डक्टर्स आर्टिकल

हाइब्रिड खानाले पुर्‍याउने असर

 डा रबिनलाल श्रेष्ठ

यो संसार प्रकृतिको देन हो र प्राकृतिक नियमसंगत चल्छ । खाद्यवस्तु पनि प्रकृतिले मानव समुदायलाई दिएको उपहार हो । यसमा सबै जीवजन्तुको अधिकार हुन्छ । तर हरेक वस्तुमा पेटेन्ट अधिकार लिन खोज्ने व्यापारिक कम्पनीले बिरुवामा पनि पेटेन्ट अधिकार पाउने प्रयासस्वरूप हाइब्रिड÷अणुवंश परिवर्तन गरिएका बिरुवा वा खाद्यवस्तु विकास गरेका छन् । 

व्यापारिक संस्थाहरूले हाइब्रिड गरेको खाद्य र हाइब्रिड नगरेको खाद्य एउटै किसिमको हो; यसले स्वास्थ्यमा प्रतिकूल असर पार्दैन र यसको उत्पादन क्षमता बढी हुन्छ भनेर सरकार तथा सर्वसाधारणलाई भ्रममा पारिएको छ ।

हाइब्रिड/अणुवंश परिवर्तन गरिएका खाद्यवस्तुले स्वास्थ्यमा धेरै हानि पुर्‍याउँछन् । हाइब्रिड र साधारण खाद्यवस्तुहरूमा धेरै फरक छ । 

हरेक सजीव प्राणीको स्वभाव, गुण, बनावट आदि फरक–फरक हुन्छन् र एक–अर्कासँग मिल्दैनन् । यसरी हरेक जीवजन्तु र वनस्पति अर्काे जीवजन्तु र वनस्पतिसँग नमिल्नुको कारण यी प्राणीको अनुवंशले गर्दा हो । अनुवंश डिएनएभित्र हुने त्यो इकाइ हो जसले हरेक प्राणीको स्वभाव, बनावट, गुण आदि निर्धारण गर्छ । हरेक प्राणीको अनुवंशको संरचना फरक–फरक हुन्छ त्यसैले हरेक प्राणी पनि फरक हुन्छन् । 

प्रकृतिमा एकै जातका प्राणीहरू बाहेक कुनै पनि फरक प्राणीको अनुवंशहरू प्राकृतिक रूपमा एक–अर्कामा समायोजन हुँदैनन् । तर प्रकृतिविरुद्ध, अप्राकृतिक  तवरले ब्याक्टेरियाको अनुवंश बिरुवामा समायोजन गर्ने वा एउटा स्पेसिसको अनुवंश अर्काे स्पेसिसमा समायोजन गर्ने काम भइरहेका छन् । 

हाइब्रिड वा अनुवंश परिवर्तन गरिएका खानाको सुरुवात

पेटेन्ट राइट मानवनिर्मित वस्तुहरूमा मात्र लागू हुन्छ । सजीव जीवहरूमा लागू हुँदैन किनकि जीवहरू मानवनिर्मित होइनन् । यिनीहरू प्रकृतिनिर्मित हुन् र सबैको साझा हुन्छन् । तर सन् १९८५ मा अमेरिकाले बिरुवामा पेटेन्ट अधिकार लिन पाउने प्रावधान पारित गरेर आधिकारिक रूपमा हाइब्रिड वा अनुवंश परिवर्तन गरिएका खाना बनाउने अधिकार पनि प्रदान ग¥यो । यो कदम मानव हितको लागि भन्दा व्यापारिक प्रयोजनका लागि थियो ।

खाद्य सामग्रीमा पेटेन्ट अधिकार भन्नुको अर्थ त्यो खाद्यवस्तुको बिउ वा बिरुवा कम्पनीको अनुमतिबिना प्रयोग गर्न नपाउनु हो । बाली लगाउन बर्सेनि कम्पनीसँग बिउ किन्नुपर्ने हुन्छ । यदि कम्पनीको अनुमतिबिना बिउ जोगाउने वा बाली लगाउने कार्य गरेमा कारबाही हुन्छ । 

क्यानडाका कृषकहरूलाई मोन्स्यान्टो नामक अमेरिकी कम्पनीले कम्पनीको पेटेन्ट अधिकारनिहित क्यानोलाको बिउबिना अनुमति जोगाएर बाली लगाएको आरोपमा कारबाही गरेको थियो । तर, ती कृषकहरूले हाइब्रिड वा अनुवंश परिवर्तन गरिएको बिउ लगाएकै थिएनन् । उनीहरूले लगाएको स्थानीय बाली र नजिकै खेती गरेको हाइब्रिड जातको बालीबीच परागसेचन भएर कृषकहरूले लगाएको स्थानीय बाली पनि हाइब्रिड जातमा परिवर्तन भएको थियो । 

हाइब्रिड वा जीन परिवर्तन गरिएको बिउ प्रयोग गर्नाले आफैं बिउ जोगाएर बाली लगाउने अधिकारबाट वञ्चित  हुन्छौं र कम्पनी वा अन्य देशसँग निर्भर हुन्छौं । हाम्रा स्थानीय बिउहरू नष्ट हुन्छन् र हामी अन्य देशका कृषि दास बन्छौं । 

स्वास्थ्यमा असर 

- हाइब्रिड वा जीन परिवर्तन गरिएका खानाले स्वास्थ्यमा प्रतिकूल असर पुग्ने कुरा जनस्वास्थ्यकर्मीहरू बताउँछन् । 

- अमेरिकन एकेडेमी अफ इन्भाइरोन्टल मेडिसिनले बिरामीलाई हाइब्रिड वा जीन परिवर्तन गरिएका खाना नखान सल्लाह दिन अमेरिकी डाक्टरहरूलाई निर्देशन दिएको छ ।  

-   जीन परिवर्तन गरिएका खाद्यमा इपिसाइट भन्ने तत्व हुन्छ जसले वीर्यलाई नष्ट गर्न सक्छ । 

- जीन परिवर्तन गरिएका बिरुवामा कीटनाशक विषको काम गर्ने ‘बाकिलस थुरिङजिन्सिस’ भन्ने ब्याक्टेरियाको जीन समायोजन गरेको हुन्छ । तसर्थ यो ब्याक्टेरियाको जीन हुने हरेक  खाद्यवस्तुहरू कीटनाशक विषले भरिएको हुन्छ । यस्तो खाना खाँदा बाहिरबाट कुनै पनि कीटनाशक विष नहाले पनि हामी खाद्यमा समायोजन गरेको कीटनाशक विष खाइरकेका हुन्छौं । 

-   जीन परिवर्तन गरिएका खाद्यले एलर्जी ७ गुणा बढाउँछ । दम, अग्नाशयको क्षति हुन सक्छ । 

-    जीन परिवर्तन गरिएका खाद्यले रोग प्रतिरोधात्मक प्रणाली र प्रजनन प्रणालीमा नराम्रो असर पार्न सक्छ । 

-   मोन्स्यान्टो कम्पनीले उत्पादन गर्ने बिउमा ग्लाइफोसेट भन्ने कीटनाशक विष हुन्छ जसले माटोको उर्वराशक्ति घटाउँछ । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने