मुख्य समाचार

प्रदेश ७ मा 'स्वास्थ्य वर्ष', यस्ता छन् प्रतिबद्धता


शेरबहादुर ऐर

धनगढी- प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले २०७५ साललाई स्वास्थ्य वर्षका रुपमा अघि बढाउने भएको छ । ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ २०७५ लाई 'स्वास्थ्य वर्ष' मनाइन लागेको हो।

प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले योगा, सरसफाइ लगायतका कार्यक्रममा सरिक भई शनिबार अभियान शुरुवात भएको घोषणा गरेका छन्। 

मुख्यमन्त्री भट्टले भने, ‘स्वास्थ्य पहिलो हो, स्वस्थ रहन दैनिक योगा अभ्यास गर्न जरुरी छ।’ उनले अभियानका प्रतिबद्धता आफूले व्यवहारमा लागू गर्ने र अरुलाई पनि प्रोत्साहित गरिने बताए।

सभामुख अर्जुन थापाले स्वास्थ्य वर्ष अभियानका प्रतिवद्धता आफूले प्रतिबद्ध भएर लागू गर्ने बताए। नयाँ वर्षको पहिलो दिन शनिबार विहान सर्वसाधारणलाई स्वस्थ रहन प्रेरित गर्दै मुख्यमन्त्री भट्ट, सभामुख थापासहित प्रदेशका मन्त्रीले योगा अभ्यास गरेका थिए। त्यसपछि उनीहरुले अस्पतालका वृद्धवृद्धा सहितका बिरामीलाई फलफूल वितरण र अस्पताल क्षेत्र सरसफाइ पनि गरे।

कैलालीको धनगढीबाट शुरु भएको अभियानलाई प्रदेश ७ का गाउँ-वडा तहमा पुर्याकउन सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ। प्रदेशमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगका बिरामी बढ्दै गएपछि मन्त्रालयले मानिसलाई स्वस्थ रहन यो अभियान सञ्चालन गरेको सामाजिक विकास मन्त्री दीर्घ सोडारीले बताए। मन्त्री सोडारीले प्रदेश ७ लाई सन्देश दिन अस्थायी राजधानी धनगढीबाट मेरो वर्ष अभियान शुरु भएको चर्चा गरे।

मन्त्री सोडारीले भने 'नया वर्षमा हामी सबै स्वस्थ रहौं। स्वास्थ्य लाभ गरौं, शारिरीक व्यायम गरौं, स्वास्थ्यमैत्री काम गरौं भन्ने कामना गर्छु।’ उनले आम मानिसलाई स्वस्थ रहन पोषिलो खाना खानुपर्ने, नियमित व्यायम गर्नुपर्ने, स्वास्थ्य परीक्षण गर्न लगायतका अनुरोध गरे ।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्षेनी मृत्यु हुनेमध्ये नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ। त्यस्तै, अस्पताल पुग्ने बिरामीमध्ये करिब ८१ दशमलब ५ प्रतिशत तथा तीमध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या छ। करिब २० वर्ष पहिले नेपालमा सर्ने रोगको हिस्सा ७० प्रतिशत र नसर्ने रोगको ३० प्रतिशत थियो। यो संख्या बढेर हाल ६० प्रतिशत पुगेको छ। खानपान (धूमपान-मध्यपान, चाउचाउ, कोकजस्ता जंक फुड आदि), जीवनशैली, प्रदुषण आदिका कारण दम, मुटु, मिर्गौला, मधुमेह, पक्षघात, क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्दोछ।

‘नसर्ने रोग विशेषगरी खानपान तथा जीवनशैलीसँग सम्बन्धित भएकाले यसबारे जनचेतना फैलाउनुको विकल्प छैन,’ मन्त्री सोडारीले भने। 

मन्त्रालयले चुरोट, रक्सी र सुर्तिजन्य पदार्थ नखाने, नियमित व्यायम गर्ने, ट्राफिक नियमको पालना गर्ने लगायतका आठ बुँदे प्रतिबद्धता जनाएको छ। स्वास्थ्य मन्त्रालयले २०७४ साललाई स्वास्थ्य वर्ष घोषणा गरेको थियो भने देश नयाँ संरचनामा गइसकेपछि प्रदेश सरकारले यस वर्षलाई स्वास्थ्य वर्षका रुपमा मनाउन लागेको छ।

यस्ता छन् प्रतिबद्धताः
–    म तनावरहित जीवन व्यतित गर्छु, 
–    म मेरो घर र टोल समुदाय सफा राख्छु,
–    म चुरोट रक्सी र सुर्तीजन्य पद्धार्थ खान्न,
–    म नियमित व्यायाम गर्छु, 
–    म पोषिलो खाना खान्छु, 
–    म नियमति स्वास्थ्य जाँच गर्छु,
–    म मेरो परिवार र समूदायको स्वास्थ्यप्रति सजग रहन्छु, 
–    ट्राफिक नियमको पालना गर्छु।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने