मुख्य समाचार

स्वास्थ्य सेवाप्रति मुख्यमन्त्री पोखरेलको चिन्ता– सरकारी अस्पताल दुब्लाउने, निजी फस्टाउने?


बुटवल-  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुलाई बढी जिम्मेवार र जवाफदेही बनाउनुपर्ने बताएका छन्। उनले सरकारी अस्पताल स्वास्थ्य सेवा दुब्लाउने तर निजी अस्पताल र स्वास्थ्य संस्थामा फस्टाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीका कारण भित्रका दुब्लाउने र बाहिरका फस्टाउने प्रवृत्ति बढेको उनको भनाइ थियो। 

प्रदेश ५ मा आजदेखि सुरु भएको ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ जनजनमा स्वास्थ्य पहुँच हाम्रो अभियानको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले सरकारी अस्पतलामा भएका साधन श्रोत र जनशक्तिको अत्यधिक सदुयोग गरेर जनतालाई सेवा दिन निर्देशनसमेत दिए।

मुख्यमन्त्री पोखरेलले गरिब जनतालाई सेवा दिने सरकारी अस्पतालका उपकरणलाई यो वा त्यो बहानामा प्रयोगविहीन नगर्न पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे। उनले प्रदेशस्तरीय अस्पतालले सम्पूर्ण सेवा दिने वातावरण मिलाउनुपर्नै बताउँदै उपचारको अभावमा बाहिर जानु नपर्ने अवस्थाको सिर्जना गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउन सबैको पहल आवश्यक रहेको उनको भनाइ थियो। 

प्रदेशका प्रमुख सचिव शंकर पाठकको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख डा उमाशंकर चौधरीले अभियान सञ्चालनको उद्देश्यका सम्बन्धमा जानकारी गराएका थिए। 

कार्यक्रममा योगसमेत गराइएको थियो। नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यो अभियान आज प्रदेश नम्बर ५ सहित सबै प्रदेशमा सुरु गरिएको छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने