हात–खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेका बिरामीका लागि वरदान बन्दै गइरहेको उपचार विधि हो, एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन)। यो प्रविधिमा बिरामीको आफ्नै शरीरबाट रगत निकालिन्छ र त्यसलाई विशेष प्रकारको उपकरणबाट स्वरुप परिवर्तन गरेर झिल्ली बनाइन्छ। उक्त झिल्लीलाई बिरामीको घाउमा लगाएर निको बनाउने काम गरिन्छ।
प्राध्यापक डा नेलसन पिन्टोले चिलीबाट सुरु गरेको यो प्रविधि चिलीसहित विश्वका केही देशमा निकै प्रभावकारी भइरहेको छ।
घोडा र कुकुरपछि मात्र मानिसमा प्रयोग
दन्तचिकित्सक डा पिन्टोले सबैभन्दा पहिला सन् १९९८ तिर यो उपचार विधि घोडामा प्रयोग गरेका थिए। घोडाको घाउ निको भएपछि उनले यही विधि कुकुरमा समेत अपनाए। घोडा र कुकुरमा सफल भएपछि उनले जटिल घाउ भएका तर शल्यक्रिया लगायतका कुनै उपचारको विकल्प नभएका बिरामीमा परीक्षण गरेका थिए। मानिसमा यो विधि सुरु गर्दा यसलाई ‘प्लाज्मा रिच इन फिब्रिन’ (पिआरएफ) नाम दिइएको थियो।
मानिसको आफ्नै रगतमा भएका रक्ततत्वलाई स्वरुप परिवर्तन गराएर जटिल घाउको प्राकृतिक उपचार गर्न विकास गरिएको उपचार पद्धति हो यो। एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच इन फाइब्रिन) भनेको रगतमा रहेको रेशायुक्त सेता रक्तकण र प्लेटलेट हो।
चिलीका प्राध्यापक डा पिन्टोका अनुसार यो प्रविधिमा बिरामीको शरीरबाट निकालिएको रगतलाई विशेष प्रकारको उपकरणमा घुमाएर एक प्रकारको तन्तु बनाइन्छ। जुन झट्ट हेर्दा झिल्ली जस्तै हुन्छ। यो पातलो तर बलियो झिल्लीलाई निर्मलीकरण गरिएका मेडिकल सामग्रीको सहायतामा घाउमा राखिन्छ।
‘यो पद्धति कुनै पनि तन्तु (टिस्यु) जस्तै छाला, मासु, कुरकुरे हाड वा हड्डीका लागि उपयुक्त हुन्छ,’ नेपाल आएको समयमा डा पिन्टोले स्वास्थ्य खबरपत्रिकासँग भने, ‘सुरुमा यो रगत भए पनि यसलाई हामीले जीवित तन्तुका रुपमा बदलेका हुन्छौं र यसलाई घाउमा ‘ग्राफ्ट’का रुपमा प्रयोग गर्छाैं। जुन आवश्यकता अनुसार विकसित हुँदै जान्छ। यसमा छिट्टै विकसित हुने क्षमता हुन्छ र घाउसँग जोडिएका नसाबाट आएका रगतले आवश्यक पौष्टिक तत्व पाएर घाउ छिट्टै निको हुन्छ।’
यसमा घाउको आकार अनुसार बिरामीबाट रगत निकालिन्छ। एउटा ट्युबमा ९ देखि १० एमएल रगत निकालिन्छ। एक पटकको घाउमा प्रयोग गर्न घाउको आकार हेरेर १२ वटा ट्युबमा रगत निकाल्न सकिन्छ। यो भनेको बढीमा १ सय २० एमएलसम्म हो। मानिसले एक पटक रक्तदान गर्दा ४ देखि ४ सय ५० एमएलसम्म निकाल्ने गरिन्छ।
चिलीसहित विश्वका केही देशमा निकै प्रभावकारी भइरहेको यो विधि नेपालमा गत वर्षबाट सुरु भएको हो।
यो पनि पढौं :