खानेपानी मन्त्री विना मगरले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताएकी छन् । कञ्चनपुरबाट क्यान्सर जाँचका लागि आएका बिरामी भेट्न अस्पताल पुगेकी उनले अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा उक्त कुरा बताएकी हुन्।
'क्यान्सरको समस्या देशैभरि विकराल छ, यसको जाँच र उपचारका लागि सबै क्षेत्रमा शाखा खोल्नुपर्छ,' उनले भनिन् , 'क्यान्सर उपचारका लागि विश्वासिलो बनेको अस्पताल सेवालाई सबैको पहुँचमा पुर्याउनुपर्छ।'
गरिबी र अशिक्षाका कारण ग्रामीण क्षेत्रका महिलामा स्तन तथा पाठेघरको मुख क्यान्सरको समस्या रहेको उनले बताइन् । कञ्चनपुरमा क्यान्सर जाँच शिविर सञ्चालन गर्दा विकराल अवस्था देखिएको पनि उनको भनाई छ । मन्त्री मगरको पहल तथा क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कञ्चनपुरमा गत चैत १८ गतेदेखि २१ गतेसम्म स्तन तथा पाठेघरको मुखको क्यान्सरको जाँच शिविर सन्चालन भएको थियो । त्यसमा झण्डै २ हजार महिलाले स्वास्थ्य जाँच गरेका थिए।
शिविरमा क्यान्सरको आशङ्का गरिएका १४ महिलाहरु थप जाँचका लागि चितवन आएका छन् । विशेषज्ञ जाँचका आधारमा उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालका क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानाङ्गले बताए । उनका अनुसार १४ जनामध्ये ४ जनाको पाठेघरको मुखमा मासु पलाएको, ४ जनाको पाठेघरमा घाउ भएको र ६ जनाको पाठेघरको पानी खसेको प्रारम्भिक जाँचमा देखिएको थियो । १ हप्तापछि जाँचको अन्तिम रिपोर्ट आउने उनले बताए।
कार्यक्रममा बोल्दै अस्पतालका निमित्त कार्यकारी निर्देशक शिवजी पौडेलले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । 'क्यान्सर अस्पताल मेडिकल सिटीको मेरुदण्ड हो,' उनले भने, 'केन्द्रीय अस्पताल भएकाले क्यान्सर अस्पताल केन्द्रीय राजनीति र सरकारका योजनाबाट प्रभावित हुन्छ ।' अस्पताललाई २ सय सैय्याको बनाउन र नयाँ उपकरण जडान गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।