काठमाडौं- नेपाल प्रहरी अस्पतालले खरिद गरेको करिब ५० लाख मुल्य बराबरको औषधिको गुणस्तरमा प्रश्न उठाइएको छ। महालेखा परीक्षकको कार्यालयले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा औषधिको गुणस्तरमा प्रश्न उठाइएको हो।
अस्पतालले खरिद सम्झौतामा उल्लेख नै नगरि ४७ लाख २९ हजार मुल्यका औषधि सोझै खरिद गरेको छ। यसरी सोझै खरिद गरेको औषधिको गुणस्तर परीक्षण समेत गरिएको छैन।
‘मानव स्वास्थ्यका लागि गुणस्तर परीक्षण बेगरका औषधि प्रयोग गर्नु उचित देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ।
अस्पतालमा आउने बिरामीहरुको लागि निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था छ । अस्पतालले यस वर्ष बोलपत्रको माध्यमबाट ४ करोड ७८ लाख २८ हजारको औषधि आपूर्ति गरेको छ। अस्पतालले खरिद सम्झौतामा उल्लेख नभएका १८ लाख ३५ हजार मूल्यका औषधि दरभाउपत्रको माध्यमबाट र ४७ लाख २९ हजार मूल्यका औषधि सोझै खरिद गरेको छ ।
नेपाल प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारी, तिनका परिवार र पूर्वप्रहरी कर्मचारीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले २०४० सालमा स्थापित अस्पतालको १५० शøया क्षमता रहेको छ । अस्पतालले गत कात्तिक २६ देखि सर्वसाधारणलाई समेत सेवा खुल्ला गरेको छ।