जटिल घाउका बिरामीलाई लक्षित गर्दै उपचारको क्षेत्रमा नयाँ प्रविधि नेपाल भित्रिएको छ। चिकित्सा क्षेत्रमा उपलब्ध भएका हरसम्भव प्रयास गर्दा पनि घाउ निको नभएर अंग नै गुमाउने अवस्थामा पुगेका बिरामीका लागि यो प्रविधि अचूक साबित हुँदै गएको छ।
यो प्रविधिबाट उपचार गर्दा बिरामीको अंग काट्नुपर्ने वाध्यताको अन्त्य भएको छ भने उपचारका क्रममा खर्च हुने ठूलो धनरासी र समयको वचत हुने भएको छ।
हात–खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेका बिरामीका लागि वरदान बन्दै गइरहेको उक्त उपचार विधि हो, एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन)। यो प्रविधिमा बिरामीको आफ्नै शरीरबाट रगत निकालिन्छ र त्यसलाई विशेष प्रकारको उपकरणबाट स्वरुप परिवर्तन गरेर झिल्ली बनाइन्छ। उक्त झिल्लीलाई बिरामीको घाउमा लगाएर निको बनाउने काम गरिन्छ।
प्राध्यापक डा नेलसन पिन्टोले चिलीबाट सुरु गरेको यो प्रविधि चिलीसहित विश्वका केही देशमा निकै प्रभावकारी भइरहेको छ। नेपालमा भने दन्तरोग विशेषज्ञ डा सुशील कोइरालाको अगुवाईमा पुण्यार्जन फाउन्डेसनले यो प्रविधि नेपाल भित्र्याएको हो। डा कोइरालले डा पिन्टोलाई नेपालमा ल्याएसँगै नेपालमा पनि यो प्रविधिमार्फत घाउको उपचार हुन थालेको हो।
यो प्रविधिबाट अहिले नेपालका तीन स्थानमा मात्र उपचार भइरहेको छ। नेपालमा सबैभन्दा पहिला प्लास्टिक सर्जन डा शंकरमान राईको पहलमा कीर्तिपुर अस्पतालमा जलेका बिरामीको जटिल घाउको उपचारमा यो प्रविधिको प्रयोग भएको थियो। त्यसपछि लेलेस्थित आनन्द वन अस्पताल र सातदोबाटोस्थित आनन्दवन अस्पतालकै सिटी क्लिनिकमा यो प्रविधिबाट जटिल किसिमका घाउको उपचार हुँदै आएको छ।
चिलीबाट सुरु भएको यो प्रविधि नेपालको दन्त चिकित्सामा लामो समयदेखि उपयोग हुँदै आए पनि घाउको उपचारमा भने दुई वर्षदेखि मात्र प्रयोग गर्न थालिएको हो। डा पिन्टोबाटै प्रभावित भएर फाउन्डेसनले यो प्रविधिबाट उपचार सुरु गरेको हो। नेपालमा यो प्रविधि पहिलोपटक फाउन्डेसनले भित्र्याएको कोइरालाले बताए।
डा कोइराला एलपिआरएफ प्रविधिमा नेपाललाई दक्षिण एसियाकै केन्द्र बनाउने लक्ष्य राखेको बताउँछन्। दक्षिण एसियामै नेपाल पहिलो एलपिआरएफ प्रविधिमार्फत जटिल र पुराना घाउको उपचार गर्ने मुलक भएकाले नेपाललाई यसको ‘हब’ बनाउन सकिने उनको विश्वास छ।
यो प्रविधिबाट गरिने उपचार पद्धति सिक्न बंगलादेश र म्यान्मारबाट प्रशिक्षार्थी नेपाल आएको उनले बताए। ‘यसबाट प्रभावकारी उपचार हुन्छ भन्ने थाहा पाएपछि बंगलादेश र म्यानमारबाट समेत स्वास्थ्यकर्मी नेपाल आएका छन,’ उनले भने। यो प्रविधि सस्तो हुने र सानो मेसिनको सहायताले उपचार गर्न सकिने भएकाले घरघरमा पुगेर पनि सेवा दिन सकिने फाउन्डेसनले जनाएको छ।
चिलीका प्राध्यापक डा पिन्टोका अनुसार यो प्रविधिमा बिरामीको शरीरबाट निकालिएको रगतलाई विशेष प्रकारको उपकरणमा घुमाएर एक प्रकारको तन्तु बनाइन्छ। जुन झट्ट हेर्दा झिल्ली जस्तै हुन्छ। यो पातलो तर बलियो झिल्लीलाई निर्मलीकरण गरिएका मेडिकल सामग्रीको सहायतामा घाउमा राखिन्छ।
‘यो पद्धति कुनै पनि तन्तु (टिस्यु) जस्तै छाला, मासु, कुरकुरे हाड वा हड्डीका लागि उपयुक्त हुन्छ,’ नेपाल आएको समयमा डा पिन्टोले स्वास्थ्य खबरपत्रिकासँग भने, ‘सुरुमा यो रगत भए पनि यसलाई हामीले जीवित तन्तुका रुपमा बदलेका हुन्छौं र यसलाई घाउमा ‘ग्राफ्ट’का रुपमा प्रयोग गर्छाैं। जुन आवश्यकता अनुसार विकसित हुँदै जान्छ। यसमा छिट्टै विकसित हुने क्षमता हुन्छ र घाउसँग जोडिएका नसाबाट आएका रगतले आवश्यक पौष्टिक तत्व पाएर घाउ छिट्टै निको हुन्छ।’
यसमा घाउको आकार अनुसार बिरामीबाट रगत निकालिन्छ। एउटा ट्युबमा ९ देखि १० एमएल रगत निकालिन्छ। एक पटकको घाउमा प्रयोग गर्न घाउको आकार हेरेर १२ वटा ट्युबमा रगत निकाल्न सकिन्छ। यो भनेको बढीमा १ सय २० एमएलसम्म हो। मानिसले एक पटक रक्तदान गर्दा ४ देखि ४ सय ५० एमएलसम्म निकाल्ने गरिन्छ।