मुख्य समाचार

कर्णाली प्रतिष्ठानको सिनेट बैठकको तयारी पूरा, यस्ता छन् एजेन्डा


धनबहादुर क्षेत्री
जुम्ला- पहिलो पटक राजधानीबाहिर हुन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बैठकको तयारी पूरा भएको छ। अहिलेसम्म कुनै पनि प्रतिष्ठानको सिनेट बैठक राजधानीबाहिर भएको छैन। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तीन सय शैय्या अस्पतालको हलमा हुन लागेको बैठकको तयारी सकिएको रजिस्ट्रार विश्वराज काफ्लले जानकारी दिए। उनका अनुसार शनिबार दिउँसो ३ बजेका लागि सिनेट बैठक तोकिएको छ।  प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सिनेट बैठकको अन्तिम तयारी पूरा भइसकेको जनाएको हो। 

सिनेट बैठकको लागि सिनेटरदेखि आमन्त्रित सदस्य सबै आइपुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी लगायतको टोली हेलीकप्टरमा आउने प्रतिष्ठानले जनाएको छ। रजिष्ट्रार काफ्लेले आर्थिक वर्ष २०७५/२०७६ लाई मानक वर्षका रुपमा मनाउने तयारी भइरहेको बताए। उनले मास्टर र ब्याचलर स्तरको पढाइ सञ्चालनको लागि सिनेटमा छलफल हुने बताए। यस्तै प्रतिष्ठानको बजेट पास गर्नुका साथै कर्णालीको स्वास्थ्य समृद्धिका विषयमा बैठक केन्द्रित हुने उनले बताए।

प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले कर्णालीलाई मेडिकल पर्यटन हब बनाउनका लागि सिनेट बैठकले मार्ग प्रशस्त गर्ने बताउँछन्। 'स्वास्थ्य पर्यटनको केन्द्र कर्णाली प्रदेशलाई बनाएर आयस्रोत वृद्धि गर्नमा टेवा पुग्नेछ,' उनले भने, 'एमबिबिएस र एमडिएमएस कार्यक्रम सञ्चालनका बारेमा बैठकले निर्णय गर्नेछ।'

प्रतिष्ठानमा २१ जना सिनेटर छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सिनेट बैठकलाई एक घन्टाको समय दिएका छन्।  

यसअघि २०७४ चैत ३० गते २ बजेका लागि बैठक तोकिएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण एक दिन पछि सरेको हो। बैसाख १ गते रारा तालमा कर्णाली रारा पर्यटन महोत्सव २०७५ को उद्घाटन गरेर जुम्लामा सिनेट बसेर उनी फर्कने कार्यतालिका तय भएको छ।  

सिनेट बैठकमा कर्णाली प्रदेशका जिल्लाहरुमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने, जुम्लाको मातहतमा रहने प्रत्येक कर्णाली प्रदेश र कार्यक्षेत्र बझाङ, बाजुरा, अछाम जिल्लामा मेडिकल शिक्षण अस्पतालका रुपमा विस्तार गर्ने, भौतिक पूर्वाधार निर्माणका लागि उपलब्ध भइरहेको जग्गा व्यवस्थापनका लागि दोस्रो पञ्चवर्षीय योजनालाई संशोधनसहित पारित गर्ने एजेन्डा अघि सारिएको छ।

यस्तै कर्णाली एमबिबिएस, एमडिएमएस कार्यक्रम सञ्चालनका नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायमा प्रतिष्ठानलाई सहयोग गर्नुपर्ने सहितको प्रस्ताव बैठकमा पेस हुन लागेको काफ्लेले बताए। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने