटु रोगका लक्षण 

फल्स सिम्टम्स
मुटुको रोग नभएका गर्भवती महिलामा पनि मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, खुट्टा सुन्निने जस्ता समस्या देखा पर्न सक्छन् । यी समस्या सामान्य हुन् । यसले आमा तथा गर्भमा रहेको शिशुलाई केही हानी गर्र्दैन । तर, यस्ता लक्षण बढी भएमा गर्भवती महिलामा मुटुको रोगको शंका गर्नुपर्छ । त्यसैले मुटुको डाक्टरसँग जाँच गराउनुपर्छ। 

गर्भावस्थाकै कारण हुने मुटु रोगका लक्षण
कुनै महिला पहिले स्वस्थ भए पनि गर्भवती भएपछि मुटुमा समस्या आउन सक्छ । जस्तै, उच्च रक्तचाप हुनु, गर्भवती हुँदा वा बच्चा जन्माएपछि मुटुका मांसपेशी कमजोर हुनु,सास फेर्न अप्ठेरो हुनु (पेरिपार्टम कार्डियोप्याथी), हृदयाघात, डिप भेन थ्रोम्बोसिस् आदि । गर्भवती महिलामा अचानक छाती दुख्ने, सास फेर्न गाह्रो भए, उत्तानो सुत्नै गाह्रो भए, मुटुको धड्कन बढे या अनियमित भए, खुट्टा धेरै सुन्निए तुरुन्तै मुटुको डाक्टरसँग जँचाएर सही उपचार गर्नुपर्छ। 

पहिलेदेखि मुटुको रोग भएका गर्भवतीमा देखिने लक्षण 
महिला गर्भवती हुनुभन्दा अगाडि नै मुटु रोगबाट ग्रसित हुन सक्छन् । यस्ता मुटुका रोगहरु हुन्– मुटुको भल्भको रोग (भालभुलर हार्ट डिजिज), जन्मजात मुटुको रोग (एरिद्मिया) मुटुको धमनी साँघुरो हुने रोग (कोरोनरी हार्ट डिजिज), मुटुको मांसपेशीको रोग (कार्डियोम्योप्याथी) अदि। 

यस्तै, तल उल्लेख गरिएका मुटु रोग भएका महिला गर्भवती भएमा आमा र गर्भमा रहेको शिशुको ज्यान खतरामा पर्छ । त्यसैले यस्ता मुटु रोग भएका महिला गर्भवती हुनु हुँदैन र यदि गर्भवती भएमा पनि थाहा पाउने बित्तिकै स्त्री रोग विशेषज्ञ र मुटु रोग विशेषज्ञको निगरानीमा गर्भपतन गराउनुपर्छ। 

-    सिभियर पल्मोनरी हाइपरटेन्सन,
-   मार्फान सिन्ड्रम विथ एओर्टिक रुट ४० एमएम 
-   साइनोटिक कन्जेनाइटल हार्ट डिजिज 
-  सिम्प्टोम्याटिक भाबुलर स्टेनोसिस्
-    मुटुको भल्भ फेरिएका बिरामी (मेकानिकल भल्व) 
मुटुका रोगमध्ये ‘पेरिपार्टम कार्डियोम्योप्याथी भालबुलर हार्ट डिजिज’ एकदमै बढी रक्तचाप, मुटुको भल्भ फेरिएका बिरामी, एओर्टिक डाइलाटेसन भएका बिरामीलाई जोखिमपूर्ण गर्भावस्था (हाइरिक्स प्रेग्नेन्सी) भनिन्छ। 

यी महिला गर्भावस्थाभर, प्रसूति हुने बेलामा र त्यसपछि पनि मुटुरोग विशेषज्ञको निगरानीमा बस्नु पर्छ।

माथि उल्लेख गरिएका मुटुका रोगमध्ये मुटुको भल्भकोे रोग (भालभुलर हार्ट डिजिज) को संख्या बढ्दो छ । हाम्रो जस्तो विकासोन्मुख देशमा भालबुलर हार्ट डिजिजको प्रमुख कारण मुटुको बाथ रोग (रुमाटिक हार्ट डिजिज) हो । भालभुुलर हार्ट डिजिज भएका बिरामीमा मुटुको भल्भ साँघुरो (स्टेरोसिस) र भल्भको चुहावट (रिगुर्जिटेसन) वा दुवै हुन सक्छ। 
भल्भको समस्या थोरै, बीचको अथवा धेरै (सिभियर) हुन सक्छ । यस्ता भल्भसम्बन्धी रोग भएका महिलामा गर्भवती हुनुभन्दा पहिला मुटुरोगका केही लक्षण नदेखिन सक्छ । तर, गर्भवती भएपछि मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, उत्तानो सुत्न गाह्रो हुने, खुट्टा सुन्निनेजस्ता समस्या देखा पर्छन् । कतिपय महिलामा त मुटुको भल्भको रोग गर्भवती अवस्थामा गाह्रो भएर जाँच गराउँदा पहिलोपटक पत्ता लाग्छ। 

गर्भवती महिलामा मुटुको रोगको शंका लाग्छ भने मुटु रोग विशेषज्ञसँग जाँच गराउनुपर्छ । सामान्य तथा बीचको अवस्थाको भालभुलर हार्ट डिजिज भएका महिलालाई गर्भ तथा सुत्केरीका बेला धेरै समस्या पर्न सक्छ । तर, मुटुको भल्भको रोग सिभियर (खतराको अवस्था) छ र महिलालाई धेरै गाह्रो गराएको छ भने ज्यान जोगाउन गर्भपतन गर्नुपर्ने अवस्था आउन सक्छ । यस्ता बिरामीको रेखदेख स्त्री रोग विशेषज्ञ र मुटु रोग विशेषज्ञको निगरानीमा हुनुपर्छ। 

यदि, कुनै महिलालाई मुटुको भल्भको रोग छ भने गर्भवती हुनुअगावै मुटु रोग विशेषज्ञको सल्लाह लिन जरुरी छ । सिभियर भालबुुलर हार्ट डिजिज भएका महिलाले गर्भवती हुनु अगावै मुटुको शल्यक्रिया गराउनुपर्छ । मुटुको भल्भ फेरिएका बिरामीले ‘वारफरिन’ नामक रगत पातलो हुने औषधि प्रयोग गर्नुपर्छ । यस्ता महिलाले गर्भवती हुनुअगावै डाक्टरको सल्लाह बमोजिम ‘वारफरिन’ प्रयोग बन्द गर्नुपर्छ। 

तर, कतिपय महिलामा यो कुराको ज्ञान छैन । त्यसैले ‘वारफरिन’ बन्द नगरीकन नै गर्भवती हुन्छन् । यसो गर्दा गर्भमा रहेको बच्चाको अंगलाई असर गर्छ । तसर्थ, गर्भवती भएको थाहा पाउनेबित्तिकै चिकित्सकले वारफरिन बन्द गरी अरु औषधि दिनुपर्छ। 

कन्जेनाइटल हर्ट डिजिज भन्नाले आमाको गर्भमा हुँदादेखि अर्थात् बच्चाको मुटुु विकसित हुने अवस्थादेखि बच्चाको मुटुमा देखा पर्ने रोग हो । यस्तो भएमा नेपालजस्तो देशमा बिरामीहरु गर्भवती अवस्थासम्म बाँच्दैनन् । तर, विकसित देशमा यस्ता गर्भवती महिलाले मुटु रोग विशेषज्ञ तथा प्रसूति रोग विशेषज्ञकै निगरानीमा उपचार गराउँछन् । कन्जेनाइटल हर्ट डिजिज मध्येकै एक ‘टेटोआलोजी अफ फालोट’ भएका बिरामीहरु प्रौढ उमेरसम्म बाँच्ने भए पनि यस्ता महिला गर्भवती चाहिँ हुनुहुँदैन किनभने यसमा आमा र बच्चाको ज्यान जाने डर हुन्छ। 

निष्कर्ष 
गर्भवती महिलाले मुुटुको रोग नभए पनि मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो  हुने, खुट्टा सुन्निने, छाती पोल्नेजस्ता समस्या बढी देखिए मुटुका डाक्टरसँग जँचाउनुपर्छ । रोग भए नभएको र भएमा कसरी उपचार गर्ने भन्ने जानकारी लिनुपर्छ । पहिलेदेखि नै मुुटु रोग भए गर्भवती हुन सक्षम भए नभएको, गर्भवती हुँदा आमा तथा गर्भमा रहेको शिशुलाई हुन सक्ने जोखिमबारे मुटुका डाक्टरसँग सल्लाह लिनुपर्छ । गर्भवती महिला मुटुका विशेषज्ञको निगरानीमा रहनुपर्छ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live