काठमाडौं– नेपाल हेल्थ केयर सोलुसनले थाइराइडको क्यान्सर पत्ता लगाउन उपयोगी नयाँ प्रविधि वीर अस्पताललाई अनुदानस्वरुप प्रदान गरेको छ। वीर अस्पतालका निर्देशक भुपेन्द्रकुमार बस्नेतलाई सोलुसनका निर्देशक रेमन्तप्रसाद भट्टले बिहीबार उक्त सफ्टवेयर हस्तान्तरण गरे।
निर्देशक बस्नेतले यो सफ्टवेयर थाइराइडको क्यान्सर पत्ता लगाउन निकै प्रभावकारी हुने बताए। 'क्यान्सर रोगको थप अनुसन्धानका लागि उपयोगी हुनेछ,' उनले भने।
अस्पतालका रेडियोलोजिस्ट डा स्वयंप्रकाश पण्डित र नाक, कान, घाँटीरोग विशेषज्ञ डा ढुण्डीराज पौडेलले यो प्रविधिको मद्दतले थाइराइडका ससाना ट्युमर समेत पत्ता लगाउन सकिने जानकारी दिए। 'रोगको पहिचानमा यसले निकै सहयोग पुर्यालउने देखिएको छ,’ पौडेलले भने, ‘पुरानो प्रविधिभन्दा यसबाट उपचार खर्च पनि सस्तो पनि पर्नेछ।’
सफ्टवेयर जुनसुकै अल्ट्रासाउन्डको मेसिनमा पनि राख्न मिल्ने सोलुसनका निर्देशक रेमन्तप्रसाद भट्टले जानकारी दिए।
उक्त नयाँ सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो। यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सहजै पत्ता लगाउन सकिन्छ।
‘एम्क्याड–युटी’ नाम दिइएको उक्त नयाँ सफ्टवेयरले अमेरिकाबाट एफडिए प्रमाणपत्र समेत पाइसकेको छ।