डक्टर्स आर्टिकल

के हो अर्थोपेडिक फिजियोथेरापी ?


डा अमरेन्द्र झा, अर्थोपेडिक फिजियोथेरापिस्ट

फिजियोथेरापी आधुनिक चिकित्सा विज्ञानको एउटा शाखा हो। यसमा शारीरिक अभ्यासबाट रोगको उपचार र रोकथामका साथै बिरामीलाई परामर्श दिइन्छ । 

विभिन्न कारणले समस्या भएका शरीरका अंगलाई पूर्ववत अवस्थामा ल्याउन गरिने उपचार विधिलाई फिजियोथेरापी भनिन्छ । यो चिकित्सा विज्ञानको एउटा विषय हो । फिजियोथेरापी विभिन्न प्रकारका हुन्छन् । हाडजोर्नी तथा नसासम्बन्धीलाई अर्थोपेडिक, नसाकोलाई न्युरोलोजी, मुटुसम्बन्धी कार्डियोथोरासिक, खेलकुदसम्बन्धी स्पोर्ट्स, बच्चासम्बन्धी पेडियाट्रिक तथा वृद्धवृद्धामा उत्पन्न हुने समस्यालाई जेरियाट्रिक फिजियोथेरापी भनिन्छ । 

अर्थोपेडिक फिजियोथेरापी 

हाडजोर्नी तथा नसासम्बन्धी समस्या लिएर आउने बिरामीमा प्रायःजसो हड्डी खिइएर नसा च्यापिएका, घाँटीको हड्डी खिइएका, हड्डी कमजोर भएका, क्याल्सियमको कमीले हड्डी बांगिने र कति त जन्मजात हड्डी बांगिएका हुन्छन् । यस्तै, कम्मरमा हड्डी खिइने वा उमेरअनुसार हड्डी खिइएर नसा च्यापिने बढी हुन्छन् । कसैमा काम गर्ने तरिका नमिलेर या मांसपेशी कमजोर भएर समस्या देखिन्छ । घँुडाको हड्डी, जोर्नी खिइएर आउने समस्या बढी हुन्छन् ।

हाडजोर्नी मांसपेशीमा विभिन्न समस्या छन् । जसको निम्न तरिकाबाट उपचार गर्छौं । 

जनरल एक्ससाइज 
यसमा रोग अनुसारको शारीरिक कसरत गराएर निको पार्ने प्रयास गरिन्छ । 

विद्युतीय उपकरणको प्रयोग 

यसमा विद्युतीय मेसिन प्रयोग गरेर उपचार गरिन्छ । जसअनुसार समस्या अनुसार कुनैमा कम र कुनैमा बढी करेन्ट दिइन्छ । 

लो फ्रिक्वेन्सी करेन्टः बिरामीलाई प्यारालाइसिस भएको छ, माशंपेसी कमजोर छ भने यस्तो करेन्ट प्रयोग गर्नुपर्छ । त्यसमा पनि ‘फ्याराडिक करेन्ट’ बढी प्रयोग गर्नुपर्छ । यो करेन्ट प्यारालाइसिस भएका बिरामीलाई प्रयोग गरिन्छ । तर, विद्युतीय उपकरणको गलत प्रयोगले भने झन् बढी समस्या आउन सक्छ । त्यसैले हरेक उपकरणको प्रयोग गर्दा मात्रा, अवधि र इन्टेन्सिटी अनुसार चल्नुपर्छ । कति मात्रा दिने, कति समयपछि दिने र फेरि कसरी दिने भन्ने कुरा फिजियोथेरापिस्टले ध्यान दिनुपर्छ । 

मिडियम फ्रिक्वेन्सी करेन्टः अरु मेसिन लगाउन नमिल्ने अवस्थाका बिरामीलाई यस्तो करेन्ट प्रयोग गरिन्छ । यस्ता बिरामीलाई आइएफडी मेसिनले करेन्ट लगाइन्छ । शरीरभित्र मेटल राखेको, वा अपरेसन गरेका बिरामीलाई यस्तो मेसिन लगाउँदा कुनै हानी गर्दैन । 

हाई फ्रिक्वेन्सी करेन्टः मुख्य जोर्नी या ठूलो जोर्नीमा धेरै दुख्छ भने त्यसलाई नियन्त्रण गर्न उच्च खालको करेन्ट प्रयोग गरिन्छ । यस्तो करेन्ट दिने मेसिनमा विद्युत चुम्बकीय तरंगहरु बढी प्रयोग हुन्छ । 

मस्ट हिटः मस्ट हिटको प्रयोग निश्चित ठाउँमा हुने कडा दुखाइ (सुपरफिसियल पेन) का लागि प्रयोग गरिन्छ । 

लेजर बिमः लेजर बिमको प्रयोग पनि गर्न सकिन्छ । यो पनि हाइ, लो र मिडियम गरी तीन प्रकारका हुन्छन् । हाइ फ्रिक्वेन्सी लेजर शल्यक्रियामा प्रयोग गरिन्छ भने मिडियम छाला उपचार गर्न प्रयोग गरिन्छ । सर्ट फ्रिक्वेन्सी भने फिजियोथेरापिस्टहरुले प्रयोग गर्छन् । लेजर मेसिन अहिलेसम्मको आधुनिक उपकरण हो । यसले प्रभावित ठाउँमा फोकस गरेर दुखाइ कम गर्छ ।
यस्तो उपचारमा रोगको अवस्थाअनुसार करेन्टको डोज निर्धारण गरिन्छ । बच्चाको उमेरअनुसार करेन्ट तय गर्नुपर्छ । यदि, सानो बच्चा छ र हाइ फ्रिक्वेन्सी लगाइयो भने बच्चालाई समस्या उत्पन्न हुन्छ । कुनै वृद्ध व्यक्ति छन् भने त्यही अनुसार करेन्टको फ्रिक्वेन्सी प्रयोग गर्नुपर्छ । 

म्यानुअल थेरापी 

म्यानुअल थेरापी भनेको औषधि र कुनै पनि विद्युतीय उपकरणको प्रयोग नगरीकन हातको सहायताले गरिने उपचार विधि हो । यसमा अथेटोसिस पनि प्रयोग गरिन्छ । जसलाई कृत्रिम सहयोगी सामग्री भनिन्छ । यसमा नम्बर क्रसेस बेल्ट, सर्भाइकल कोलार (घाँटीमा बाँध्ने), निक्याप आदि पर्छन् । यसको सहयोगले रोगले हुने क्षतिबाट जोगाउन सकिन्छ । 

सचेतना

रोग लाग्न नदिन के गर्ने, लागिसकेको अवस्थामा कस्तो सावधानी अपनाउनेजस्ता कुराबाट समाजमा शिक्षा, चेतना जगाउन सकिन्छ । घँुडाको हड्डी खिइएको छ भने त्यो रोगमा के–के सावधानी अपनाउन सकिन्छ, कुन उमेर समूहमा हड्डी खिइने बढी हुन्छ भनेर सावधानी अपनाउनुपर्छ । यसबारे परामर्श र सचेतनाको अभियान चलाउनु जरुरी छ। 

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने