प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालको छेउमा बसेर देशवासीको नाममा सम्बोधन गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री अोलीले ३१ बुँदे संवोधन गरेका छन्। संवोधनमा प्रधानमन्त्री अोलीले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी उद्योगीहरुलाई आह्वान गरेका छन्।
उनले सरकार भ्रष्टचारविरुद्ध निर्मम तरिकाले प्रस्तुत हुने बताउँदै नेपाललाई सन् २०२२ सम्म विकासशिल राष्ट्रमा स्तरउन्नती गर्ने उद्धेश्य रहेको स्पष्ट पारे।
मनोवैज्ञानक रुपमा कमजोर बनेको राष्ट्र अगाडी बढ्न नसक्ने बताउँदै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गरेर अघि बढ्ने बताए।
संवोधनका ३१ बुँदामध्ये २६ नम्बरको बुँदामा स्वास्थ्यका विषय पनि छ।
यस्तो छ स्वास्थ्यका विषयमा प्रधानमन्त्रीले गरेको संवोधान :
दुषण र दुषित खाद्यका कारण अहिले संक्रामक सरुवा रोगबाट मात्रै हैन, नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पीडित छन् । उनीहरुको स्वास्थ्यका बारेमा चासो राख्नु राज्यको दायित्व हो।
स्वास्थ्य भनेको अस्पताल र ट्याव्लेट मात्रै हैन, स्वच्छ हावापानी, स्वच्छ वातावरण, स्वच्छ खानपान,उचित आनिवानी र दिनचर्या पनि हो।
एकचोटी सोचौं– हिऊँ पग्लिएर हामीकहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ। औषधि पखाल्दै पखाल्दै बगेको पानी खनिजसँग मिसिंदै मिनरल पानी हुँदै आउँछ । हाम्रो हावा र पानी यसरी औषधीय छन । जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदुषित छैन, त्यहाँका मानिस आज रोगी?!
जुन देशमा जडिबुटी छ, ढुंगा सिलाजित हुन्छ, माटो सिम्रिक हुन्छ, जुन देशमा उम्रिने झार यार्सागुम्बा, पाँच औंले, संजिवनी हुन्छ, त्यस देशमा औषधीको अभावमा मान्छे मर्ने?
यो कसरी हुन्छ?
अव यो स्थितिको अन्त्य गर्नै पर्छ ।
तसर्थ, स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही बर्षभित्र अर्गानिक नेपाल बनाइने छ ।
नेपालको हावा–सहि अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल । हाम्रो नीति उपचार केन्द्रीत हैन– आरोग्यता
केन्द्रीत !
मौलिक अधिकारका रुपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी वृद्धि गरिने छ । स्थानीय सरकार र समुदायसँग मिलेर प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा यो अधिकारको व्यवहारिक कार्यान्वयन गरिने छ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ ।
गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ ।