प्रवास

मेडिकल विद्यार्थीका लागि अमेरिका राम्रो अवसर


काठमाडौं-

एमबिबिएस सकेर केही वर्ष मैले काठमाडौं मोडल हस्पिटलमा काम गरें । त्यसपछि सन् २००५ मा फेलोसिपमा अमेरिका आएको हुँ । २०१६ देखि यहाँको ओरेगन सिटीमा पर्ने युजिन सहरमा बस्दैछु । मेडिकल सेक्टरकोे अध्ययनलाई बिरामीको सेवामा लगाउँदै अनुभव बटुलिइरहेको छु।

नेपालबाट आएपछि मैले न्युयोर्कबाट इन्टरनल मेडिसिनमा एमडी गरें । अहिले ओरेगनस्थित पिस हेल्थ मेडिकल इन्टिच्युटमा आबद्ध छु । यहाँबाट ५ जनाको समूहले नेफ्रोलोजी सेवा प्रदान गरिरहेको छ । जहाँ नेपाली म मात्रै हुँ । कुनै अस्पतालमा बिरामीका लागि थप सेवा आवश्यक परेको छ, छैन भनेर पहिले खबर गर्छौं । माग भयो भने हामीलाई नै बोलाइन्छ वा बिरामीलाई यहाँका लागि रिफर गरेपछि हामीले सेवा प्रदान गर्ने हो । यो गैर नाफामूलक संस्था हो । 

यहाँका मानिसमा सरुवाभन्दा पनि मोटोपन, मुटु, मिर्गौला, मलेरिया, नाक–कान–घाँटीका रोग बढी मात्रामा देखापर्छ । उनीहरुको जीवनशैलीले पनि मोटोपन देखा परेको हो । यहाँ बढीजसो समय अफिसमा बसेर काम गर्नुपर्ने हुन्छ, व्यक्तिगत तनावले पनि असर पर्छ, जसले मोटोपन र मुटुको समस्या निम्त्याउँछ। 

म मिर्गौला रोगकै कन्सलट्यान्ट भएकाले यसबारे थोरै चर्चा गरौं ।

मिर्गौला रोगीलाई अमेरिकामा दुई खाले सुविधा छ । रोग मात्र लागेका र मिर्गौला फेल भएका बिरामीले छुट्टाछुट्टै सुविधा पाउँछन् । ५ स्टेजमा रोगको उपचार हुने भएकाले सोही अनुसार बिरामीले सहुलियत पाउने गरेका छन् । मिर्गौला रोगको प्रमुख कारण मधुमेह भएकाले त्यो नियन्त्रणका लागि राज्यले सुविधा प्रदान गर्छ । बीमाका लागि पनि बिरामीले कुनै चिन्ता लिनुपर्दैन ।
मिर्गौला फेल भएका बिरामीलाई निःशुल्क डायलाइसिस गराउने व्यवस्था छ । सम्भव हुनेलाई मिर्गौला प्रत्यारोपण पनि राज्यले नै गरिदिन्छ । त्यसका लागि बिरामीको ‘मेडिकेयर इन्सुरेन्स’ गरिएको हुन्छ। 


अमेरिकी समाजको नजरमा चिकित्सा सम्मानित पेसा हो । मानिसहरुले डाक्टरलाई आदरपूर्वक व्यवहार गर्छन् । जुनसुकै रोगका लागि पनि ‘इन्सुरेन्स’ हुने भएकाले औषधि नपाइएला कि भनेर बिरामीले चिन्ता लिनुपर्दैन। 

धनी–गरिब जुनसुकै बिरामी आए पनि पहिले इमर्जेन्सीमा राखेर उपचार थालिन्छ । यदि, पैसा नभएको बिरामी छ भने उपचारपछि उसको घरपरिवारसँग सम्पर्क राखेर कति खर्च भएको हो त्यो रकम लिने गरिन्छ । यसका लागि सोसियल सर्भिस डिपार्टमेन्टले काम गर्छ । यहाँ कुनै पनि बिरामीले पैसा नभएकै कारण आकस्मिक उपचार सेवा नपाउने भन्ने हुँदैन ।
यहाँको कानुन बलियो छ । डाक्टर वा कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीले ढुक्कसाथ सुरक्षित भएर काम गर्न सक्छन्।

नेपालका अस्पतालमा बिरामीको मृत्यु भएका केही घटनामा डाक्टरमाथि हातपात हुने गर्छ । अस्पताल तोडफोड हुन्छ । तर, अमेरिकामा त्यस्ता घटनाको कल्पनासमेत गरिँदैन । अस्पतालमा पुलिस अहोरात्र सुरक्षाका लागि खटिएका हुन्छन्। 

यदि, बिरामी वा तिनका आफन्तले डाक्टरको उपचार प्रणालीमाथि चित्त बुझाएनन् भने उनीहरुले कानुनी बाटो अपनाउन सक्छन् । त्यसका लागि फाइल तयार हुन्छ र मेडिकल विज्ञहरुकहाँ पुग्छ । उनीहरुले त्यसको अध्ययन गर्छन् । अदालतमा सुझावसहित त्यो फाइल पेस हुन्छ । अदालतले गरेको फैसला दुवै पक्षले स्वीकार गर्नैपर्छ। 

नेपालमा उपचारअघि डाक्टरले यसोउसो गर्छु भनेको थियो, यस्तो गरेन, ढाँट्यो, गलत काम ग¥यो भनेर बिरामी र आफन्तले अनेकथरि दोष लगाउँछन् । अमेरिकामा त्यस्तो हुँदैन । पहिले जुन तरिकाले उपचार गर्ने भनेर डाक्टरसँग सहमति गरिएको हुन्छ, त्यसैअनुसार उपचार हुन्छ । बिरामी तलमाथि भएमा तिनका आफन्तले समेत कुरा बंग्याउन सक्दैनन्, डाक्टरले गलत गरेका छन् भने पनि उम्किन पाउँदैनन्।

स्वास्थ्य सेवा प्रणाली नेपाल र अमेरिकामा धेरै फरक छ । दीगो प्रणाली र नीति नियमको कडाइले मानिस आफैं अनुशासित भइहाल्दा रहेछन्। 

इमानदारीपूर्वक काम गर्ने हो भने, आर्थिक उन्नतिका लागि अमेरिकामा कुनै समस्या छैन । सामाजिक मर्यादा तथा डाक्टरलाई यहाँका मानिसले गर्ने आदर, सम्मानका कारण यो पेसाप्रति गर्व लाग्छ । काम गरिरहँदा सुरक्षित आभास हुने भएकाले झन्झट मान्नै पर्दैन । यहाँको समाज शिक्षित भएकाले धेरै ज्ञान भएका बिरामी पनि आउने गर्छन् । तिनलाई बुझाउन र सोही अनुरुप उपचार गर्न अलि गाह्रो पर्न सक्छ। 

मैले यहाँ दैनिक कम्तिमा १० घन्टा काम गर्नुपर्छ । म बसेको सहरमा करिब ७ लाख मानिस बस्छन् । त्यसकारण बिरामीको चाप भइरहन्छ। 

मेडिकल विद्यार्थीका लागि अमेरिका राम्रो अवसर हो । यसकै लागि म यहाँ आएको हुँ । मेरा छोराछोरी र श्रीमती यतै छन् । तर, चाडपर्वको समयमा आफ्नो देश, घरपरिवारका अन्य सदस्यलाई निकै ‘मिस’ गरिँदो रहेछ । कहिलेकाहीँ त लाग्छ, यहाँ जस्तो मेडिकल प्रविधि र प्रणाली नेपालमै भइदिएको भए आफ्नै देशमा खुसीसाथ सेवा गरिरहेको हुन्थेँ होला । नेपालको माया मनमा छँदैछ । भनिन्छ नि, डाक्टरका लागि बिरामी नै महत्वपूर्ण हुन्छ, चाहे त्यो देशको होस् वा विदेशको।

डा रमेश मरहट्ठा, नेफ्रोलोजिस्ट

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने