हिमाल पारीको जिल्ला मुस्ताङको थासाँग गाउँपालिकास्थित कोबांग(नाउरिकोटमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबार आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरि आयुर्वेद, योग र स्वस्थ 18 सम्बन्धि निःशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गरेको हो।
शिविरमा थासांग गाउँपालिकास्थित कोबाँग, लार्जुंग, नाउरिकोट, ताक्लुंग, लेते लगायतका स्थानबाट आएका १४३ जना सेवाग्राहीले बाथ तथा अन्य जोर्नी रोग, अम्लपित्त, उच्च रक्तचाप, छालाका रोग, बाल रोग, स्त्री रोग लगायत विभिन्न रोगको आयुर्वेद उपचार लिएका छन्।
उक्त शिविरको उद्घाटन थासांग गाउँपालिकाका अध्यक्ष बुद्धि प्रसाद शेरचनले गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूह, समाजसेवी, राष्ट्रिय बुद्धि विकास आधारभूत विद्यालय र जन आदर्श माविका शिक्षक, विद्यार्थी, कर्मचारी र स्थानीय नागरिक लगायतको उपस्थिति थियो।
कार्यक्रममा प्रधानाध्यापक खेमनारायण कोइरालाले दीर्घ एवं नसर्ने रोगमा प्रभावकारी र साइड इफेक्टरहित आयुर्वेद सेवा पाउनुपर्ने नागरिकको अधिकारलाई सरकारले सम्मान गर्दै थासांग गाउँपालिका अन्तर्गत आयुर्वेद अस्पताल स्थापना गर्नुपर्ने जोड दिए।
गाउँपालिका अध्यक्षले शेरचनले स्थानीय सरकारबाट आयुर्वेदको सेवा प्रवाह र विकासमा पहल थालिसकेको र यसको विकासमा लागिरहेको बताए। उनले मुस्ताङमा जडिबुटीको खानी रहेको उल्लेख गर्दै जिल्लालाई पर्यटन, स्याउ खेतीसँगै जडिबुटीको जिल्ला समेत भनेर चिनाउनु पर्ने आवश्यकता रहेको जानकारी दिए।
आयुर्वेद चिकित्सक डा शंकर गौतमले मुस्ताङ जिल्ला अन्तर्गत जोमसोम, कागबेनी, लोमान्थाङ लगायत स्थानबाट आयुर्वेदको सेवा प्रवाह गरेको जानकारी गराए। उनले थासाँग गाउँपालिकाका नागरिक आयुर्वेद स्वास्थ्य सेवाबाट बन्चित रहेको उल्लेख गर्दै आम्ची सेवालाई समेत समेटेर आयुर्वेद सेवा विस्तारको कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिए।
डा गौतमले मुस्ताङमा जटामसि, पाँचऔले, निर्मसी, यार्शागुम्बा लगायत जडिबुटीको राम्रो उत्पादन हुने भन्दै यसमार्फत आत्मनिर्भर बन्न समेत स्थानीय सरकारलाई सुझाब दिए। ‘औषधि आयात र परनिर्भरता घटाउन यस ठाउँमा जडिबुटी खेतती प्रोत्साहन गर्न तथा उक्त जडिबुटीको भ्यालु एड गरि निकासी गर्न जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको स्थापना गर्नुपर्छ,’ डा गौतमले भने।