विश्व स्वास्थ्य

आमाबुवाको कार दुर्घटनामा निधन, ४ वर्षपछि जन्मियो बच्चा ! यसरी सम्भव भयो


बिबिसी- चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ। बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा 'सरोगेट मदर' मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०१३ मा इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए।

लाओसकी 'सरोगेट' आमामार्फत् यी बालकको जन्म गत डिसेम्बरमा भएको थियो। यसबारे 'द बेइजिङ न्यूज'ले यही साता समाचार प्रकाशित गरेको छ। यस्ता घटनाहरू पहिला भएको उदाहरण नहुँदा त्यो दम्पतीका बाबुआमा सरोगेसीको प्रक्रिया सुरु हुनुअघि कस्तो खाले कानुनी झमेलामा पर्नुपर्‍यो भनी उक्त पत्रिकाले व्याख्या गरेको छ।

दुर्घटना हुँदा भ्रूणहरू नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्याङ्कमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो। कानुनी प्रक्रियापछि ती बालकका घर र मावलीतर्फ गरी चारै जना बाजेबजै ती भ्रूणको अधिकार पाएका थिए।

समाचारहरूका अनुसार उनीहरूले आफ्ना सन्तानको भण्डारण गरिएका भ्रूणहरू लिन पाउँछन् कि पाउँदैनन् भन्ने कुनै नजिर थिएन। अहिले उनीहरू आफ्नो वंशले निरन्तरता पाउने भयो भनेर उत्साहित छन्।

अन्तत: सन्तानको भ्रूणमाथि को अधिकार पाए पनि उनअरूले अर्को समस्या झेल्नुपर्‍यो। नान्जिङ अस्पतालले अर्को अस्पतालले पनि त्यसैगरी भ्रूणलाई जोगाएर सुरक्षित राख्छ भन्ने प्रमाण भए मात्रै उनीहरूलाई लैजान दिइने बतायो।

महिलाको कोखमा प्रत्यारोपण गर्न बाँकी भ्रूणबारे यस्तो कानुनी अन्योल कायम रहँदा चीनमा यस्तै अर्को अस्पताल खोज्न निकै कठिन भयो। चीनमा सरोगेसी गैरकानुनी भएकोले एउटै यथार्थपरक विकल्प भनेको देशबाहिर खोज्नु थियो।

अन्तत: उनीहरू लाओसमा वैधानिक रूपमा नै व्यापारिक सरोगेसीको सेवा उपलब्ध गराउने संस्थाको सम्पर्कमा पुगे। लाओमा उक्त भ्रूणलई सरोगेट आमाको कोखमा प्रत्यारोपण गरियो र सन् २०१७ को डिसेम्बरमा एक बालक जन्मिए।

'टियन्टियन्' नाम दिइएका बालकको नागरिकताबारे जटिलता आउनसक्ने हुनाले ती सरोगेट आमालाई चीनमा ल्याएर बच्चा जन्माइएको थियो। उनी एउटा साधारण पर्यटक भिसामा चीन आएकी थिइन्। पितृत्वको प्रमाण दिन अभिभावकहरू छैनन्। चारै जना बाजेबजैले ती बच्चा आफ्ना हुन् भन्ने प्रमाणित गर्न डीएनए परीक्षणका लागि रगत दिएका थिए।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने