धनगढी- कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रले पोषण खाना खुवाउने कार्यक्रमको शुभारम्भ गरेको छ। केही हप्ता अघिदेखि नै केन्द्रमा आएका शीघ्र कुपोषित बालबालिकालाई सो खाना खुवाउन सुरु गरिए पनि केन्द्रले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको सुरुवात गरेको हो।
कार्यक्रमको गाउँपालिका अध्यक्ष रामप्रसाद चौधरीले शीघ्र कुपोषित बालिका फूलमाया चौधरीलाई पोषणा खाना खुवाएर कार्यक्रमको औपचारिक सुरुवात गरे।
सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले खानापानमा ध्यान नदिँदा र बालविवाह लगायतका कारणले अझै कुपोषित बालबालिका जन्मने गरेको बताए। उनले बालबालिकालाई कुपोषण हुनबाट जोगाउन अभिभावकले नियमित बालबालिकाको तौल चेकजाँच गराउनुपर्ने, पौष्टिक आहारा खुवाउनुपर्ने लगायतका सुझाव दिए।
कार्यक्रममा कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले कैलालीसहित तराईका जिल्लामा कुपोषित बालबालिकाको संख्या अझै अत्याधिक रहेको जानकारी दिए। उनले कुपोषण नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेपनि नियन्त्रण हुन नसकेको बताए। 'गरिबी, अशिक्षा, खुल्ला सिमाना, बालविवाह लगायतका कारणले बालबालिका कुपोषित हुने गरेका छन्,' उनको भनाइ थियो।
उनले जिल्लाका चार वटै प्राथमिक स्वास्थ्य केन्द्र र मालाखेती अस्पतालमा पोषण खाना खुवाउने कार्यक्रम सुरु भए भए पनि सेती अञ्चल र टीकापुर जिल्ला अस्पतालमा अझै सुरुवात हुन नसकेको जानकारी दिए।
प्राथमिक स्वास्थ्य केन्द्रकी उपाध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इन्चार्ज सञ्जय जैश्वालले कार्यक्रमबारे जानकारी गराएका थिए। जैश्वालका अनुसार जोशीपुर गाउँपालिकामा चार जना शीघ्र कुपोषित र एक अति कुपोषित गरी पाँच जना कुपोषित बालबालिका फेला परेका छन्।
यस्तै, सोमबार नै टीकापुर अस्पताल व्यवस्थापन समितिसँग बसेको बैठकले छिट्टै कार्यक्रम सुरुवात गर्ने निर्णय गरेको हो।
अस्पतालमा एउटा कोठाको व्यवस्था गरी पोषणसम्बन्धी प्रभावकारी परामर्श गर्ने र बच्चाहरुको पोषणस्थिति पत्ता लगाउन हप्ताको दुई दिन सुआहाराका फिल्ड कर्मचारी उपस्थित भई परामर्श र नाप लिने काम गर्ने निर्णय भएको हो।