प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अब कुनै पनि नागरिकले औषधि र चिकित्सक अभावमा ज्यान गुमाउनु नपर्ने बताएका छन् ।
प्रदेशका १२ जिल्लामा यो अवस्था अन्त्य गर्न मन्त्रालयले काम सुरु गरेको पनि उनले बताए । धुर्काेट गुल्मी रुपन्देही सम्पर्क समाजले बुटबलमा गरेको नयाँ बर्षको शुभकामना तथा भित्तेपात्रो प्रकाशन तथा धुर्काेट महायज्ञका सहयोगदातालाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री वरालले उक्त कुरा बताएका हुन् ।
उनले अब स्वास्थ्य शिक्षा तथा अन्य कार्यका लागि केन्द्र तथा प्रदेशको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको उल्लेख गर्दै गाउँपालिकाबाट सबै सेवा सहज तरिकाले उपलब्ध हुने जानकारी दिए । कार्यक्रममा प्रदेशसभा सदस्य दिनेश पन्थीले जिल्लाको विकासमा कुनै कसर नराखी लागिपर्ने प्रतिबद्धता जनाए ।
धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गाउँका समस्या क्रमिक रुपले सम्बोधन गर्दै अघि बढेको बताए । गाउँपालिका उपाध्यक्ष शिव केसीले गाउँपालिकालाई सबै दृष्टिले नमुना बनाउने कार्यमा लागेकाले सबैको सहयोगको आवश्यकता रहेको बताए ।