फिचर

अस्पतालमा साटिएका दुर्इ बालकको वास्तविकता : चलचित्रको पटकथा जस्तो

दुई वर्ष नौ महिनापछि सत्यता बाहिरियो

 बिबिसी

यो कुनै हिन्दी चलचित्रको पटकथा जस्तो लाग्छ।

पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि अस्पतालमा गल्तीले साटिन्छन्।

दोस्रो कुरा उनीहरू बिल्कुलै फरक पृष्ठभूमिका हुन्।

एउटा परिवार आदिवासी हिन्दू हो भने अर्को मुसलमान।

उत्तरपूर्वी भारतीय राज्य असामको परिवारको कथा हो यो ।

अधिकारीहरूसँगको लामो लडाईँपछि, दुई वर्ष नौ महिनापछि डीएनए परीक्षणको रिपोर्ट आउँछ- जसअनुसार जुन बच्चा उनीहरू हुर्काइरहेका छन् ती एकअर्काको हो भन्ने पत्ता लाग्छ, तर ती बच्चाहरू पनि आफूलाई पालिरहेका आमाबाबु छाडन् मान्दैनन्।

०००

शाहबुद्दीन अहमद भन्छन्, उनले उनकी श्रीमती सलमा परवीनलाई सन् २०१५ मार्च ११ बिहान ६ बजे मंगलदई सिभिल अस्पतालमा लगेका थिए र त्यसको एक घण्टापछि उनले एक छोरालाई जन्म दिएकी थिइन्। विना अपरेशन बच्चा जन्मिएको हुँदा सलमालाई भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

"एक हप्तापछि मेरी श्रीमतीले मलाई भनिन् 'यो बच्चा हाम्रो होइन।' मैलै भने, 'तिमी के भनिरहेकी छौ? अबोध शिशुको बारेमा यस्तो कुरा नगर।'

"तर उनले भनिन् प्रसूति वार्डमा बोडो जातिकी एक महिला थिइन् र 'मलाई लाग्छ हाम्रो बच्चा साटिएका हुन्।'

मैलै उनले भनेको कुरालाई विश्वास गरिनँ तर उनले अड्डी कसिरहिन्।"

सलमा परवीन भन्छिन्, शुरूदेखि नै उनलाई शंका थियो कि जुनैद उनले जन्माएको छोरा होइन।

अस्पतालको इन्चार्जलाई जब अहमदले आफ्नी श्रीमतीको आशंकाबारे बताए तिनले उनकी श्रीमतीको मानसिक अवस्था ठीक नभएको र उपचारको खाँचो रहेको बताइन्।

त्यसपछि अहमदले सूचनाको हकअन्तर्गत सो दिन उक्त अस्पालमा बिहान ७ बजे वरपर जन्मिएका शिशुहरूको विवरण माग गर्दै एक निवेदन दर्ता गराए।

त्यसको एक महिनापछि उनले सात महिलाको विवरण पाए।

ती विवरणहरु हेरेपछि उनले ती "बोडो महिला" सम्बन्धी विवरण हेर्ने निर्णय गरे किनकि परिस्थिति दाँज्दा समानताहरू धेरै भेटिए- उनकी श्रीमती र ती महिला दुवैले छोरालाई जन्म दिएका थिए र ती शिशुहरूको तौल तीन किलोग्राम थियो, अनि मात्र पाँच मिनेटको फरकमा तिनीहरूको जन्म भएको थियो।

"म उनीहरूको गाउँ दुईपटक गएँ। तर उनीहरूको घरसम्म पुग्ने हिम्मत जुटाउन सकिनँ," अहमद भन्छन्।

"त्यसैले मैले उनीहरूलाई एक पत्र लेख्दै भनें, हाम्रा छोराहरू अस्पतालमा साटिएको आशंका मेरो श्रीमतीलाई लाग्छ र उनीहरूलाई पनि त्यस्तै लाग्छ कि भनी सोधेँ। पत्रको पुछारमा मैले मेरो फोन नम्बर लेखेँ र मलाई सम्पर्क गर्नका लागि आग्रह गरेँ।"

अहमदको घरदेखि मात्र ३० किलोमिटर टाढा सो बोडो दम्पत्ति- अनिल र शेवाली बोडोको घर छ, जहाँ उनीहरू आफ्नो छोरा रेयानचन्द्रसँग बस्छन्।

अनिल र शेवालीले सो पत्र नपाउँदासम्म केही शंका गरेका थिएनन्। न त अनिलले न त उनको परिवारका अन्य सदस्यहरूले यस्तो हुन सक्ला भनेर विश्वास गरेका थिए। तर जब दुई परिवारको भेट भयो तब कुराहरू बदलिए।

"पहिलोपटक जुनैदलाई देख्दा मलाई लाग्यो ऊ उसको वास्तविक बाबुजस्तै देखिन्छ। मलाई निकै दुःख लाग्यो र म रोएँ। हामी आदिवासी बोडो हौँ, हामी अन्य असामी मानिसहरू वा मुसलमान मानिस जस्तो देखिन्नौँ। हाम्रा आखाँ चिम्सा हुन्छन् अनि गाला र हात मोटा। हाम्रो बनावट मंगोल समुदायसँग मिल्छ," शेवाली बोडोले भनिन्।

सलमा परवीन भन्छिन्, जब रेयानलाई पहिलोपटक उनले देखिन् उ उनको वास्तविक बच्चा हो भन्ने उनलाई लाग्यो र तत्कालै साट्न चाहिन्, तर अनिलकी आमाले उक्त प्रस्ताव अस्वीकार गरिन्।

०००

अहमदले जोड गरेपछि अस्पताल प्रशासनले ती दावीहरूबारे छानबिन गर्‍यो। तर सो दिन प्रसूति वार्डमा ड्युटीमा रहेकी नर्ससँगको छलफलपछि अस्पतालले केही गल्ती नगरेको बतायो।

आश्वस्त नभएपछि अहमदले डीएनए परीक्षणका लागि आमा र बच्चाको रगत परीक्षण गर्न पठाए र सन् २०१५ अगष्टमा जब रिपोर्ट आयो तब उनले अन्ततः जवाफ पाए- सलमा परवीन र जुनैदबीच आनुवांशिक समानता छैन।

अस्पतालका अधिकारीहरूले सो रिपोर्ट कानूनी रूपमा स्वीकार्य नभएको बताएपछि उनले सोही वर्षको डिसेम्बर महिनामा प्रहरीमा उजुरी दर्ता गराए।

प्रहरी सब-ईन्सपेक्टर हेमन्त बरुआ जसले सो विषयको छानबिन गरेका हुन्।

उनले अस्पतालबाट ती बच्चाहरूको जन्मसम्बन्धी विवरणहरू प्राप्त गरेको र दुवै परिवारलाई भेट गरेको बीबीसीलाई बताए।

सन् २०१६ को ज्यानुअरीमा सई हेमन्त बरुआ दुवै दम्पती र दुवै बच्चाको रगतका नमूनासहित कोलकाता गए तर फारममा प्राविधिक त्रुटि भएको भन्दै त्यहाँको फोरेन्सिक प्रयोगशालाले परीक्षण गर्न अस्वीकार गर्‍यो।

"त्यसैले हामीले गत वर्षको एप्रिलमा दोस्रोपटक नमूना लियौँ र गुआहाटीस्थित एक फोरेन्सिक प्रयोगशालामा परीक्षण गरायौँ। हामीले नोभेम्बर महिनामा रिपोर्ट पायौँ। त्यसमा अहमदले लगाएका आरोपहरू सही भएको पुष्टि भयो। ती बच्चाहरू अस्पतालमा साटिएका थिए।"

सई बरूआले त्यसपछि अहमदलाई अदालतमा जानका लागि सुझाव दिए र न्यायाधीशसँग ती बच्चाहरू साट्नका लागि अनुमति दिनका लागि भन्न भने।

०००

"तर ज्यानुअरी ४ मा जब दुई परिवार बच्चाहरू साट्नका लागि अदालतमा पुगे तब हामीहरूले भन्यौँ हामी साट्दैनौँ। किनभने विगत तीन वर्षदेखि हामीले तिनीहरूलाई हुर्काइरहेका थियौँ र तिनीहरूलाई आफूबाट अलग गराउन हामीले सकेनौँ," सलमा परवीन भन्छिन्।

"साथै जुनैद पनि रोइरहेको थियो। ऊ मेरो देवरको काखमा थियो। जुनैदले जोडसँग उनलाई समाइरहेको थियो र अँगालो मारिरहेको थियो अनि उनलाई छोड्न मानिरहेको थिएन।"

रेयानले पनि सेवाली बोडोलाई समात्दै रून थाल्यो र छोड्न मानेन।

अनिल बोडो भन्छन्, ती दुई जनालाई साटियो भने त्यसले उनीहरूलाई भावनात्मक रूपमा चोट पुर्‍याउन सक्छ किनकि के भइरहेको छ भनी बुझ्न ती दुवै एकदमै साना छन्।

यो प्रष्ट छ कि ती दुवै बच्चाहरू उनीहरूलाई हुर्काइरहेका परिवारसँग एकदमै निकट छन् र माया पनि पाइरहेका छन्।

०००

शेवालीलाई एकछिन पनि छाड्न मान्दैन रेयान। जुनैद पनि अहमद परिवारको प्यारो छ ।

सलमा परवीन भन्छिन्, "जुन दिन हामीले उनीहरूलाई साट्न अदालत गएका थियौँ, मेरी आठ वर्षकी छोरीले मलाई भनी, 'आमा जुनैदलाई नपठाउनुहोस् । उसलाई पठाउनु भयो भने म मर्नेछु।"

उनीहरूबीचको धार्मिक भिन्नताहरू कुनै दिन समस्या होला भनेर सोध्दा अहमद भन्छन्," बच्चा त बच्चा नै हो। ऊ त इश्वरको उपहार हो, न त हिन्दू न मुसलमान, सबैजना एउटै प्रक्रियाबाट र स्रोतबाट आउँछन् । हिन्दू वा मुसलमान त यहाँ बनाइन्छन्।"

यद्यपि आमाहरूमा भने उनीहरू गुज्रिरहेको मानसिक संघर्ष एकदमै प्रष्ट देखिन्छ। उनीहरूले हुर्काइरहेका बच्चाहरूसँग उनीहरूको माया एकदमै छ तर गर्भमा बोकेको बच्चाले पनि उनीहरूको मन तानेको छ।

उनीहरू भन्छ, जब रेयान र जुनैद ठूला हुन्छन् तिनीहरूले नै निर्णय लिनेछन् कि उनीहरू कोसँग बस्न चाहन्छन्।

हालका लागि दुई परिवारले एउटा तालिका तयार पार्न खोजिरहेको छन् जसमा नियमित रूपमा भेटघाट गर्ने, साथी बन्ने, र आफूले जन्म दिएका छोराहरूको जीवनको हिस्सा बन्ने कुराहरु छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

akash लेख्नुहुन्छ बैशाख ९, २०७५ आइतवार २०:१६:३६
Interesting article thank you for sharing and here is news portal directory h...

यसमा तपाइको मत



पढ्नै पर्ने